Logo

प्रमुख समाचार

कहिलेकाहीँ लाग्छ म आफैं सरकार चलाएको छु कि कसैले चलाइरहेकाे छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिचौलिया र माफियाकै प्रभावका कारण कहिलेकाहीं सरकारबाटै हुने निर्णय परिवर्तन हुन खोज्ने र आफूले धेरैपछि मात्रै थाहा पाउने गरेको बताएका छन् ।

मंगलबार बालुवाटारमा विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग छलफल गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले बालुुवाटार र सिंहदरबार बिचौलिया र माफियाको घेराबन्दीमा रहेको स्वीकार गरेका हुन् ।

प्रधानमन्त्रीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्ति गर्नु भुल भएको पनि घुमाउरो पारामा स्वीकारेका छन् ।

उनले बुद्ध धर्म पढेको र केही गर्न सक्छन् कि भनेर आफूले नियुक्ति दिएको बताए । प्रधानमन्त्री दाहालले भने, ‘नियुक्तिपछि धेरै विवाद आयो । उनको नियुक्ति पक्रिया मलाई पनि उचित लागेको छैन ।’

उनले बेला-बेला आफूलाई अरु कसैले चलाइरहेको भान हुने बताए । ‘कहिलेकाहीँ मलाई लाग्छ म आफैं चलिरहेको छु कि मलाई कैसैले चलाइरहेका छन् भन्ने भान हुन्छ,’ उनले भने ।

उनले कांग्रेस र एमालेमा हुँदा गरेका बदमासीबाट चोखिएर लामा माओवादीमा आएको बताए । ‘बुद्ध धर्म पढेको हुँ। लुम्बिनीमा म केही गर्न सक्छु भनेपछि मैले नियुक्ति प्रक्रिया बढाएको थिएँ,’ उनले भने ।

स्रोतका अनुसार अहिले पनि विभिन्न खाले नीतिगत अनियमितता गराउन तथा ठुला ठुला ठेक्का पट्टा हत्याउन माफिया र बिचौलियाहरूले बालुवाटार र सिंहदरबारमा सक्रियता बढाइरहेको बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार केही समयअघि मात्रै बिचौलिया तथा माफियाकै योजनाअनुसार सार्वजनिक खरिद नियमावली संशोधन गरी केही ठेकेदार कम्पनीलाई सहज बनाइएको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार ०८:४७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।