काठमाडौं । मिटरब्याजसम्बन्धी विधेयक आज (आइतबार)को प्रतिनिधिसभाबाट पारित गर्ने तयारी गरिएको छ। मिटरब्याज कारोबारीलाई कारबाही गर्ने व्यवस्था समेटिएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गर्न लागिएको हो ।
सरकारले ल्याएको उक्त संशोधन विधेयकमा तोकिएभन्दा बढी ब्याज लिइएको पाइए ७ वर्षसम्म कैद र ७० हजार जरिवानाको व्यवस्था छ। त्यस्तै, मिटरब्याजको आधारमा ऋणीबाट रकम वा चलअचल सम्पत्ति केही लिएको रहेछ भने ऋणीलाई त्यस्तो रकम वा सम्पत्ति बराबरको रकम कसुरदारबाट भराइदिनुपर्ने व्यवस्था छ।
कानून मन्त्री धनराज गुरूङले उक्त संशोधन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव आजको प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्नेछन्। सरकारले यसअघि मिटरब्याज पीडितलाई न्याय दिन भन्दै अनुचित लेनदनमा कारबाहीको व्यवस्था समेटेर अध्यादेश ल्याएको थियो।
उक्त अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले राष्ट्रिय सभामा विधेयक प्रस्तुत गरेको थियो। राष्ट्रिय सभाबाट उक्त प्रतिस्थापन विधेयक पारित भए पनि ६० दिनभित्र प्रतिनिधि सभाबाट पारित नहुँदा अध्यादेश निष्क्रिय भएको थियो। सरकारले सोही प्रतिस्थापन विधेयक प्रतिनिधिसभाबाट पारित गर्न लागेको हो।




















प्रतिक्रिया