काठमाडौं । सरकारी सेवामा काम गर्न या जागिर खान व्यक्तिको उमेर या सेवाअवधिको हद तोकिएको हुन्छ ।उक्त समय सकिएपछि कर्मचारीहरुले अवकाश पाउँछन् अथवा अनिवार्य अवकाश लिनपर्ने हुन्छ । तर सरकारी स्वामित्वको सार्वजनिक संस्थान साल्ट ट्रेडिङ कर्पोरेशन केन्द्रीय कार्यालय कालिमाटीमा भने सेवा अवधि सकिएर निवृत्त हुनपर्ने कर्मचारीहरुले जागिर छाड्न पर्दैन, मजाले जागिर खाइराख्न पाइन्छ ।
यसरी पदावधि सकिएर छुट्टी दिनुपर्ने कर्मचारीहरुलाई बिदा नगरी जागिरमै टिकाइराख्ने काम गर्छिन्, संस्थानकी सीइओ उर्मिला श्रेष्ठ । उर्मिलाको गलत काममा साथ दिने अर्का व्यक्ति हुन् लेखापाल इन्द्रमान श्रेष्ठ । श्रेष्ठद्वयले स्वार्थ बाझिने गरी कर्मचारी भर्ना, करार थप गर्ने लगायतका चलखेल गर्ने गरेको पाइएको छ । नाम उल्लेख नगर्ने शर्तमा संस्थानका एक कर्मचारी भन्छन्–‘साल्ट ट्रेडिङमा मनलाग्दी छ,सीइओ उर्मिला श्रेष्ठको सर्कलका मान्छे अवधि सकिएर पनि जागिर पकाइराखेका छन्, त्यतिमात्र होइन उनीहरुले सरकारी गाडी निजी सरह घरमा राख्छन्,मनपरी सरकारी गाडीको दोहन गर्छन् । ट्रेड युनियनका मान्छेहरु बेला बेला कराउँछन् तर सीइओ लगायत विभागीय हाकिमहरुको मनपरी रोकिएको छैन ।’
साल्ट ट्रेडिङका अध्यक्ष प्रदिपलाल श्रेष्ठ हुन् । श्रेष्ठ नाताले सीइओ उर्मिला श्रेष्ठको दाजु हुन् । दाजु अध्यक्ष भएको फाइदा सीइओ श्रेष्ठले भरपुर उठाएकी छिन् । अध्यक्ष श्रेष्ठकै आडमा सीइओ उर्मिला श्रेष्ठको मनपरी चलिरहेको स्रोत बताउँछ । यी दाजु बहिनीको चलखेलमा तल्लो तहका कर्मचारीहरु भने रुष्ट छन् । साल्ट ट्रेडिङ कर्पोरेशनमा सीइओ श्रेष्ठले धमाधम करारमा कर्मचारी भर्ती गर्ने, सेवाअवधि सकिएकाहरुलाई पूनः नियुक्ती दिने जस्ता काम गर्दै आएकी छिन् ।
‘६ वर्ष अघि सेवानिबृत्त भएका शर्मा जागिर खाइरहेका छन्’
साल्ट ट्रेडिङ कर्पोरेशन अन्तर्गतको भगिनी संस्था नून प्याकेजिङ गर्ने कम्पनी हिमालयन खाद्य उद्योग तथा व्यापार कम्पनीबाट सेवा निबृत्त भइसकेका दिनेशचन्द्र शर्मा अहिले पनि उक्त कम्पनीमा निर्देशकका रुपमा जागिर खाइरहेका छन् । उमेर र सेवाअवधि दुवैले उनको कार्यकाल ६ वर्ष अघिनै सकिएको हो । अवधि सकिँदा उनले कम्पनीबाट चानचुन १ करोड जती अवकाशपछि पाउने रकम लिएपनि तर उनी जागिरबाट हट्न परेन बरु २–२ वर्षका लागि करार अवधि थप्दै सोही पदमा बसिरहेका छन् ।साल्ट ट्रेडिङले पहिलोपटक २०७४ सालमा उनको करार थप गर्यो त्यसयता उनलाई सञ्चालक समितिले करार सम्झौता थप गर्दै कम्पनीको निर्देशकका रुपमा जागिर दिलाइरहेको छ ।
पछिल्लो पटक शर्मालाई साल्ट ट्रेडिङले २०७८ साल असार ८ गते हिमालय खाद्य उद्योग तथा व्यापार कम्पनीको निर्देशकका रुपमा करार सम्झौता गरेर नियुक्त गरेको हो । सेवा अवधि पुगिसकेका शर्मालाईनै किन पटकपटक करारमा नियुक्ती दिइरहेको छ साल्ट ट्रेडिङले ? कित साल्ट ट्रेडिङले उक्त पदका लागि अरु कर्मचारीनै योग्य ठानेन ? यो प्रश्न हामीले साल्ट ट्रेडिङलाइ गरेका छौं जवाफमा सीइओ उर्मिला श्रेष्ठले दिनेशचन्द्र शर्मा साल्ट ट्रेडिङो कर्मचारी नै नभएको हाँस्यास्पद जवाफ दिएकी छिन् ।जवकि हिमालयन खाद्य उद्योग तथा व्यापार कम्पनी साल्ट ट्रेडिङको मातहतमा खुलेको संस्था हो ।
त्यसो त साल्ट ट्रेडिङकी सीइओ उर्मिला श्रेष्ठको पनि सेवाअवधि सकिएको हो । उनी पनि करार अवधि थप गर्दै सीइओमै पदासिन छिन् । उनी आफु सेवाबाट नहटेपछि नैतिकताले पनि दिएन अन्य साथीलाई बिदा गर्ने, त्यसैले होला सञ्चालक समितिमार्फत आफू निकट विभागीय प्रमुखहरु सम्झना श्रेष्ठ, दिनेशचन्द्र शर्मा, कृष्णकुमार खड्का, रामचन्द्र महतोको करार थप गर्न भ्याइन् । तथापी उनलाई मन नपर्ने र उनको कामको विरोध गर्नेहरु साल्ट ट्रेडिङमै कार्यरत सवल रिजाल, महेन्द्र भुषाल लगायतको भने करार अवधि थप गरिएन ।
जथाभावी कर्मचारी राख्ने काम बन्द गर्ने सहमति बनेको छ : राजेन्द्रमान शेरचन,सञ्चालक
जथाभावी कर्मचारी करारमा थप्ने काम भैरहँदा साल्ट ट्रेडिङ कर्पोरेशनका सञ्चालक मध्येका एक राजेन्द्रमान शेरचनले सञ्चालक समितिमा कर्मचारी भर्ना र करार अवधि थप नगर्ने विषयमा पटकपटक आफूले बोर्डमा कुरा राखेको बताउँछन् । शेरचन भन्छन्–‘अहिले त्यसरी जथाभावी कर्मचारी राख्ने काम बन्द गर्ने सहमति बनेको छ, हो विगतमा यस्तो भैरहेको थियो, मैले साल्ट ट्रेडिङमा अनावश्यक कर्मचारी थप्ने भन्दा पनि व्यवस्थित र सुदृढ बनाउनपर्छ भन्ने कुरामा जोड दिइरहेको छु, पछिल्लो कुराहरु के भएका छन् मैले बुझेको छैन, म बुझ्छु ।,’उनले भने ।
ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउँदैछौं : अध्यक्ष,साल्ट ट्रेडिङ कर्मचारी युनियन
उता साल्ट ट्रेडिङ कर्मचारी युनियनका अध्यक्ष मेघराज ज्ञवालीले साल्ट ट्रेडिङमा संरचनात्मक सुधार गर्दै सवल बनाउन जथाभावी कर्मचारी नियुक्ती बन्द गरिनुपर्ने भन्दै व्यवस्थापनलाई दबाव दिइरहेको बताउँछन्। ‘अव हामी ढिलोमा पर्सी शुक्रबार नभए बुधबारसम्ममा व्यवस्थापनलाई कर्मचारी करारमा भर्ना ओभरस्टाफिङ लगायतका विषयमा ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउँदैछौं । सबै प्रेसलाई हामी जानकारी पनि गराउँछौं ।’ ज्ञवालीले भने ।
मलमा मनलाग्दी
साल्ट ट्रेडिङमा बिक्रीका लागि सरकारले खरिद गरेको युरिया मलको १० देखि १५ प्रतिशत कम्पनीले आन्तरिक तवरले बेच्न पाउने व्यवस्था छ । तर पहुँचको आधारमा सीइओ उर्मिला श्रेष्ठ लगायतका माथिल्ला तहका कर्मचारीहरुले एकै व्यक्तिलाई २ देखि ४ बोरा सम्म बेच्ने गरेको तर तल्ला कर्मचारीले भने किलोमा खरिद गर्न खोज्दा पनि नपाएको कम्पनीकै एक कर्मचारी बताउँछन् । विगतमा पनि यस विषयमा उजुरी परेपछि कृषि मन्त्रालयले समेत सीइओ श्रेष्ठलाई ध्यानाकर्षण सहित स्पष्टिकरण सोधेकोे थियो । त्यस्तै कम्पनीमै कार्यरत तल्लो तहका एक कर्मचारी अत्यावश्यक भएको भन्दै एक बोरा मल लिन पुग्दा राति मात्र दिन मिल्ने बताउने गरेको दुःखेसो पोखे । उनले भने–‘सबैले देख्ने गरी मल दिन नमिल्ने भन्दै गाडीमा नदेखिने गरी लैजान भनियो तर आफूसँग गाडी थिएन, यसै फर्किएँ ।’
त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख दिनेशचन्द्र शर्मासँग व्यापार विभाग प्रमुख पंकज जोशी मलसँग सम्वन्धित भ्रष्टाचारमा मुछिने भएपछि पदबाट हट्न बाध्य भएका थिए । जुन विषयलाई सांसदहरुले संसद भवनमा समेत उठान गरेका थिए ।
सीइओ श्रेष्ठ भन्छिन् : ‘साल्ट ट्रेडिङको बारेमा मलाई होइन प्रवक्तालाई सोध्नुस्’
साल्ट ट्रेडिङ कर्पोरेशनभित्र भएका मनलाग्दी कर्मचारी नियुक्ति, मल बिक्री वितरणमा भएको चलखेल, आन्तरिक शिर्षकमा मनलाग्दी रकम राखेर निकासा लिएको जस्ता बेथितीबारे हामिले सीइओ उर्मिला श्रेष्ठसँग प्रश्न गर्यौं । तर उनले यी प्रश्नहरुको जवाफ दिन इन्कार गरिन् । तथापी उनले आफू दोस्रो पटक करारमा नियुक्त हुँदा दाजु प्रदिपलाल श्रेष्ठ अध्यक्ष नरहेको भने प्रतिक्रिया दिन भ्याइन् । अन्य प्रश्नमा उनले भनिन्–‘साल्ट ट्रेडिङ भित्रको बारेमा मलाई होइन प्रवक्तालाई सोध्नुस् – हामिले उनको आग्रहलाई स्विकार गर्दै कम्पनीका प्रवक्ता कुमार राजभण्डारीलाई पनि सम्पर्क गर्यौं तर बारम्बार सम्पर्क गर्दा समेत उनी सम्पर्कमा आउन चाहेनन् ।
साल्ट ट्रेडिङ कर्पोरेशन र यसको भगिनी संगठनभित्र भइरहेका गैरकानूनी क्रियाकलाप, साल्ट ट्रेडिङको शेयर स्वामित्वको विषयमा भएका चलखेलका तथ्य सहितको सामग्री अनलाइनपानालाई प्राप्त भएको जुन हामी अर्को श्रृङ्खलामा उजागर गर्नेछौं ।
यो पनि
साल्ट ट्रेडिङ हत्याउने लक्ष्मी ग्रुपको दाउ, संचालकमा लक्ष्मी ग्रुपकै तीन जना



















प्रतिक्रिया