Logo

प्रमुख समाचार

खाँणलाई जाेगाउन सहमती : निलम्बनको प्रस्ताव नल्याउन ‘रूलिङ’



काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवम् नेता बालकृष्ण खाँणलाई निलम्बनको विषयले कांग्रेस केन्द्रीय समिति बैठकमा प्रवेश नपाउने भएको छ।

यसअघि खाँण पक्राउ परेकै दिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेताहरूले खाँणलाई पार्टीको सदस्यबाट निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

तर सभापति शेरबहादुर देउवाले महामन्त्रीहरूको प्रस्तावलाई बेवास्ता मात्रै गरेनन्, त्यसबेला केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी भएकोमा त्यसलाई दुई महिना पर धकेलेर असारसम्म ल्याइपुर्‍याए ।

एक वर्षको अन्तरालपछि सभापति देउवाले बुधबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । तर सो बैठकमा पनि खाँणलाई निलम्बन गर्ने प्रस्तावले प्रवेश नपाउने भएको छ ।

सभापति देउवाले बैठकमा खाँणलाई निलम्बन गर्ने प्रस्ताव नल्याउन सबै नेताहरूको सहमति खोजेका छन् । एक पदाधिकारीका अनुसार केन्द्रीय समितिको बैठकमा महामन्त्रीले ल्याउने औपचारिक प्रस्तावमा त खाँण निलम्बनको विषय छैन नै, बैठकमा बोल्दासमेत त्यसबारे धारणा नराख्न रूलिङ गरिएको छ ।

सहमहामन्त्री महेन्द्र यादवले भने केन्द्रीय समिति बैठकमा खाँणका सम्बन्धमा कुनै छलफल नगर्ने सहमति भएको बताए ।

‘त्यो विषयमा पहिले नै छलफल भएकै हो । अब अहिले त त्यो विषय अदालतमा छ, हामीले अदालतले दिएको निर्णय मान्ने हो । अदालतमा विचाराधीन रहेको विषयमा पार्टीले बोल्ने कुरा हुँदैन,’ सहमहामन्त्री यादवले भने, ‘केन्द्रीय समितिको बैठकमा यो विषयमा कुरा नगर्ने सहमति भइसकेको छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।‚

प्रकाशित मिति : असार २७, २०८० बुधबार  ८ : २९ बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।