Logo

प्रमुख समाचार

सरकारमा गएपछि जनता र पार्टीबीचको सम्बन्ध टाढियाे : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा गएपछि माओवादी र जनताबीचको सम्बन्ध टाढिदै गएको बताएका छन् ।

बिहीबार रामेछापमा आयोजित २० औं दोरम्बा स्मृति दिवस कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पार्टी सरकारमा गएपछि जनता र पार्टीबीचको सम्बन्ध टाढिएको भन्दै त्यो अवस्थामा सुधार ल्याउने बताएका हुन् । ‘जनता र हामीबीचको सम्बन्ध केही अल्मलिएकाले फेरि पुरानै बाटोमा ल्याउन नयाँ संकल्पसहित लागेका छौं, प्रचण्डको भनाइ छ ।

प्रचण्डले हिजो माओवादी रक्तपातपूर्ण क्रान्तिमा भएपनि आज समाजवादका निम्ति रूपान्तरणको शान्तिपूर्ण अभियानमा जुटेको बताए । ‘अब फेरि जनतासँग जोडिएर प्रतिगमन र भ्रष्टाचारविरुद्ध एकाकार भएर समाजवादी क्रान्ति सफल बनाउन आवश्यक छ’, प्रचण्डले भने, ‘आउने ३ महिनामा नयाँ एउटा वातावरण बन्छ, बन्छ । अर्को ३ महिनामा हाम्रो पार्टी जीवन्त पार्टीका रूपमा पुर्याएर आगामी निर्वाचनमा २०६४ को निर्वाचन जस्तै परिणाम ल्याउन गाह्रो छैन ।’

सरकारले ठूला आयोजना निर्माणमा ध्यान केन्द्रित गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस कार्यकालमा जनताको मन जित्ने गरी काम गर्ने पनि बताए । ‘यो पटक राम्रो काम गरेर जनताको मन जित्ने कामबाहेक अन्य कुनै काम गर्नु छैन,’ दाहालले भने, ‘जीवनको उत्तरार्द्धमा भए पनि राष्ट्र र जनताका निम्ति समाजवाद ल्याउनका लागि नयाँ संकल्पका साथ पहलकदमी लिन्छु ।’ एउटै जलविद्युत् आयोजना १० हजार मेगावाटसम्मका बनाउन सके मुलुकले आर्थिक समृद्धिको बाटो हिँड्न सक्ने उनले दाहालको भनाइ थियो ।

 

कार्यक्रममा पीडित परिवारलाई सम्मान गरिएको थियो । २०६० साल साउन ३२ गते दाङको हापुरेमा तत्कालीन विद्रोही पक्षले युद्ध विरामको घोषणा गरेकै बेला सरकार र माओवादीबीच वार्ता भइरहँदा दोरम्बा घटना भएको थियो । सो घटनामा नेपाली सेनाले नियन्त्रणमा लिएका माओवादीका २१ नेता कार्यकर्ताको हत्या गरेको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार १६:२८   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।