काठमाडौं । उमेर र संसद्को संख्याका हिसाबले नेपालको सबैभन्दा जेठो दल नेपाली कांग्रेसमा आन्तरिक कलह कायमै रहेको छ ।
पार्टीको गत साउन २ देखि ८ गतेसम्म चलेको केन्द्रीय समिति बैठकले आन्तरिक कलहलाई मत्थर पर्छ भन्ने आम बुझाइलाई गलत सावित गर्दै नेताहरू चार समूहमा विभाजन भएर आन्तरिक कलहलाई मलजल गरिरहेका छन् ।
झट्ट हेर्दा कांग्रेसमा एकातिर संस्थापन र संस्थापनइतर समूह जस्तो देखिन्छ भने अर्कोतर्फ बुढा पुस्ता र युवा पुस्ताबीचको लडाईं जस्तो पनि देखिन्छ । आवरणमा यिनै दुई समूहबीच पार्टी नेतृत्वमा पुग्न संघर्ष गरिरहेको देखिए पनि गुमनाम रहेका नेताहरूको मत पार्टीमा सबैभन्दा बलियो छ । चर्चामा रहेको पहिलो समूह संस्थापन पक्षलाई बुढा पुस्ताले नेतृत्व गरेको छ भने दोस्रो संस्थापनइतर समूह तेस्रो तहका नेताहरूले समेत साथ दिएको देखिन्छ ।
पार्टीको नेतृत्व गरिरहेको पहिलो पुस्ता सभापति शेरबहादुर देउवा र उनका दौतरी नेताहरू रहेका र दोस्रो पुस्तामा वरिष्ठ नेता डा. शेखर कोइराला, उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरू पर्दछन् ।
तेस्रो पुस्ताका महामन्त्री गगन थापा, विश्प्रकाश शर्मा, प्रदीप पौडेल, गुरु घिमिरे, मधु आचार्य, रञ्जित कर्ण, नैनसिंह महर, भुपेन्द्रजंग शाहीलगायत नेताहरू पार्टी रूपान्तरणको मुद्दामा लागेका छन् । यद्यपि, यो समूहमा पनि आ–आफ्नो नेताको ‘लिगेसी’ कसैले छाडेको देखिँदैनन् । यी नेताहरूलाई नयाँ पुस्तामा राखिए पनि कतिपय नेताहरू पुरानै नेताहरूको पक्षमा उभिएका पनि छन् ।
यी बाहेक कांग्रेसमा चर्चामा नआएको एउटा यस्तो समूह छ, जुन समूहका नेताहरू पार्टी महाधिवेशनमा एक ठाउँ हुनसके निर्णायक भूमिकामा देखिने क्षमता राख्छन् । करिब ५५ देखि ७० वर्ष बीचको समूहमा सबैभन्दा बढी नेताहरू छन् । उनीहरू कांग्रेसमा गुमनाम नै छन् ।
चर्चामा नआएको यो समूहमा पार्टी उसपभापति धनराज गुरुङ, वर्तमान सहमहामन्त्रीहरू तथा पूर्व पदाधिकारीसहित केन्द्रीय सदस्यहरू छन् । यो समूह पार्टीको आन्तरिक राजनीतिमा सबैभन्दा कम चर्चा र बढी मत संख्या भएको समूह हो ।
नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बे पार्टीमा युवा र बुढा पुस्ताका बीचमा रहेको एउटा पुस्ता गुमनाम रहेको र आफू त्यही पुस्ताको नेता भएको दाबी गर्नुहुन्छ । उहाँले आवरणमा बुढा पुस्ता र युवा पुस्ताबीचको लडाईं देखिए पनि चर्चा नकमाएका नेताहरूको संख्या पार्टीभित्र अत्याधिक रहेको बताउनुभयो ।
सहमहामन्त्री आङ्देम्बेले भन्नुभयो–‘अहिले नेपाली कांग्रेसमा पुस्ता–पुस्ताबीचको लडाइँ चलिरहेको छ । बाबु पुस्ताले नेतृत्व गरिरहेको छ । अर्को एउटा पुस्ता ७० नाघिसकेको पुस्ता छ, जो नेतृत्वमा आउन लडिरहेको छ, अर्को पुस्ता ५५ भन्दा मुनिको छ, जसले आफूलाई युवा भन्छ र हस्तक्षेपकारी भूमिका देखाउन खोजिरहेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।




















प्रतिक्रिया