Logo

कोशी प्रदेश

कोशीमा प्रदेशसभा बैठक अनिश्चित



कोशी प्रदेश । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान गर्नुअघि रोकिएको कोशी प्रदेशसभाको बैठक साढे दुई घण्टा भन्दा बढी समयसम्म सुरु हुन सकेको छैन ।

मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव राखेर त्यसमाथि सबै राजनीतिक दलका प्रतिनिधिले धारणा राखेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो ।

तर अपरान्ह करिब ५ बजे स्थगित गरिएको बैठक साढे दुई घण्टा भन्दा बढी समय बितिसक्दा पनि बस्न नसकेको हो । प्रदेशसभा सचिवालयले साढे ७ बजे सूचना निकालेर बैठक ८ बजेसम्मका लागि सारिएको बताएको  छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका प्रदेशसभाका विपक्षी दलका प्रदेशसभा सदस्यहरु बैठककक्ष वरपर नै छन् । तर मुख्यमन्त्री, मन्त्रीहरु र एमालेका प्रदेशसभा सदस्यहरु बैठककक्ष वरपर छैनन् । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बिहीबार बैठक बस्न सम्भव नभएको बताए । उनले सभामुखलाई बैठक भोलिसम्म सार्न आग्रह गरिएको पनि बताए ।

प्रदेशसभा बैठकमा दलहरुले धारणा राख्ने क्रम सकिएपछि सभामुख बाबुराम गौतमले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि मुख्यमन्त्ती कार्की विश्वासको मतसम्बन्धी प्रस्तावमा दलहरुले राखेको जिज्ञासाको जवाफ तयार पार्ने भन्दै प्रदेशसभाबाट निस्किएका थिए । मुख्यमन्त्रीसँगै मन्त्रीहरु पनि गएका थिए ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार २०:१७   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।