Logo

कोशी प्रदेश

कोशीमा कसले गर्ला नयाँ सरकारकाे नेतृत्व ?



काठमाडाैं । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाएसँगै नयाँ सरकार गठनका लागि छलफल सुरु भएकाे छ।
शुक्रबार विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको प्रस्ताव प्रदेशसभाबाट अस्वीकृत भएसँगै एमालेले सत्ता गुमाउनुपरेको हाे।

कोशी प्रदेशसभामा सबैभन्दा ठुलो दल एमाले हो। तर, एमाले नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार गठनका लागि प्रतिपक्षी गठबन्धन दलहरूले तयारी थालेका छन्।

शुक्रबारको संसदीय अंकगणित हेर्ने हो भने कोशीमा एमाले–राप्रपा एकातिर र कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी एकातिर रहने देखिन्छ। कोसीमा कांग्रेस, माओवादीले आ–आफ्नै नेतृत्वमा सरकार गठन गर्ने अड्डी लिइरहे पनि बहुमत सांसद नहुँदा अन्योल छ।

कोशी प्रदेशसभामा एमालेका ४०, राप्रपाका ६, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्। प्रदेशसभमा एमाले र राप्रपाको गठबन्धन छ। अर्को गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपा छन्।

सभामुखलाई गणना नगर्दा दुवै पक्षमा बराबरी ४६-४६ सांसद पुग्छन्।

९३ सदस्य प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। माओवादी केन्द्रबाट सभामुख भएका बाबुराम गौतमको निर्णायक मतले एमाले इतरको गठबन्धनलाई राहात मिल्न सक्छ। तर सभामुखले निर्णायक मत हाल्न पाउने कि नपाउने भन्ने चाहिँ अन्योल छ।

कोशी प्रदेशसभा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सभामुख सबैको साझा भएकाले कुनै पनि दलले उनलाई गणना गर्न नपाउने बताए। उनलाई गणना गर्न नपाउने भएकाले माओवादीसँग १२ जना मात्रै सांसद रहेको दाबी गरे।

प्रदेश प्रमुखलाई संविधानको धारा १६८ (३ ) बमोजिम सरकार गठनका लागि आह्वान गर्न एमालेले आग्रह गरेको भण्डारीले बताए।

धारा १६८ (२) मा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। उपधारा ३ मा प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। कोशी प्रदेशसभामा सवैभन्दा ठूलो दल एमाले भएका कारण पुनः सरकारमा जान पाउनु पर्ने एमालेको माग छ ।

नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले कोशीमा अब गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गर्छन्।

बहुमतको सरकार गठनका लागि तयारी भएकाे उनले बताए। थापाले भने, ‘प्रदेश प्रमुखबाट आह्वान भएपछि बहुमत पुर्याएर नयाँ सरकार गठनका लागि दाबी गर्छौं।’

विपक्षी गठबन्धनसँग ४७ सांसद रहेको र अन्य दलहरूसँग पनि कुरा भइरहेका कारण सांसदको संख्या अझै थप हुने थापाकाे दाबी छ।

कांग्रेसका सचेतक भूपेन्द्र राई नेतृत्वबारे टुंगो नलागे पनि आलोपालो सरकार बनाउने तयारी भइरहेको बताउँछन्। ‘नेतृत्वबारे टुंगो लागेको छैन उनले भने, ‘सम्भवत आलोपालोको सरकार बनाउने गरी निर्णय हुन्छ।’

नेकपा माओवादी केन्द्रले भने बिहीबार नै प्रदेशसभाको बैठकअघि माओवादीको नेतृत्वमा सरकार निर्माण गर्ने निर्णय गरिसकेको छ। आफूहरूले माओवादीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।
यसअघि मुख्यमन्त्री भइसकेका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले भने मुख्यमन्त्रीमा आफ्नो दाबी नरहेको बताए। ‘केन्द्रमा समझदारी भयो भने जुनसुकै जिम्मा लिनुपर्ने भएकाले त्यसका लागि तयार छु। तर, मुख्यमन्त्रीमा मेरो दाबी छैन।’ उनले भने। गठबन्धनको सरकार बनाउनका निम्ति आफूले सहयोग गर्ने उनले बताए।

साधारणतया सभामुखले दलीय आबद्धता त्याग्नुपर्ने प्रचलन रहेकाले कोशीमा माओवादीका सभामुख रहेका बाबुराम गौतमकाे मतबारे अन्योल रहेकाे छ । त्यसैले कसैकाे बहुमत पुग्न नसक्ने अवस्थाले सरकार निर्माणका लागि कोशीमा झनै राजनीतिक संकट देखिन्छ ।

अस्थिरता सिर्जना गरेर मध्यावधि निर्वाचनमा जानुभन्दा सबै मिलेर सरकार सञ्चालन गर्नु राम्रो हुनेमा धेरै प्रदेश सांसदहरूकाे एक मत रहेकाे पाइन्छ । साथै, प्रदेश प्रमुखले कुन धारालाई टेकेर सरकार गठनको आह्वान गर्छन् भन्ने कुराले पनि राजनीतिक दिशा तय गर्ने छ ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार १५:१४   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।