काठमााडौं । नेपालको हवाई उड्यान इतिहासमा आज (मंगलबार) अर्को दुर्घटना थपियो । सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ लामजुरामा ६ जनाको ज्यान जाने गरी भएको यो दुर्घटना नेपाली आकाशमा भएको १०६औं हवाई दुर्घटना हो । नेपालमा भएका हेलिकप्टर दुर्घटनाको रेकर्डलाई मात्र हेर्ने हो भने (गत चैत २५ गते धुम्बाराहीस्थित ह्याम्स अस्पतालको रुफटकाे हेलिप्याडमा हेलिकप्टरको पंखा खसेको घटनालाई दुर्घटना नमानिए) याे ३८औं दुर्घटना हो ।
मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको मंगलबार पहिलो पटक होइन । यसअघि १४ अगस्त २०१८ मा हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकप्टर पहिलो पटक दुर्घटना भएकाे थियो । उक्त दुर्घटनामा एक जनाको ज्यान गएको थियो । १४ अप्रिल २०१९ मा सोलुखुम्बुकै लुक्लामा मनाङ एयरको दोस्रो दुर्घटना भयो । त्यसबेला कुनै मानवीय क्षति भने भएन ।
नेपाल नागरिक उड्यान प्राधिकरणको एभिएसन सेफ्टी रिपोर्ट अनुसार (सन् १९५५ देखि २०२२) ६७ वर्षको अवधिभित्र नेपालमा १०३ हवाई दुर्घटनाहरु भएका छन् । सन् २०२३ थप तीन दुर्घटना भए । पोखरामा भएको यति एयरको विमान दुर्घटना, संखुवासभाको सिथ्रुङमा भएको सिम्रिक एयरकाे र मंगलबार सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि नेपाली आकाशमा भएको हवाई दुर्घटनाको संख्या १०६ पुगेको हो ।
अहिलेसम्म भएका १०६ हवाई दुर्घटनामध्ये ३८ वटा हेलिकप्टर दुर्घटनाका घटना छन् । यसमध्ये पनि सबैभन्दा बढी फिस्टल एयरको हेलिकप्टरहरु दुर्घटनामा परेका उड्यान प्राधिकरणको एभिएसन सेफ्टी रिपोर्टले देखाउँछ । फिस्टेल एयरको हेलिकप्टर १२ नाभेम्वर २००१ मा मुगुको रारा तालमा पहिलो पटक दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा ४ जनाले ज्यान गुमाएका थिए । २९ जनवरी २००८ मा अन्नपूर्ण बेसक्याम्पमा, ७ नोभेम्वर २०१० मा २ जनाको ज्यान जानेगरी आमादब्लममा, २९ नोभेम्वर २०११ मा सोलुखुम्बुमा, २९ जुन २०१३ मा एक जनाको ज्यान जानेगरी सिमिकोटमा, ३ अगस्त २०१४ मा एक जनाको ज्यान जानेगरी सिन्धुपाल्चोकमा, १७ मार्च २०१६ मा लाङटाङमा र ८ अगस्त २०१६ मा ७ जनाको ज्यान जानेगरी बेतनी नुवाकोटमा फिस्टेल एयरका हेलिकप्टर दुर्घटना भएका छन् ।
सिम्रिक एयरको अहिलेसम्म ५, कर्णाली एयरकाे ४ दुर्घटना भएका छन् । २८ मे २००३ मा एभ्रेष्ट बेसक्याम्पमा सिम्रिकको पहिलो हेलिकप्टर दुर्घटनामा पर्याे, जसमा दुई जनाले ज्यान गुमाएका थिए । २३ नोभेम्वर २००६ मा जुम्लामा, २२ जुन २०१५ मा गोरखामा र ३० जुन २०१८ मा ग्राण्डी हस्पिटलको रुफटपमा रहेका हेलिप्याडमा सिम्रिककै हेलिकप्टर दुर्घटनामा परेकाे थियाे । पछिल्लाे पटक ५ अप्रिल २०२३ (वैशाख २२)मा संखुवासभा भोटखोला गाउँपालिका–४ सिथ्रुङमा भएको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको थियाे ।
अहिलेसम्म भएका १०६ हवाई दुर्घटनामध्ये ३८ वटा हेलिकप्टर दुर्घटनाका घटना छन् । यसमध्ये पनि सबैभन्दा बढी फिस्टल एयरको हेलिकप्टरहरु दुर्घटनामा परेका उड्यान प्राधिकरणको एभिएसन सेफ्टी रिपोर्टले देखाउँछ ।
३० सेम्टेम्बर १९९७ मा थुप्तेन छोलिङमा एक जनाको मृत्यु हुनेगरी पहिलो पटक कर्णाली एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । ३० अप्रिल १९९९ मा सिन्धुलीको लिसंखुमा, १२ मे २००२ मा मकालु बेसक्याम्पमा र ८ अगस्त २००६ मा त्रिभुवन विमानस्थलमा कर्णाली एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।
यसैगरी एयर डाइनेष्टीका हेलिकप्टर तीन पटक दुर्घटनामा परेका छन् । ४ जवरी २००५ मा रामेछापमा भएको दुर्घटनामा ३ को मृत्यु भएको थियो । ३ सेप्टेम्बर २००६ मा धौलागिरी बेसक्याम्पमा भएको दुर्घटनामा कुनै मानवीय क्षति भएन । तर २७ फेब्रूअरी २०१९ मा ताप्लेजुङको पाथिभरामा भएको एयर डाइनेष्टीकै हेलिकप्टर भयानक दुर्घटनामा पर्यो । यही दुर्घटनामा तत्कालीन बहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको थियो ।
हेलिकप्टर दुर्घटनाको इतिहासमा पहिलो पटक ५ नोभेम्वर १९७९ मा भीभीआईपी हेलिकप्टर लाङटाङमा दुर्घटनाग्रस्त भएको थियो । त्यस दुर्घटनामा ७ जनाको ज्यान गएको थियो । २७ अप्रिल १९९३ मा एक जनाको ज्यान जानेगरी हिमालयन एयरको लाङटाङमा, २४ जनवरी १९९७ मा एक जनाको ज्यान जानेगरी नेपाल एयरवेजको सोताङमा, १३ डिसेम्बर १९९७ मा गोरखा एयरलाइन्सको कालिकोटमा, ३१ मे १९९९ मा मनकामना एयरको रामेछापमा, ११ सेप्टेम्बर २००१ मा एयर अनन्यको मिमीमा, ७ मे २००६ मा हेलिहंस एयरको धौलागिरी बेसक्याम्पमा, ४ जनाको ज्या जानेगरी २ जुन २०१५ मा माउन्टेन एयरको सिन्धुपाल्चोकको यमुनाडाँडामा र ६ जनाको ज्यान जानेगरी ८ सेप्टेम्बर २०१८ मा अल्टिच्युड एयरको धादिङमा एक/एक पटक दुर्घटामा परेका छन् ।
सन् १९९८ जनवरी ४ मा एसियन एयरको हेलिकप्टर मुलखर्कमा दुर्घटना भएको थियो भने त्यसमा तीन जनाले ज्यान गुमाएका थिए । एसियन एयरकै हेलिकप्टर ३० सेप्टेम्बर २००२ मा सोलुखुम्बुमा दुर्घटना भएको थियो । ४ जनवरी १९९८ मा दिपायलमा एउटा भीभीआईपी फ्लाइट पनि दुर्घटनामा परेको थियो ।
उड्यान प्राधिकरणको एभिएसन सेफ्टी रिपोर्ट अनुसार हेलिकप्टरकाे तुलनामा हवाई जहाज दुर्घटना झन्डै दोब्बर बढी भएका छन् । आन्तरिक तर्फमात्रै अहिलेसम्म डबल इन्जिन भएका ५० र सिंगल इन्जिन भएका ८ गरी ५८ हवाई जहाज दुर्घटनाग्रस्त भएका छन् ।
विभिन्न समयमा विभिन्न स्थानमा भएका यी १० अन्तर्राष्ट्रिय जहाज दुर्घनामध्ये भट्टेडाँडामा भएको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको जहाज दुर्घटनामा सबैभन्दा बढी १६७ यात्रुले ज्यान गुमाएका थिए । यो दुर्घटना २८ सेप्टेम्बर १९९२ मा भएको थियो ।
नेपालमा पहिलो पटक सन् १९६० मा नेपाल एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । सो दुर्घटनामा ४ जनाको मृत्यु भएको थियो । नेपालको सरकारको स्वामित्वको यो एयरलाइन्सको जहाज अहिलेसम्म १५ पटक दुर्घटनाग्रस्त भएका छन् । १२ जुलाई १९६९ मा हेटौंडा नजिकै भएको दुर्घटना भयानक थियो । जहाँ ३५ जनाले ज्यान गुमाउनुपरेको थियो । त्यसपछि पछिल्लो पटक १५ जनवरी २०२३ (१ माघ २०७९) मा पोखरामा भएको यति एयरलाइन्सको दुर्घटना दर्दनाक थियो । त्यस दुर्घटनामा पायलटसहित सवार सबै ७२ जनाको मृत्यु भएको थियो ।
त्यसहित अहिलेसम्म यति एयरलाइन्सको ७ पटक विमान दुर्घटनाग्रस्त भएका छन् । नेपाल एयरवेज र तारा एयरलाइन्सको ६/६ दुर्घटना भएका छन् । एटीएससी डीसीए, सांग्रिला, स्काइलाइन, अग्नि, सीता र समिट एयरलाइन्सका दुई/दुई दुर्घटना भएका छन् । एभ्रेष्ट, नेकोन, कस्मिक र गोरखा एयर एयरको जहाज एक/एक पटक दुर्घटनाग्रस्त भएका उड्यान प्राधिकरणको एभिएसन सेफ्टी रिपोर्टमा उल्लेख छ ।
नेपाली आकाश अन्तर्राष्ट्रिय उडान भर्ने जहाजहरुका लागि पनि असुरक्षित नै देखिन्छ । ६८ वर्ष पहिले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान भर्ने क्रममा कालिंगा एयरको विमान दुर्घटनामा परेको थियो । सिमरामा भएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो । त्यसयता इन्डियन एयरलाइन्स र थाई एयरवेजको विमान दुई/दुई पटक, पाकिस्तान एयरलाइन्स, लुफ्थान्सा, टर्किस, यूएस बंगला र मालिन्दो एयरका जहाज एक/एक पटक दुर्घटनामा परेका छन् ।
विभिन्न समयमा विभिन्न स्थानमा भएका यी १० अन्तर्राष्ट्रिय जहाज दुर्घनामध्ये भट्टेडाँडामा भएको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको जहाज दुर्घटनामा सबैभन्दा बढी १६७ यात्रुले ज्यान गुमाएका थिए । यो दुर्घटना २८ सेप्टेम्बर १९९२ मा भएको थियो । सन् १९९२ मै घ्याङफेदीमा भएको थाई एयरवेजको जहाज दुर्घटना हुँदा पनि ११३ को मृत्यु भएको थियो । १२ मार्च २०१८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटनामा पनि ५१ जनाले ज्यान गुमाएका थिए । अहिलेसम्म भएका यी विभिन्न आन्तरिक तथा अन्तर्राष्ट्रिय जहाज दुर्घटनामा ९२० जनाको मत्यु भएको छ ।
- याे पनि…
मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न सरकारले बनायो समिति




















प्रतिक्रिया