बिराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि उनको हो ।
बैठकमा ८९ प्रदेश सभा सदस्यमात्र उपस्थित थिए । कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिए । उनको विपक्षमा ४३ मत खसेको छ ।
अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । २०७९ मंसिरमा भएको प्रदेश सभा चुनावपछि २४ पुसमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।
केन्द्रमा सत्ता समीकरण फेरबदलसँगै सबै प्रदेशमा नेकपा एमालेले सरकार गुमाइसकेको छ । नेपाली कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन १० पुसमा एकाएक टुटेपछि बनेको नयाँ गठबन्धन दलबीच भागबन्डा गर्दा एमालेले ४ वटा प्रदेशको मुख्यमन्त्री पाएको थियो ।
पुनः पूरानै गठबन्धन ब्यूँतिएपछि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एमालेको सरकार ढलिसकेको थियाे । सुदूरपश्चिममा गत २६ माघमै एमालेका राजेन्द्रसिंह रावल नेतृत्वको सरकार ढलेको हो । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका उनले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि बहिर्गमन हुनु पर्यो ।
गण्डकीमा खगराज अधिकारी नेतृत्वका सरकार पनि ९ वैशाखमा ढल्यो । माओवादी केन्द्रसहितको समर्थनमा गत २५ पुसमा मुख्यमन्त्री बनेका उनले माओवादीले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिएका थिए । तर प्रदेशसभाबाट विश्वास गुमाएपछि गण्डकीमा पनि एमाले सरकार ढलेको हो ।
लुम्बिनीमा पनि दोस्रो पटक विश्वासको मत पाउन नसकेपछि एमालेका लिला गिरी नेतृत्वको प्रदेश सरकार ढल्यो । पुस २७ गते ७ दलको समर्थनमा मुख्यमन्त्री बनेका गिरीले माघ ५ मा ८ दलका ५८ जनाबाट विश्वासको मत पाएका थिए । तर उनलाई समर्थन गरेका माओवादीसहितका ५ दलले १२ चैतमा समर्थन फिर्ता लिएपछि उनले ११ वैशाखमा दोस्रो पटक भने विश्वासको मत नपाएका हुन् ।
केन्द्रमा भएको फेरबदलसँगै चारमध्ये तीन वटा प्रदेशमा एमालेको सरकार ढल्दा कोशीमा भने टिकीरहेको थियाे । कोशीमा एमाले नै प्रदेशसभाको सबैभन्दा ठूलो दल हो । ९३ सदस्यीय प्रदेसभामा सरकार बन्न ४७ सांसदको समर्थन आवश्यक पर्छ । जहाँ एमाले एक्लैसँग ४० सांसद छन् ।
प्रदेशसभाको दोस्रो ठूलो दल कांग्रेसका २९, माओवादी केन्द्रका १३ (सभामुखसहित), नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । अहिले एमालेका हिक्मत कार्की नेतृत्वको सरकारलाई अन्य दलहरुले समर्थन नगर्दा सरकार ढलेकाे हाे । जसकारण कार्की नेतृत्वको एमाले सरकारले विश्वासकाे मत नपाएकाे हाे ।
प्रतिक्रिया