Logo

प्रमुख समाचार

खाणलाई जोगाउने कि नजोगाउने भन्ने विषयले कांग्रेसमा विवाद



काठमाडौं। कांग्रेस नेतृत्वले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै चासो रहेको नक्कली भुटानी शरणार्थी प्रकरणबारे केन्द्रीय कार्यसमिति बैठकमा छलफल नै अघि नबढाउने नीति लिन खोजेपछि नेताहरूबीच मतभेद बढेको छ ।

शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई निलम्बन गर्ने/नगर्ने विषय बैठकमै नउठाउने सभापति शेरबहादुर देउवाको चाहनामा संस्थापन पक्षका अधिकांश नेताको मत मिल्ने देखिएको छ भने इतरपक्षले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणलाई प्राथमिकताका साथ उठाउने तयारी गरिरहेको छ ।

देउवाले बैठकका एजेन्डाका लागि परामर्श गर्न बुधबार बिहान पदाधिकारी र पूर्वपदाधिकारीलाई आफ्नो निवासमा बोलाएका थिए । छलफल सुरु हुनुअघि नै प्रधानमन्त्री पत्नी सीताको निधनको खबर आएपछि बुधबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक साउन २ सम्म स्थगन गरिएको छ । देउवाले खाण निकट नेताहरूलाई शरणार्थी प्रकरणलाई बैठकको एजेन्डा नबनाउने संकेत दिइसकेका छन् ।

महामन्त्री गगन थापा भने नक्कली भुटानी शरणार्थी र ललिता निवासको जग्गा हिनामिना प्रकरणलाई बैठकमा छलफलको एजेन्डा बनाउनबाट कसैले रोक्न नसक्ने बताउँछन् । ‘सभापतिज्यूले एजेन्डा बनाउनुहुन्छ कि हुन्न थाहा छैन । नबनाए पनि यो एजेन्डा बन्छ । कसैले रोक्छु भन्ने कल्पनै नगरे हुन्छ । विधानले कुरा राख्न कतैबाट छेक्दैन,’ थापाले कान्तिपुरसँग भने, ‘यस्ता विषयमा छलफल नगर्ने परम्परा पनि छैन । ह्वीप जारीको कुरा पनि हुन सक्दैन । अदालतको अनुसन्धानका विषयमा प्रवेश गर्ने होइन । यस प्रकरणलाई कांग्रेसले कसरी लिने र संलग्न रहेका जोसुकै व्यक्तिमाथि पार्टीले निलम्बन गर्ने कि नगर्ने भन्ने विषय मुख्य हो ।’

शरणार्थी प्रकरणमा खाण पक्राउ परेलगत्तै सभापति देउवाले बोलाएको पदाधिकारी बैठकमा उनलाई पार्टीबाट निलम्बन गर्ने कि नगर्ने भन्ने विषय उठेको थियो । उपसभापति धनराज गुरुङ, महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मा निलम्बनको पक्षमा उभिएका थिए भने संस्थापन पक्षीय अन्य पदाधिकारीले अदालतबाट अन्तिम फैसला नहुन्जेल निलम्बन गर्न नहुने अडान लिए । यस विवादमा प्रवेश गर्न नचाहेका देउवाले केन्द्रीय कार्यसमिति बैठकसमेत बोलाउन ढिलाइ गर्दै आएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार ०८:४०   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।