Logo

कोशी प्रदेश

कोशी प्रदेश : विश्वासको मत लिनुअघि नै ‘सेफ जोन’मा मुख्यमन्त्री, एमाले हायलकायल

ज्येष्ठ प्रदेशसभा सदस्य मण्डललाई राज्यमन्त्री बनाइएकोमा गठबन्धनमै असन्तुष्टि



काठमाडौं । महिना दिनमै दोस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले छिट्टै विश्वासको मत लिने तयारी गरेका छन् । कांग्रेस कोशीका सभापतिसमेत रहेका थापाको पहिलो नियुक्ति सर्वोच्च अदालतले खारेज गरिदिएपछि साउन १६ मा पुनः थापा नै मुख्यमन्त्री बनेका हुन् ।

थापा पहिलो पटक असार २१ गते नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपालगायतको समर्थनमा कोशीका मुख्यमन्त्री नियुक्त भएका थिए । तर सभामुखलाई पनि सांसदसरह गणना गरेर सरकार गठनमा सामेल गराइएकोमा आपत्ति जनाउँदै नेकपा एमाले सर्वोच्च पुग्यो । एमालेको उक्त रिटउपर सुनुवाइ गर्दै सर्वोच्चले साउन ११ गते थापाको नियुक्ति बदर गरिदिएको थियो । त्यसपछि थापालाई पुनः मुख्यमन्त्री बनाउन माओवादीका बाबुराम गौतमले सभामुखबाट राजीनामा दिनुपरेको थियो ।

संविधानको धारा १६८ को २ बमोजिम दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ १४ भित्रमा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सत्ता गठबन्धन निकट स्रोतका अनुसार मुख्यमन्त्री थापाले भदौ ३ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । ‘बिहीबार कार्यव्यवस्था परार्मश समितिको बैठक छ । पर्सि १ गतेदेखि संसद् बस्छ । भदौ ३ गते प्रदेशसभामा मुख्यमन्त्री ज्यूले विश्वासको मत लिनेगरी तयारी भइरहेको छ’, गठबन्धन निकट स्रोत भन्छ, ‘गठबन्धन दलहरूबीच यसबारे छलफल भइरहेको छ ।’

सत्ता गठबन्धनको रणनीतिले एमाले हायलकायल

विश्वासको मत लिनुअघि सत्ता गठबन्धनले यस्तो रणनीति अपनाएको छ, जसले एमालेलाई हायलकायल बनाएको छ । अब विपक्षी गठबन्धनमा रहेका एमाले र राप्रपासामू  प्रतिपक्षीको बेन्चमा बसेर विपक्षमा मत हाल्ने, पक्षमै मतदान गर्ने, होइन भने अनुपस्थित रहने तीन विकल्प मात्र बाँकी छ । प्रदेशसभामा दुवै पक्षका सांसद संख्या बराबर हुँदा विश्वासको मत लिने क्रममा आइपर्न सक्ने संभावित जोखिमलाई विश्लेषण गरेर सत्ता गठबन्धनले याे रणनीतिक कदम चालेको हो ।

आफ्नो पक्षमा बहुमत जुटाउन बाबुराम गौतमलाई सभाुमखबाट राजीनामा गराएपछि प्रदेशसभा अहिले सभामुखविहीन अवस्थामा छ । सभामुख नुहँदा सभा संचालन गर्ने जिम्मेवारी उपसभामुखकहाँ जान्छ । तर उपसभामुख पद पनि रिक्त रहेको अवस्थामा सदनको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नुपर्ने संवैधानिक प्रावधान छ ।  सभाध्यक्षले फेरि मत विभाजन प्रक्रियामा सामेल हुन (निर्णायकबाहेक) नपाउँदैन ।

कोशी प्रदेशसभाका ज्येष्ठ सदस्य गत मंसिरको आमनिर्वाचनबाट मोरङ–५ (१) बाट निर्वाचित नेपाली कांग्रेसका गयानन्द मण्डल हुन् । प्रदेशसभाको उपसभामुख एमालेकी सिर्जना दनुवार छिन् । सरकार बनाउन सभामुखलाई राजीनामा गराएको गठबन्धनलाई डर थियो– कतै एमालेले पनि उपसभाखलाई राजीनामा गराएर सदन चलाउने जिम्मा ज्येष्ठ सदस्य मण्डलकहाँ आउने त होइन ?

उपसभामुखलाई राजीनामा गराउने एमालेको कदम रोक्न मुख्यमन्त्री थापाले अगाडि नै ज्येष्ठ सदस्य मण्डललाई राज्यमन्त्रीकाे बिल्ला भिडाएका हुन् । ता कि ज्येष्ठ सदस्यका रुपमा मण्डलले सदनको अध्यक्षता गर्न नपरोस् । मुख्यमन्त्री थापाले मण्डललाई उद्योग कृषि तथा सहकारी राज्यमन्त्री बनाएका छन् । राज्यमन्त्री मण्डलले बुधबार पद तथा गोपनीयताको शपथ पनि लिसकेका छन् ।

कांग्रेसका प्रदेशसभा सांसद केदार कार्की विश्वासको मतका लागि मुख्यमन्त्रीले सबैको सल्लाहमा यस्तो कदम चालेको बताउँछन् । ‘मुख्यमन्त्रीलाई विश्वासको मत लिन के–के गर्नुपर्छ गर्दा हुन्छ भनेर हामीले नै भनेका हौं’, उनले भने, ‘उहाँले विभिन्न खालका रणनीतिहरू अपनाउन सक्नुहुन्छ ।’

गठबन्धनको यो रणनीतिपछि एमालेले उपसभामुखलाई राजीनामा गराउने बाटो छेकिएको छ । किन भने दोस्रो ज्येष्ठ सदस्य प्रदेशसभामा एमालेकै सांसद छन् । हुँदाछँदाको उपसभामुखलाई फिर्ता बोलाएर एमालेले आफ्नै ज्येष्ठ सदस्यलाई सभाध्यक्षको जिम्मेवारी सुम्पनुको कुनै तुक छैन ।

उपसभामुखलाई राजीनामा गराउने तयारीमा थियो एमाले ?

विश्वासको मत लिनेबेलामा आफूहरूमाथि जोखिम निम्त्याउन एमालेले चाल्न सक्ने कदमबारे गठबन्धनले अगाडि नै ‘सेफ जोन’काे नीति अपनाएकाे छ । तर उपसभामुखलाई फिर्ता बेलाउने कुनै तयारीमा आफू नरहेको एमालेको भनाइ छ ।

एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले उपसभामुखलाई राजीनामा गराउने तयारीमा आफूहरू नरहेकाे बताए । ‘उपभामुखलाई राजीनामा गराउने कुनै योजना थिएन र छैन पनि’, उनले भने, ‘उहाँरूले बेकारमा डराएर अगाडि नै ज्येष्ठ सदस्यलाई राज्यमन्त्री बनाएर छेक्न खोज्नुभएको होला । तर हम्रो त्यस्तो कुनै तयारी छैन । उपसभामुख आफूले राजीनामा गर्छु भन्नुभएको पनि छैन । हामीले गर्नुस् भनेर आग्रह पनि गरेका छैनौं ।’

बरु प्रमुख प्रतिपक्षी एमालेले मुख्यमन्त्रीलाई विश्वासकाे मत दिनेबारे ‘ग्रीन सिग्नल’ दिएकाे छ । प्रमुख सचेतक भण्डारीले मुख्यमन्त्री थापाले विश्वासको मत मागेको खण्डमा विचार गर्न सकिने बताए । केही आधार, कारण र सर्तसहित विश्वासको मत मागिए त्यसमा आफूरूले छलफल गर्न सक्ने उनले बताए । तर अहिलेसम्म मुख्यमन्त्री थापाले एमालेसँग विश्वासको मत मागेका छैनन् । ‘उहाँले विश्वासको मतबारे अहिलेसम्म हामीसँग कुरा गर्नुभएको छैन’, प्रमुख सतेतक भण्डारीले भने, ‘विश्वासको मत दिइँदैदिइँदैन भन्ने छैन । तर पहिला उहाँले केही आधारहरू, कारणहरू र सर्तहरू सहित विश्वासको मत माग्नुपर्‍यो । त्यसमा चित्त बुझ्यो भने दिन पनि सकिन्छ ।’

मण्डललाई राज्यमन्त्री बनाइएकोमा गठबन्धमै असन्तुष्टि

ज्येष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री बनाइएपछि सत्ता गठबन्धनभित्रै असन्तुष्टि देखिएको छ । प्रदेशसभाका कांग्रेस सांसद केदार कार्कीले मण्डल निक्कै ‘सिनियर’ नेता भएकाले राज्यमन्त्रीको जिम्मेवारी मात्र दिएर मण्डलसहित पार्टीकै अपमान गरिएको बताए ।

‘उहाँ (मण्डल) चाहिँ एकदमै सिनियर नेता हुनुहुन्छ । उहाँ २०२३ सालमै जनप्रतिनिधि भइसक्नुभएको हो’, उनले भने, ‘तर अहिले उहाँलाई राज्यमन्त्री मात्र दिएर उहाँको अपमान गरियो । उहाँको मात्रै होइन कांग्रेस प्रदेश संसदीय दलकै अपमान गरेको महससु भयो । मन्त्रालय प्याक भइसकेकाे अवस्थामा भए केही थिएन । तर धेरैजसो मन्त्रलाय खाली भइराबेलामा राज्यमन्त्री मात्र बनाइँदा अपमान भयो ।’

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार १७:४९   :  बजे

324
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।