Logo

प्रमुख समाचार

सरकार ढाल्न एमाले लागिपरेकै हो ?




काठमाडौं । संसद्‍मा रहेका कुनै पनि दलसँग एकल बहुमत नरहेको अवस्थामा पाँच वर्षे स्थायी सरकारको परिकल्पना गर्न सकिँदैन । यस्तोमा सरकार सञ्चालनका लागि अरुसँग मिल्नु र भागबन्डा गर्नुबाहेकका विकल्प दलहरूसँग हुँदैन । मिल्नु भनेको अर्काको चित्त बुझाउनु पनि यो हो । यो काम शीर्ष नेताहरूका लागि कम कठिन होइन । अनेन् प्रयासपछि भागबन्डामा सहमित हुन्छ, तर त्यो कतिञ्जेल टिक्छ भन्ने डर त छँदैछ । यस्तो अवस्थामा सरकार फेरबदलको चर्चा चल्नु अस्वभाविक होइन ।

खासगरी प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवादित अभिव्यक्ति दिएयता सरकार सत्ता समीकरणसँगै सरकार परिवर्तनको चर्चाले व्यापकता पाएको छ । संसद्को प्रतिपक्षीलाई ‘वेटिङ गर्भ्मेन्ट’का रुपमा हेरिन्छ । अहिले प्रमुख प्रतिपक्षमा रहेको नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सदन मात्र अवरुद्ध पारेन, प्रधानमन्त्रीको राजीनामा माग्यो ।

प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली धाएको भनेर असार १८ मा दिएको अभिव्यक्ति राष्ट्रहीत विपरीत रहेको भन्दै एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रतिनिधिसभा अवरुद्ध पारेको थियो । शीर्ष नेताहरूबीचको पटक–पटकको छलफलपछि प्रधानमन्त्रीले संसद्‍मा आत्मालोचना गर्ने सर्तमा एमाले सदन सुचारु गर्न तयार भयो भने प्रधानमन्त्रीले राजीनामा दिनैपर्ने हदसम्मको गल्ती नगरेको निष्कर्षमा पुग्यो ।

अहिले सत्तारुढ गठबन्धनका नेताहरुले सरकार कुनै हालतमा नढल्ने बताउँदै आएका छन् । सार्वजनिक रुपमा मन्त्री तथा सत्तासीन दलका नेताहरूले सरकारलाई जनताको बलियो साथ रहेकोले सरकार ढल्ने कुनै सम्भावना नरहेको अभिव्यक्ति दिने गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले वर्तमान सरकारलाई जनताको पूर्ण समर्थन भएकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छन् । असार २२ मा प्रेस सेन्टर नेपाल काठमाडौं शाखाले आयोजना गरेको अन्तरक्रियामा उनले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य र आवश्यकता नभएको जिकिर गरिन् ।

‘सरकारलाई जनताको पूर्ण समर्थन छ । भ्रष्टाचारविरुद्धका कदमका कारणले पनि जनताको मर्म बुझेर सरकारले काम गरिरहेको अनुभूति भएको छ । सत्तागठबन्धन यो सरकारको पक्षमा कटिबद्ध छ र सरकार दृढतापूर्वक आफ्ना कदम चाल्दैछ । सरकार पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्न पछि पर्ने छैन’, माओवादी नेतृसमेत रहेकी मन्त्री शर्माले भनिन्, ‘राम्रो काम गर्दागर्दै सरकार ढल्छ भने पनि हामीलाई आपत्ति छैन ।’

संसद्को सबैभन्दा ठूलो दलसमेत रहेको सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि अहिले सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताएका छन् । असार ३० गते शनिबार विराटनगर पुगेका महामन्त्री थापाले सरकारले जनताप्रति दत्तचित्त भएर काम गरिरहेकोले सरकार परिवर्तन हुने उनको दाबी थियो ।

अहिले जसले जे गरेपनि  सरकार नढल्ने अर्का सत्ता साझेदार नेकपा एकीकृत समाजवादी बताउँछ । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले सत्ता गठबन्धन बलियो भएको बताउँदै कसैले चाहेर नभत्किने र सरकार नढल्ने बताउँछन् ।

‘सरकार ढाल्न लाग्या छ एमाले भनेर उहाँहरू आफै किन आतंकित हुनुभा हो ? यसको मत्लब उहाँहरूको सरकार आफै ढल्ने हो । हामीले ढाल्नै पर्दैन ।’

आइतबार (असार ३१ गते) जनकपुरधाममा उनले एमालेप्रति लक्षित गर्दै गठबन्धन ढाल्ने सपना नदेख्न आग्रह गरे । ‘अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ,’ उनले अघि भने, ‘कसैले गठबन्धन ढलोस् भनेर चाहँदैमा, धूपबात्ती गर्दैमा गठबन्धन ढल्दैन ।’ प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु एक ठाउँमा रहेको बताउँदै उनले गठबन्धन भत्काएर केही पाइहाल्छौं कि भन्ने सोच पूरा नहुने बताए ।

त्यसो त अहिलेको ‘वेटिङ गर्भ्मेन्ट’ एमालेले सरकार ढलोस् भन्ने आफूले नचाहेको बताएको छ । एमाले सचिव योगेश भट्टराई एमाले त्यो काममा नलागेको बताउँछन् । ‘सरकार ढाल्न लाग्या छ एमाले भनेर उहाँहरू आफै किन आतंकित हुनुभा हो ? यसको मत्लब उहाँहरूको सरकार आफै ढल्ने हो’, उनले भने, ‘एमाले त्यो काममा लागेको छैन । उहाँहरूको सरकार आफै ढालिहाल्नुहुन्छ नि ! हामीले ढाल्नै पर्दैन ।’

अस्थिर तर राजनीतिका चतुर खेलाडी मानिएका प्रधानमन्त्री प्रचण्डले सरकालाई थप बलियो बनाउने प्रयास निरन्तर गरिरहेकै छन् । उनले अहिले सरकारबाहिर रहेको सिके (चन्द्रकान्त) राउत नेतृत्वको जनमत पार्टीलाई पनि समेट्ने प्रयासमा छन् । जनतम प्रचण्ड नेतृत्वको गठबन्धन सरकामा सामेल हुन निश्चितजस्तै छ, मन्त्रालयको टुंगो भने लागिसकेको छैन । प्रचण्डले आफ्नै पार्टीका कुनै एक मन्त्रीलाई फिर्ता बोलाएर त्यहाँ जनतमलाई सुम्पने तयारी गरेका छन् ।

यही बिचमा प्रधानमन्त्री प्रचण्डकै अग्रसरतामा समाजवादी मोर्चा पनि गठन भएको छ । मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी र सरकार बाहिरको दल नेत्रविक्रम चन्द नेतृत्वको नेकपासामेल छन् । आफ्नो सरकार टिकाउने प्रचण्डको बार्गिनिङ अस्त्रका रुपमा राजनीतिक विश्लेषकहरूले यो मोर्चालाई अर्थ्याएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार १८:२७   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।