मान्यजनका हातबाट आज पनि दशैँको टीका र जमरा लगाउने क्रम जारी छ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ ।
हिजो लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज पनि टिका लगाइँदैछ ।
पञ्चाङ्ग निर्णायक समितिको साइत अनुसार दशैँको टीका जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा भने आफ्नै साइत अनुसार दशैँको टीका लगाइएको छ ।
दशैँका लागि हिजो बिहान १० बजेर १९ मिनेटमा देशैभर टीकाको उत्तम साइत भए पनि त्रिपुराकोटमा भने गएरातिबाट मात्र टीका लगाउन सुरु भएको छ ।
नेपालमै प्रसिद्ध शक्तिपीठका रुपमा रहेको त्रिपुरासुन्दरी मन्दिरमा बेलुकाको नित्य पूजापछि मात्रै सबैले घर घरमा टीका जमरा लगाउन सुरु गरेका पूजारी भानुचन्द्र उपाध्यायले बताए ।
बडादशैँमा यसवर्ष कोरोना सङक्रमण जोखिमका कारण टीका लगाउन जानेहरूको चहलपहल घटेको छ । नेपालमा दिनदिनै संक्रमितको संख्या बढ्दै गएपछि सरकारले भर्चुअल माध्यमबाटै टीका लगाउन आह्वान गरेको थियो । महामारीको जोखिमले सर्वसाधारणले सरकारी आह्वानको पालना गरेका हुन् ।
प्रतिक्रिया