Logo

अर्थ

एनआइसी बैंकको अपराध: धितो लिलाम गर्दा ऋण असुली नहुने भएपछि ग्राहकको नाममा झुक्याएर सारियो २१ लाख ऋण

खाता खोल्न बोलाएर ऋणको कागजपत्रमा गर्न लगाइयो सहीछाप, तीन महिनापछि तिर्न ताकेता 



सुर्खेत । बैंकको ऋण लिन के के गर्नु पर्ला ? खाता खेल्नु पर्ला । कारोबार गरेको देखाउनु पर्ला । धितो देखाउनु पर्ला । कुन खालको कर्जा तथा ऋण लिने हो भनेर बैंकका कर्मचारीसँग बुझ्नुपर्ला । तर एनआइसी एशिया बैङ्क सुर्खेत शाखाले यस्ता कुनै पनि प्रक्रिया नगरी सर्वसाधारणलाई ऋणी भएको भन्दै  दु:ख दिएको पाइएको छ । बैंकले सर्वसाधारणलाई खाता खोल्न बोलाएर ऋणको कीर्ते कागज बनाइदिएको भेट्टिएको छ ।

बैंकले सुर्खेतका दुई जना सर्वसाधारण अमर चौधरी र गणेश थारुलाई जबर्जस्ती खाता खोल्न बोलाई झुक्याएर ऋणको कीर्ते कागजमा सही छाप गर्न लगाएको पाइएको हो । उनीहरुलाई खाता खोल्न बोलाएर करिव २१ लाख रुपैयाँको ऋणको कागज बनाइ सही छाप गर्न लगाएको जानकारी भने पीडितहरुले तीन महिनापछि थाहा पाएका थिए ।

‘बैङ्ककमा खाता खोलेपछि बैङ्कले तपाईँहरुलाई पैसा हालिदिन्छ खाता खोल्नुहोस’ भन्ने प्रलोभन दिपक रोकाय भन्ने व्यक्तिले देखाएपछि सुर्खेतका अमर चौधरी र गणेश थारुले बैङ्कमा खाता खोले । तर यो प्रलोभनमा पार्ने काममा सुर्खेतकै नागरिक एनआइसीका ऋणी समेत रहेका दिपक रोकाय र सुदूरपश्चिम प्रदेश एनआइसी बैंकका प्रमुख राजन पेखरेलले भूमिका खेलेको पाइएको छ । उनीहरुले बैंक बन्द भएपछि साँझ ६ बजेपछि पीडित अमर चौधरी र गणेश थारुलाई भिन्ना भिन्नै दिनमा खाता खोल्ने उद्देश्यमा बोलाएर ऋणीका लागि बनाइएको कागजपत्रमा हस्ताक्षर र छाप झुक्याएर लगाइदिएको पाइएको छ ।

बैंकले खाता खोल्दा पैसा पाउँछ भनि अमरलाई दिएको खाता लिष्ट

खाता खोल्न बोलाएको तीन महिनापछि  बैंकका कर्मचारीले ऋणको किस्ता तिर्न बेलाएपछि आफूहरु ठगीएको उनीहरुले थाहा पाएका हुन् । उनीहरुको नाममा अहिले एनआइसी बैंकको सुर्खेत शाखाले नलिएको २० लाख ९० हजारको ऋण रहेको देखाएको छ ।

बैंकले अमरको नाममा ९ लाख ५० हजार र गणेशको नाममा ११ लाख ४० हजार रुपैयाँ ऋण रहेको कीर्ते कागज बनाएर ऋणी देखाएको हो ।

बैंकमा सामान्य खाता खोल्ने समेत राम्रो ज्ञान नभएका उनीहरुलाई खाता खोल्न कार्यालय समयभन्दा फरक समयमा बोलाएर बैंकले कसरी ऋणको कागज गरायो भन्ने गम्भिर प्रश्न उठेको छ । यो घटनाले एनआइसी बैंकले सर्वसाधारणलाई कतिसम्म भ्रममा पारेर उनीहरुको सम्पत्ति हत्याउँछ भन्ने प्रष्ट देखाएको छ ।

कसरी भयो यस्तो अपराध

बैङ्कका सुदूरपश्चिम प्रदेश प्रमुख राजन पेखरेल र एनआइसी बैंकका ऋणी दिपक रोकाया मिलेर यो अपराध गरेको खुलेको छ ।  दिपक रोकायाको एनआईसी एशिया बैङ्कमा १ करोड १० लाख ८ हजार ४८५ रुपैयाँ ऋण रहेको र उक्त ऋण तिर्न नसक्ने भएपछि बैंकले रोकायको घरजग्गा लिलामी गर्दा समेत ऋण असुल नहुने देखेपछि दुईजना सर्वसाधारण अमर र गणेशको नाममा ऋण ट्रान्स्फर गरिदिएको खुलेको छ ।

बैङ्कले एकाएक पीडित अमर र गणेशलाई खाता खोल्न बोलाए किन यस्तो गरे ? भन्ने प्रश्नको उत्तर बैंककै जिम्मेवार व्यक्तिहरुले दिनुपर्ने हो । तर बैंकका  प्रवक्ता सुधिरनाथ पाण्डेलाई पटक पटक सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

यो घटनाको प्रकृति अनुसार यो प्रकरणमा रोकाया र बैङ्कका कर्मचारीहरु मिलेर सर्वसाधारणलाई फसाएको सहजै अनुमान गर्न सकिन्छ । सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नं ९ का अमर चौधरी रिटायर्ड आर्मी हुन । सामान्य जीवन बिताइरहेका व्यक्ति चौधरी बैंकिङ कारोबारमा कुनै ऋण नभएको र आफूलाई आउने पेन्सन झिकेर जिबिकोपार्जन गर्ने व्यक्ति हुन । तर बैंकले उनको खाता रोक्का गरिदिएकाले सामान्य किनमेलका लागि उनले आफ्नो पेन्सन समेत झिक्न नपाएको गुनासो गरे । उनले रोकायलाई साथीमार्फत खाता खेलिदिन भन्दै आएपछि चिनेको बताए ।

वीरेन्द्रनगर नगरपालिका वडा नं २ का गणेश कृषि फर्म खोलेर जिबिकोपार्जन गर्ने व्यक्ती हुन । एनआईसी एशिया बैंकमा उनलाई एरिचोक शाखाले खाता खोल्न लगाएको थियो । बैङ्कले खाता खोल्नु अघि उनीहरुहरुको कागजपत्र झिकाएको थियो । परिवारका सदस्यको समेत कागजात लगेका बैंकका कर्मचारीले केही दिन पछि उनीहरुलाई खाता खेल्न बोलाउँछन् ।

पीडित अमरले एक्कासी बैङ्कले फोटो, नागरिकताको फोटोकपी मागी खाता खोलेर हस्ताक्षर गरिएको चेक लिएर आफू माथि ठगी गरेको गुनासो गरे ।

अमरले अनलाईनपानासँग झण्डै नौ महिना अघिको घटना सम्झँदै भने, ‘खाता खोलेको केही दिन पछि साँझ ६:३० बजे बैंकका कर्मचारीले फोनमार्फत परिवारसहित बैंकको कार्यालयमा बोलाए । कर्मचारीले खाताको काम बाँकी रहेको भन्दै परिवारका सदस्यलाई समेत हस्ताक्षर गर्न लगाए । कागजातमा के लेखिएको थियो भनेर न कर्मचारीहरुले पढेर सुनाए र पढ्ने अवसर नै दिए ! कर्मचारीले पढ्ने अवसर नै नदिएर हस्ताक्षर गर्न र औंठा छाप गर्न लगाए । सबै प्रकृया पूरा भैसकेपछि मेरो नाममा चेक निकालिदिए । २/३ वटा चेकमा पनि हस्ताक्षर गर्न भने । हस्ताक्षर गरेको चेक पनि नाम थाहा नभएकी महिला कर्मचारीले बैंकमा नै राखिन् । कुरा गर्न खोज्दा कुरा गर्ने समय छैन । तपाईंको प्रकृया पूरा गर्नु पर्ने भएकाले हो । तपाईंले जे भन्यो त्यही मात्र काम गर्नु होस् भनी जवाफ दिइन ।”

पीडित अमरले खाता खोलेको तीन महिना पछि किस्ता भर्नुपर्यो भन्दै बैङ्कबाट फोन आयो । उनी अचम्ममा परे । ‘आफूले बैङ्कबाट कुनै ऋण नै निकालेको छैन के को किस्ता तिर्ने होला ?’, उनले फोन गर्ने कर्मचारीलाई उल्टै प्रश्न गरे । कर्मचारीले फोनमा जवाफ दिइन्, “बैङ्कले तपाईको नाममा ९ लाख ५० हजारको ऋण जारी गरेको छ । त्यसको किस्ता समयमा बुझाउनुपर्यो !”

ऋण कसरी मेरो नाममा आयो भनेर बुझ्न खोज्दा कर्मचारीले उल्टै थर्काइन, “बैङ्कबाट तपाईंको नाममा ऋण देखिएको छ, समयमा किस्ता भर्नु भएन भने तपाईंको घर जग्गा लिलाम हुन्छ । तपाईंले समयमा नै किस्ता भर्नू ।” त्यसपछि कर्मचारीले फोन काटेको अमरले बताए ।

पीडित अमरले बैङ्कमा आएर हेर्दा आफूले खाता मात्र खोलेको तर आफ्नो खातामा ९ लाख ५० हजारको ऋण देखिपछि ठगीएको पत्ता पाए । उनका सबै बैंकका खाता रोक्का भएपछि उनी बैंकमा गुनसो सुनाउन पुगे । बैंकले उल्टै उनलाई पहिलो किस्ता तिरे फुकुवा हुने भन्दै फकायो । बैंकका कर्मचारीको कुरा सुनेर उनले आफ्नो पेन्सन झिक्न पहिलो किस्ता वापत ७ हजार पाँच सय समेत तिर्न भ्याए । तर फेरि बैंकले अरु पैसा माग्न थाल्यो । त्यसपछि उनी न्यायका लगि भौतारिरहेका छन् ।

उनले भने, “घर नै लिलाम हुन्छ भने पछि डरले एक पटक ७५०० जम्मा गरेँ । फेरि घरमा चिठ्ठीसहित मान्छे आए । चिठ्ठी पुर्याउने मान्छेले छिटो किस्ता भर्नु होस । नभए तपाईंको घर लिलाम हुन्छ भन्दै डर देखाए ।”

अहिले नलिएको ऋणको किस्ता तिर्न भन्दै बैंकका कर्मचारीले दिएको ताकेताले उनको घर परिवार तनाबमा छ । अहिले उनको अर्को बैंकमा रहेको खाता समेत ब्लक छ । पेन्सन आएको पैसा पनि निकाल्न नसक्दा घर खर्च चलाउन नसकिएको उनले बताए ।

यस्तै बैङ्कले अर्का सर्वसाधारण गणेश थारु माथि पनि अपराध गरेको छ । गणेश थारुबाट नागरिताको फोटोकपी,फोटो मागेर बैंकका कर्मचारीले ऋण लिएको कागज बनाएका रहेछन् । नागरिताको फोटोकपी,फोटो मागेका बैंकका कर्मचारीले त्यसको केही दिन पछि उनलाई बैंकमा बोलाए।

बेलुका भैसकेको थियो । बैंक बन्द भएकाले वेसमेन्टको ढोका प्रयोग गरी बैङ्कभित्र उनलाई बोलाइयो । बैङ्कमा पुग्दा कागजात तयार थिए । बैंकका कर्मचारीले उनलाई सम्पूर्ण कागजातमा हस्ताक्षर गर्न लगाए । बैंकका कर्मचारीले भने अनुसार उनले हस्ताक्षर र औंठाछाप लगाइदिए । उनले हस्ताक्षर गरिसकेपछि बैंकका कर्मचारीले परिवारका सदस्य पनि चाहिने भनेर बोलाउन लगाए ।

गणेशले श्रीमती नआएको र आफू मात्रै एक्लै आएको भन्दा कर्मचारीले भने, ‘परिवारका सदस्य अनिवार्य चाहिन्छ । तपाई बोलाउनु हुन्छ कि ! हामी ल्याउन घरमै जाउँ ?’  त्यसपछि पीडित गणेशले फोन गरेर श्रीमतीलाई बोलाए । बीच बाटोसम्म लिन आफू पनि गए । श्रीमतीले पनि बैंकका कर्मचारीले भनेअनुसार नै हस्ताक्षेर गरिन र ल्याप्चे लगाइन । अनि कर्मचारीले गणेशलाई चेकमा हस्ताक्षर गर्न लगाए।

उनले कर्मचारीले भनेअनुसार चेकमा हस्ताक्षर गरे । ३/४ वटा चेक बैङ्कका कर्मचारीले नै राखेको गणेश सम्झन्छन् । अरु केही चेक कर्मचारीले उनलाई दिए। उनले बैंकको प्रेसेस त्यही हेला भनेर चेक लिए र घर गए ।

दुई तीन महिना पछि बैङ्कबाट किस्ता भर्नु पर्यो भन्दै फोन आयो । उनी छक्क परे र किस्ता तिर्ने कारण सोधे । अनि थाहा पाए खाता खेल्न बोलाएर उनीलाई ऋणको कागजातमा सही छाप गर्न लगाइएको रहेछ । उनलाई बैंकका कर्मचारीले ११ खाल ४० हजारको कर्जा तपाईको नाममा लिएको छ भन्ने जवाफ दिए । गणेश आकाशबाट खसेजस्तै भए ।

‘एक जना दाई (दिपक रोकाया) ले बैङ्कबाट पैसा आउँछ । खाता खोल, भन्दा मैले खाता मात्रै खोलेको हो । ऋण त मैले लिएको छैन ।’, उनले भने । दाईको विश्वास गर्दा आफू फसेको उनले बताए ।

त्यसपछि गणेश बैङ्कमा नै गएर वास्तविकता बुझ्ने कोसिस गरे । उनको नाममा ११ लाख ४० हजारको ऋण लिएको बैंकका कर्मचारीले विवरण देखाए । आफूले लिँदै नदिएको कर्जा देखिँदा उनी आत्तिए ।

उनले बैङ्कका कर्मचारीलाई भने, “मैले १ पैसा ऋण लिएको छैन । पैसा आउँछ भनेर खाता खोल्न लगाए पछि खाता मात्रै खोलेको हो । ऋण कसरी मेरो नाममा भयो ?’ तर उनको प्रश्नको उत्तर कसैले दिएनन् ।  उनलाई उल्टै कर्मचारीले भने, ‘तपाईंले ऋण लिएको देखिन्छ । किस्ता तिर्नुहोस । यदि किस्ता नतिरे तपाईंको घर लिलाम हुन्छ ।”

गणेशको घरमा बैङ्कबाट किस्ता भर्नु भन्दै वारम्बार चिठ्ठी आउन थाल्यो । अनि गणेशले खोजी गर्न थाले न्याय दिने निकाय ।

कानूनी रुपमा तल नपर्ने गरी बैङ्कले झुक्याएर खाता खोल्न बोलाइ अमर र गणेशको नाममा ऋण जारी गरेको देखिन्छ । खाता खोल्न बेलाएर बैंकका कर्मचारीले त्यही खाताबाट पैसा निकालेको देखिन्छ । यही कारण दुवै पीडितहरुका लागि कानूनी लडाई लड्न नसक्ने अवस्था सिर्जना गरिएको छ । गणेशले बैङ्कले समेत यसरी ठगी गर्छ भन्ने कुरा आफूले कहल्यै नसेचेको बताए ।

उनले भने, ‘बैङ्कको षड्यन्त्रपूर्ण ठगीका कारण मर्नु न बाँच्नुको अवस्थामा पुगेको छु ।’

अन्त न्याय नपाउने बुझेपछि पीडितहरु पुगे नेकपाको शरणमा

कानुनी लडाइँ लड्ने ठाउँ नभएपछि दुवै पीडितहरु नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको सम्पर्कमा पुग्छन् । विप्लव नेतृत्वको नेकपा सुर्खेतका नेताले पीडित र पीडकहरुलाई बोलाएर छलफल चलाउँछन् । गएको बुधवार नेकपाको सुर्खेत पार्टी कार्यालयमा बैंकका कर्मचारी, दिपक रोकाय र पीडित दुई जनालाई बोलाएर नेकपाले छलफल चलायो ।

पीडित र पीडक पक्षलाई बोलाई गरेको छलफल पछिको सहमतिपत्र

छलफलमा नेकपाले पीडित अमर चौथरी र गणेश थारुको नाममा ट्रान्स्फर गरिएको ऋण दिपक रोकायाले नै तिर्ने सहमति गराएको छ । नेकपाका जिल्ला सेक्रेटरी जीतको उपस्थितिमा एनआईसी एसिया बैंक सुर्खेतका प्रमुख, दिपक रोकाया र पीडितलाई सँगै राखेर छलफल गर्दा यस्तो सहमति भएको पीडितहरुले अनलाइन पानालाई जानकारी दिए ।

बैङ्कमा भएको ऋण रोकायाको कारोबार मनिषा कोल्ड ड्रिङ्गको ऋण म्यानेजमेन्ट गर्न दुईजना सर्वसाधारणलाई झुक्याइ खाता खेल्न लगाएर ट्रान्स्फर गरेको पत्ता लागेको छ । रोकायले ऋणको किस्ता तिर्न नसक्दा धितो नै लिलाम गर्दा पनि पूरा ऋण असुल नहुने भएपछि बैंकका कर्मचारी पेखरेल र रोकायले मिलेर यस्तो उपाय अपनाएको पत्ता लागेको हो ।

सहमतिमा पीडित गणेश र अमरको रोक्का गरेको खाता खोलिदिने,  कालो सूचीबाट नाम हटाउने र ऋण दिपक रोकायाको नाममा नै देखाउने सहमति भएको सुर्खेत सेक्रेटरी जितेले जानकारी दिए । सहमति पत्रमा पीडित अमर, गणेश, कारोवारी दिपक र बैङ्कका अधिकारीहरुले हस्ताक्षर गरेका छन ।

को हुन त  दिपक रोकाया !

दिपक रोकाया भन्ने व्यक्ति एनआईसी एशिया बैङ्कका ऋणी हुन । उनले सुर्खेतको एनआइसी एसिया बैंकको एरिचोक शाखाबाट १ करोड १० लाख ८ हजार ४ सय ८५ रुपैयाँ ऋण लिएका रहेछन् । अधिविकर्ष कर्जा शिर्षकमा उनलाई उक्त ऋण बैकले दिएको रहेछ ।

राेकायले लिएको ऋणको प्रमाण

रोकायाले मनिषा कोल्ड ड्रिङ्क संचालन गरेका रहेछन् । त्यसकै कारोबार बढाउन उनले त्यो ऋण लिएको देखिन्छ ।  उनले उक्त ऋणको किस्ता पहिला समयमा नै तिरे पनि पछिल्लो समय भने समयमा किस्ता तिर्न सकेका रहेनछन् । व्यापार चल्न कम भए पछि उनको किस्ता राख्ने क्षामता कम हुँदै गएको देखिन्छ । किस्ता समयमै आउन छाडेपछि बैंकले केही धितो लिलाम पनि गरेको देखिन्छ ।

बैंकले उनको चलनचल्तीमा १ करोड मूल्यको धितो ५० लाखमा र ४४ लाख मूल्य पर्ने धितो१५ लाखमा बेचिसकेको देखिन्छ । त्यतिले समेत नपुगेर रोकायको सम्पूर्ण घर जग्गा लिलामी हुने भए पछि साथीहरुमार्फत सर्वसाधारणलाई फसाएको देखिन्छ ।

यता बैंकले पनि किस्ता केही कम भए पनि तिरिरहेका रोकायको धितो बढी भन्दा बढी लिने लालचा राखेको देखिन्छ । खाता खेलिदिनु अघि तथा ऋणको कागज बनाइदिनु अघि बैंकले सेवाग्राहीलाई दिनुपर्ने जानकारी नदिइ सर्वसाधारण प्रयोग गरेर रोकायले लगेको ऋणको साँवा, ब्याज र जरिवाना असुल्न बैंक तल्लिन देखिन्छ ।

यो घटना अध्ययन गर्दा रोकायले लिएको ऋण असुल गर्न जग्गा बेच्दा पनि असुल नहुने देखेपछि बैङ्कले ऋण असुल गर्न नयाँ तरिका अपनाएको देखिन्छ ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार १८:१७   :  बजे

1.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।