काठमाडौं । यसअघिका मलमास लागेको वर्षमा स्थानीयको सामान्य पूजापाठमा सीमित चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलस्थित ऐतिहासिक मत्स्यनारायण मन्दिरमा यस वर्ष भक्तजनको घुइँचो लागेको छ ।
ऐतिहासिक यस मन्दिरमा पहिलो पटक पुरूषोत्तम महिना (मलमास) सुरु भएयता गएरातिसम्म पनि दर्शनार्थीको घुइँचो मात्रै बढेन एक महिनाको यो अवधिमा विभिन्न जिल्लाबाट आएका करिब ८० हजार भक्तजनले दर्शन एवं पूजा अर्चना गरेका छन् ।
मत्स्यनारायण मन्दिरमा एक महिने ‘मत्स्यनारायण मेला’ सुरु भएदेखि नै ओझेलमा पर्दै आएको यस मन्दिरमा यस वर्षदेखि भक्तजनको नजर परेको एकमहिने पुरुषोत्तम मेला आयोजना समितिका संयोजक गोकर्ण पुरीले जानकारी दिए ।
उनले भने, “गरे के नहुँदो रहेछ र ?, तीन सय वर्ष पुरानो यो मन्दिर ओझेलमा थियो, यहाँका मान्यगन्य, ज्येष्ठ नागरिकसँग सुझाव लियौँ, हामी युवा यहाँको प्रचारमा लाग्याैँ, यो मन्दिरमा पहिलो पटक हरेक दिन दर्शनार्थीको घुइँचो देखेर हाम्रा अग्रजहरु पनि छक्क पर्नुभयो, यो मन्दिरको दीर्घकालीनरुपमा संरक्षण र विकासमा हामी लाग्नेछौँ ।”
स्थानीयस्तरबाटै महिना दिनसम्मका लागि प्रवचन र भजनकीर्तनका टोली ल्याएको, नारायणको पूजा/पुरुषोत्तम महात्म्य वाचन गरिएको, यहाँ आउने दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था गरेको जनाउँदै उनले भक्तपुरका चारवटै नगरपालिका, काठमाडौँ, ललितपुर, साँखु, मूलपानी, काभ्रेपलाञ्चोकलगायत विभिन्न ठाउँका दर्शनार्थीको मन्दिरमा भीड लागेको बताए ।
मन्दिर संरक्षकसमेत रहेका पुरीले भने, “यो तीन सय वर्ष पुरानो मन्दिर हो, दुई पीपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुनःनिर्माण गरिएको हो, यसको शिलालेख पुरिएकाले उत्खनन् र अध्ययन गर्नुपर्ने देखिन्छ, सय वर्ष पुरानो पुजाको थाली भने अझै पनि छ, मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरि नै आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।”
यसैगरी भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी (ख्यो पुखु) मा पनि साउन २ गतेदेखि लागेको एकमहिने मत्स्यनारायण पुरुषोत्तम मलमास मेलामा स्थानीयले पूजा एवं दर्शन गरेका छन् । यस मन्दिरमा पनि एक महिनासम्म नारायणको पूजा, पुरुषोत्तम महात्म्य वाचन गरिएको थियो ।
यहाँका कुण्डमा स्नान गरी मन्दिरमा दर्शन गरे रोगव्याधि नष्ट हुने, पापकर्म नष्ट हुने जनविश्वास रहँदै आएकाले भक्तपुर नगरका बासिन्दाले यहाँ पूजा, दर्शन एवं स्नान गरेका छन् ।





















प्रतिक्रिया