Logo

प्रमुख समाचार

देउवाले कसलाई बनाउलान् वरिष्ठ नेता ?



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा वरिष्ठ नेताको प्रस्ताव गर्ने तयारी गरेका छन् । उनले कसलाई वरिष्ठ नेता बनाउने भन्ने विषयमा छलफल गरेर केन्द्रीय समितिमा प्रस्ताव पेश गर्ने तयारी रहेको बताइएको छ । रामचन्द्र पौडेल राष्ट्रपति भएपछि कांग्रेसमा वरिष्ठ नेता पद रिक्त छ ।

नेपाली कांग्रेसको वरिष्ठ नेता पदमा गोपालमान श्रेष्ठ वा शेखर कोइराला कसलाई बनाउने भन्ने विषयमा सोमबार बसेको पादाधिकारी बैठकमा पनि छलफल भएको थियो । श्रेष्ठ नेपाली कांग्रेसका पूर्व उपसभापति हुन् भने कोइराला सभापतिमा पराजित व्यक्ति हुन् ।

श्रेष्ठले शेरबहादुर देउवापछिको वरिष्ठतम नेता आफू भएकाले पहिले देखि नै सो पदको दाबी गर्दै आएका छन् । पदाधिकारी बैठकमा पूर्व महामन्त्री डा.शशांक कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङ्दम्बे र फर्मुल्ला मन्सुरले श्रेष्ठलाई वरिष्ठ नेता बनाउने प्रस्ताव राखेका थिए । देउवाले भने निर्णय दिइसकेका छैनन् ।

कांग्रेसमा वरिष्ठ नेता पद विधानमा परिभाषित नभएकाले राख्दा पनि हुने र नराखे पनि हुने तर्क कतिपय नेताको छ । कतिपयले गोपालमान र डा. शेखर कोइराला दुवैलाई वरिष्ठ नेता बनाउन सकिने उपाय सुझाएका छन् भने कतिले श्रेष्ठलाई मात्र र कतिले कोइरालाई मात्र वरिष्ठ नेता बनाउनुपर्ने मत राख्दै आएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार १२:४२   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।