Logo

प्रमुख समाचार

‘सुशासन’लाई पहिलो प्राथमिकता दिने कांग्रेसले बालकृष्ण खाणलाई कारबाही गर्न किन सकेन ?

‘थुनामा गइसकेकालाई नेतृत्वले नै संरक्षण गर्न खोज्नु गलत हो’



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयको बुँदा नम्बर २ मा भनिएको छ– ‘सुशासन नेपाली कांग्रेसको पहिलो प्राथमिकता हो ।’ त्यसलाई थप व्याख्या गर्दै भनिएको छ– सुशासन र भ्रष्टाचार सँगसँगै जान सक्दैन । अर्थात् भ्रष्टाचार, अनियमितता र बेथिति निर्मूल नगरी न सुशासन आउँछ ।

२१ वर्ष पहिले कांग्रेसले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन गरेको उल्लेख गर्दै भ्रष्टाचार गरेको ठहर भए जोकसैलाई पनि दण्ड सजाय हुनुपर्ने भनेकाे छ । निर्णयकाे उक्त बुँदामा भनिएकाे छ, ‘भ्रष्टाचार जघन्य अपराध हो । यसको कुनै जात, धर्म, लिङ्ग, वर्ण, सम्प्रदाय वा राजनैतिक दल हुँदैन । जो कोही व्यक्तिले पनि भ्रष्टाचारको कसूर गरे कानून बमोजिम कडा भन्दा कडा दण्डसजाय गरि मुलुकलाई भ्रष्टाचारमुक्त गर्न नेपाली कांग्रेस सदैव प्रतिवद्ध रहँदै आएको छ र भविष्यमा पनि रहनेछ ।’

सरकारले थालेको नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण लगायतका भ्रष्टाचार विरुद्धका कदमहरूमा साथ समर्थन रहेको पनि कांग्रेसले जनाएको छ ।

तर कांग्रेसले दर्शाएको अनौठोपना त के छ भने– सुशासन र भ्रष्टाचार नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्ने पार्टी नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा गइसकेका आफ्नो नेता बालकृष्ण खाणबारे मौन नै रह्यो । खाण पक्राउ परे लगत्तै निलम्बनमा नपर्दा सामान्य रुपमा लिइए पनि अदालतले पुर्पक्षका लागि थुनामै पठाइसकेपछि, अझ केन्द्रीय समितिले पनि मौनता साँधेपछि कांग्रेसमाथि नै प्रश्न उठेको छ ।

त्यसो त केन्द्रीय कार्यसमिति बैठकमा खाणको विषय नै नउठेकाे हाेइन । साउन २ गते सुरु भई १० गते सकिएको बैठकमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले खाणका विषयमा नेतृत्वले अचम्मको द्विविधा देखाएको भन्दै आलोचना गरे । उनले सरकार वा साथी एक रोज्नसमेत भनेका थिए । ‘पार्टीका वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाण प्ररकणमा द्विविधा अचम्मको देखिएको छ’, नेता शिवाकोटीले बैठकमा भनेका थिए, ‘यो प्रकरणमा खाणप्रति अन्याय भएको हो भने सरकारबाट हट्नुपर्‍यो । होइन भने आफै संलग्न भएको सरकारले थुनामा पठाउँदा आरोपितलाई पार्टीबाट निलम्बन गर्नुपर्छ कि पर्दैन ?’

उनले यसमा कि थुनामा जाने दोषी नभए थुनामा पठाउने दोषी रहेको भन्दै यसबारे पार्टी नेतृत्व प्रष्ट हुनुपर्ने बताएका थिए । थुनामा रहेका र बारिहबाट हेरिरहेका दुवैलाई भ्रममा नराख्न भन्दै शिवाकोटीले बैठकले केही निर्णय गनुपर्ने दबाब दिएका थिए ।

कांग्रेसका महामन्त्री गगनकुमार थापाले त लिखित ध्यानाकर्षणपत्र नै सभापति शेरबहादुर देउवासमक्ष दर्ज गरेका थिए । सुशासन र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा थापाले बुझाएका १३ बुँदे लिखित पत्रमा पुर्पक्षका लागि थुनामा रहेका खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने मत प्रकट गरेका थिए ।

बैठकमा अन्य नेताहरूले पनि खाणका विषय नउठाएका होइनन् । तर अधिकांशले सभापति देउवालाई बल पुग्ने गरी धारणा राखेपछि संस्थापन इतर पक्षको केही लागेन ।

‘गम्भीर आरोपमा पक्राउ परिसकेपछि अब यो पक्राउ परेका व्यक्तिको निजी विषय हो, पार्टीको विषय बन्नु हुँदैन । पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा आरोपित हुनसक्छ । तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नुहुँदैन’, महामन्त्री थापाको लिखतमा भनिएको छ, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका तथा अनुसन्धानको दायरामा आएका कुनै पनि तहका नेता, कार्यकर्ता वा सदस्यलाई पार्टीबाट निलम्बन गरौं । जसरी संसदबाट निलम्बन हुन्छ, त्यसरी पार्टीबाट पनि हुन्छ । यो नै विधिको शासन र विधिशास्त्रको मान्यता हो ।’

बैठकमा अन्य नेताहरूले पनि खाणका विषय नउठाएका होइनन् । तर अधिकांशले सभापति देउवालाई बल पुग्ने गरी धारणा राखेपछि संस्थापन इतर पक्षको केही लागेन ।

केन्द्रीय सदस्य शिवाकोटीले आफूले आफ्नो धारणा राखेपनि बैठकमा ठूलो रुपमा आवाज उठ्न नसक्दा खाणको विषयमा कुनै निर्णय हुन नसकेको बताए । ‘मैले आफ्नो कुरा राखेँ । महामन्त्रीले त नोट आफ डिसेन्ट नै लेख्नुभयो । विभिन्न हिसाबले अरु साथीहरूले पनि कुरा राख्नुभयो’, बैठकको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘बैठकमा ठूलो रुपमा आवाज उठ्न नसक्दा त्यसलाई एजेन्डा बनाउन सकिएन । पार्टीले यस विषयमा प्रष्ट बोल्नुपर्थो ।’

पुर्पक्षका लागि थुनामा गइसकेका खाणलाई सभापति देउवाले निलम्बन गर्ने आँट नगर्नुले सिंगो कांग्रेसको छवि धूमिल बनाएको कांग्रेसका पुराना नेता विपिन कोइराला बताउँछन् । नेकपा एमालेले सुरुमा पार्टी सचिव रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई लुकाउन खोजेपनि पक्राउ परिसकेपछि भने कारबाही गरेको तर त्यो आँट कांग्रेस नेतृत्वले गर्न नसकेको उनको भनाइ छ ।

‘पुर्पक्षका लागि थुनामा गइसकेका नेतालाई पार्टीले नै बोकिराख्नु पटक्कै हुँदैनथ्यो । थुनामा गइसकेकालाई नेतृत्वले नै संरक्षण गर्न खोज्नु गलत हो’, कोइराला भन्छन्, ‘पहिला लुकाउन खोजेपनि पछि पक्राउ परिसकेपछि एमालेले त टोपबहादुर रायमाझीलाई तत्कालै निलम्बन गर्‍यो । कांग्रेसका सभापति जीलाई खै के गाँठो पर्‍या छ, उहाँले त्यो आँट गर्नुभएन । त्ससकारण यसले त होल कांग्रेसको छविलाई धूमिल बनाइदियो ।’

सुशासनको कुरा जति गरेपनि भ्रष्टाचार गर्नमा नेताहरूले काइदाको सहमति गर्ने गरेको कांग्रेसका पुराना नेता कोइराला बताउँछन् । ‘सबैभन्दा दुर्भाग्य त के भइदियो भने सुशासनको कुरा जति नै गरेपनि नेताहरूले भ्रष्टाचार गर्नमा काइदाको समहति गर्छन्’, उनले भने ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार १८:५१   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।