Logo

खेलकुद

नेपालले खेल हारे पनि संसारको मन जित्याे



दुईपटक विश्वकप उचालिसकेको क्रिकेट महारथी भारतसँगको पहिलो भिडन्तमै नेपालले सम्मानजनक प्रदर्शन गरेको छ।

भारतको भन्दा ४४ वर्षपछि एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन थालेको नेपालले सोमबार श्रीलंकाको क्यान्डीमा जारी एसिसी एसिया कपमा टेस्ट राष्ट्र भारतसँग पहिलोपटक प्रतिस्पर्धा गरेको हो ।

पराजय भोगे पनि विश्व क्रिकेटका अब्बल खेलाडीले भरिएको भारतीय टोलीविरुद्ध नेपाली ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे।

भारतविरुद्ध नेपाली खेलाडीले गरेको ब्याटिङ कौशलको क्रिकेटविज्ञदेखि दर्शकसम्मले प्रशंसा गरेका छन् । यसअघि गत बुधबार नेपालले विश्व क्रिकेट वरीयताको नम्बर एक पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । क्रिकेटका दुई शक्तिराष्ट्रसँगको प्रतिस्पर्धाबाट नेपालले संसारभर आफूलाई चिनाउने मौका पाएको छ भने खेलाडीले अवसरसँगै अनुभव बटुलेका छन् । यी खेलसँगै नेपालले आफू क्रिकेटको उदीयमान राष्ट्र रहेको संकेत पनि गरेको छ ।

भारतविरुद्ध मैदानमा धैर्यसहित सशक्त प्रदर्शन गर्दै नेपाली टोलीले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३० रन बनाएको थियो । नेपाली ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे । आसिफले ९७ बलमा ५८ रन बनाए । कुशल ३८ रन बनाएर पेभेलियन फर्किए । यसै खेलबाट भुर्तेलले करिअरको एक हजार रन पूरा गरेका छन् । आठौँ नम्बरमा क्रिजमा आएका अलराउन्डर सोमपाल कामीले ४८ रनको इनिङ्स खेले । दीपेन्द्रसिंह ऐरी र सोमपालबीच सातौँ विकेटको लागि ५० रनको साझेदारी भएको थियो । दीपेन्द्रले २९ रनको योगदान गरे ।

तर, बलिङतर्फ खेलाडी चल्न नसक्दा नेपाल १० विकेटले पराजित भयो । विश्व क्रिकेटमा तहल्का मच्चाएका भारतीय कप्तान रोहित शर्मा र सुभमन गिलले एक सय ४५ रनको लक्ष्य विनाविकेट क्षतिमा पूरा गरे । भारतले दुई सय ३१ रनको लक्ष्य पछ्याउँदा वर्षा भयो । २.१ ओभरमा भारत १७ रन बनाएर खेलिरहँदा खेल करिब एक घन्टा रोकिएको थियो । पुनः सुरु भएको खेलमा भारतले एक सय ४५ रनको नयाँ लक्ष्य पाएको हो ।

कप्तान रोहित र सुभमनले सानदार प्रदर्शन गर्दैै नेपालविरुद्ध १७ बलअघि जित निकालेका थिए । रोहितले ५९ बलमा ६ चौका र पाँच छक्काका साथ ७४ रन बनाए । सुभमनले ६२ बलमा आठ चौका र एक छक्कासहित ६७ रन बनाए । करण केसी, सोमपाल, ललित राजवंशी, सन्दीप लामिछाने, दीपेन्द्र, कुशल मल्ल र गुल्सन झा भारतविरुद्ध विकेटविहीन भए । नेपाली खेलाडीले राम्रो खेले । अन्तर्राष्ट्रिय धेरै कमेन्टेटरले राम्रो भनेका छन्, खुलेर प्रशंसा गरेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलवार ०८:४९   :  बजे

432
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।