Logo

अर्थ

आर्थिक मन्दीको असर : बीमा पोलिसी परित्याग गर्नेको संख्या बढ्यो



काठमाडौँ । आम्दानीमा संकुचन आउँदा नेपालमा पछिल्ला महिनामा बीमा पोलिसी परित्याग (सरेण्डर) गर्नेहरुको संख्या बढ्दो क्रममा देखिएको छ । जीवन बीमा पोलिसी खरिद गरेर निश्चित अवधि नपुग्दै छाड्नेको संख्या बढेको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांकले देखाएको हो । आर्थिक मन्दी पछि आम्दानी खुम्चिँदा समयअवधि नपुग्दै बीमा पोलिसी बीचमै त्याग गर्नेको संख्या बढेको नेपाल बीमा प्राधिकरणको भनाई छ ।

बीमा प्राधिकरणले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बिमा कम्पनीको पोलिसी सरेन्डर २७दशमलव ६६ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८/०७९ मा ८१ हजार ८सय ६० जनाले १२ अर्ब १८ करोड ८ लाख १८ हजार रुपैयाँको पोलिसी सरेन्डर गरेको थिए भने आव २०७९/८० को असार मसान्तसम्म १ लाख ४ हजार ५सय ६ बिमितले १४ अर्ब २७ करोड ५४ लाख ८६ हजार रुपैयाँको पोलिसी सरेन्डर गरेका छन् । १५ वटा जीवन बिमा कम्पनीबाट उक्त रकमको पोलिसी सरेन्डर भएको हो । बिमा प्राधिकरणका अनुसार असार मसान्तसम्म नेपाल लाइफ, एशियन लाइफ, महालक्ष्मी लाइफ र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका बिमितले गरेको पोलिसी सरेन्डर घटेको छ भने बाँकी कम्पनीको बढेको छ ।

प्राधिकरणका अनुसार नेपाल लाइफ इन्स्योरेन्सको पोलिसी सरेन्डर आव २०७९/०८० मा ३२ हजार १सय २६ जनाले ४ अर्ब ७८ करोड ८५ लाख रुपैयाँको पोलिसी सरेन्डर गरेका थिए । अघिल्लो आवको सोही अवधिमा २६ हजार ६सय ३ जनाले ५ अर्ब १ करोड ५४ लाख रुपैयाँको पोलिसी सरेन्डर गरेका छन् । यस्तै एशियन लाइफ इन्स्योरेन्सको पोलिसी सरेन्डर १६दशमलव १४ प्रतिशतले घटेको छ । ६ हजार ५सय ७९ जनाले ४९ करोड ३९ लाख रुपैयाँको पोलिसी सरेन्डर गरेका थिए । अघिल्लो आवमा भने ७ हजार ३६३ जनाले ५८ करोड ९० लाख रुपैयाँको पोलिसी सरेन्डर गरेका थिए ।
महालक्ष्मी लाइफको पनि ४४दशमलवले २१ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ३६४ जनाले ६ करोड ४१ लाखको पोलिसी सरेन्डर गरेकोमा गत आवको सोही अवधिमा ३१२ जनाले ३ करोड ५७ लाखको पोलिसी सरेन्डर भएको छ ।

यता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको पनि बिमा पोलिसी सरेन्डर ११दशमलव ५५ प्रतिशतले घटेको तथ्याङकले देखाएको छ । संख्याको आधारमा पोलिसि सरेन्डर बढेको भए पनि रकममा हेर्दा घटेको छ । अघिल्लो आवको असार मसान्तमा ६८१ जनाले २१ करोड ३१ लाख रुपैयाँ बिमा पोलिसी सरेण्ड गरेको थियो । गत आवको सोही अवधिमा १२२४ जनाले १८ करोड ८५ लाखको पोलिसी सरेन्डर भएको छ ।

बिमा प्राधिकरणका अनुसार राष्ट्रिय बिमा संस्थानको आव २०७८/०७९ मा १६ हजार ९१७ बिमितले ८५ करोड ५५ लाख रुपैयाँको पोलिसी सरेन्डर गरेका थिए ।आव २०७९/०८० मा १४ हजार ४११ जनाले १ अर्ब १७ करोड ४२ लाखको, नेसनल लाइफमा अघिल्लो आवमा ७ हजार ५६६ जना बिमितले ८५ करोड ९७ लाख रुपैयाँ र गत आवमा ९ हजार ९ जनाले १ अर्ब ४४ करोड २३ लाख रुपैयाँको पोलिसी सरेन्डर गरेका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशनलका ९ हजार ८६८ जना बिमितले अघिल्लो आवमा २ अर्ब ९३ करोड ६९ लाख रुपैयाँको र गत आवमा २० हजार १८० बिमितले ३ अर्ब ५१ करोड १८ लाख रुपैयाँको पोलिसी सरेन्डर गरेका छन् ।

अघिल्लो आवमा मेट लाइफ इन्स्योरेन्सका ३ हजार ३५७ बिमितले ३६ करोड ९ लाख, गत आवमा ४ हजार ४५६ बिमितले ४२ करोड ७२ लाख रुपैयाँ, आईएमई लाईफका ३२४ बिमितले अघिल्लो आवमा २ करोड ४० लाख र गत आवमा १ हजार ७१ बिमितले १० करोड २७ लाखको बिमा पोलिसी सरेन्डर गरेका छन् ।

यस्तै अघिल्लो आवमा सन नेपाल लाइफका २४६ बिमितले २ करोड ४५ लाखको पोलिसी सरेन्डर गरेकामा गत आवमा ४४२ बिमितले ४ करोड ८९ लाखको, अघिल्लो आवमा रिलायबल नेपाल लाइफका ७१३ बिमितले २ करोड ७४ लाखको र गत आवमा १ हजार ५०८ बिमितले ७ करोड ८८ लाखको पोलिसी सरेन्डर गरेका छन् ।

प्राधिकरणका अनुसार अघिल्लो आवमा सिटिजन्स लाइफका ३३७ जनाले ३ करोड १४ लाख रुपैयाँ, गत आवमा १ हजार २९५ जना बिमितिले ११ करोड ८४ लाख, अघिल्लो आवमा प्रभु लाइफका २८६ बिमितले १४ करोड ७७ लाखको पोलिसी त्यागेकामा गत आवमा ६५९ बिमितले १५ करोड ७३ लाखको पोलिसी त्यागेका छन् ।

यस्तै सूर्यज्योती लाइफका २ हजार ७३ बिमितले अघिल्लो आवमा ३३ करोड १७ लाख, गत आवमा ३ हजार ६६६ बिमितले ७७ करोड ४४ लाख र हिमालयन लाइफ इन्स्योरेन्सका ५ हजार १६२ बिमितले अघिल्लो आवमा ६९ करोड ८८ लाखको पोलिसी सरेन्डर गर्दा गत आवमा ७ हजार ५६८ बिमितले ९३ करोड २१ लाखको पोलिसी त्याग गरेका छन् ।

आर्थिक संकुचनका कारण पोलिसी सरेन्डर बढ्यो : पोषकराज पौडेल,अध्यक्ष, जीवन बिमक संघ

आर्थिक सुस्तताले बिमितहरु गर्जो टार्न अप्ठेरो परेर बीमा पोलिसी त्याग गरेको हुनसक्ने नेपाल जीवन बिमक संघका अध्यक्ष पोषकराज पौडेल बताउँछन् ।“बजारको अवस्था सुस्ताउँदा मानिसलाई पैसाको आवश्यकता परेको देखिन्छ । अनि अन्तबाट पैसा चलाउन नपाउँदा आफैंले इस्योरेन्स गरेको रकम झिकेका हुन् ।” अहिलेको पोलिसी सरेण्डरलाई आवश्यक पर्दा आफ्नै बचत झिकेर चलाएको रुपमा पनि बुझ्न सकिने उनी बताउँछन् ।

रोजगारीमा समस्या आउँदा तथा आम्दानी प्रभावित हुँदा बिमितले पछिल्लो समय बीमा पोलिसी सरेण्डर रोज्ने गरेको उनले बताए ।“सकेसम्म सरेण्डर नहोस् भन्ने हाम्रो चाहना हुन्छ, ग्राहकसँग बसेर छलफल चलाइन्छ । अन्यत्रको विकल्प नै नहुनेहरु बाध्य भएर बीमा पोलिसी त्याग गरेको देखिन्छ ।” प्राधिकरणको निर्देशिका अनुसार बिमितले तीन वर्षसम्म पोलिसी समर्पण गर्न पाउँदैनन् । यो व्यवस्था हुनुअघि बिमितले बीमालेख खरिद गरेको एक वर्षपछि सरेण्डर गर्न पाउँथे ।

अभिकर्ताको स्वार्थको कारण पनि सरेण्डर गर्नेको संख्या बढ्यो : बीमा प्राधिकरण

नेपाल बीमा प्राधिकरणले आर्थिक मन्दीको असरसँगै अभिकर्ताको स्वार्थको कारण पनि सरेण्डर गर्नेको संख्या बढेको जनाएको छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले अर्थतन्त्रमा सुस्तता आएकै कारण पछिल्लो समय बीमा पोलिसी सरेण्डर गर्नेहरूको संख्या बढेको बताए । उनले भने, “अर्थतन्त्रको सुस्तताका कारण मानिसमा आम्दानी खुम्चिएको अवस्था छ, पैसाको जोहो गर्न नसक्नेले पैसाको चापाचाप परेपछि पोलिसी त्याग गरेको देखिएको छ ।” ‘‘साथै बीमा अभिकर्ताहरु पनि बिमितको आर्थिक अवस्था नबुझी बीमा गराउन उद्दत हुँदा पनि यो स्थिती आएको हो ।’’

बीमा अभिकर्ताहरुले आफ्नो स्वार्थको लागि सर्वसाधारणलाई विभिन्न लोभ देखाएर उनीहरुको क्षमता आँकलन नगरी बीमा गराउने प्रवृत्तिका कारण पनि बीमा पोलिसी सरेण्डर गर्नेको संख्या बढेको पौडेलको भनाई छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार १९:१३   :  बजे

210
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।