काठमाडाैं । ‘शेरबहादुर देउवाको समर्थनमा १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने सम्भावना छ, किन छैन? नहुने भन्ने के छ र?’ नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले बुधबार चितवनमा दिएको अभिव्यक्ति हो यो ।
आगामी महाधिवेशनमा सभापति शेरबहादुर देउवाको समर्थनमा सभामुखको उम्मेदवार बन्न लागेको हो भन्ने पत्रकारहरू प्रश्नमा शशांकले भने, ‘सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरूको विचार यही नै हुन सक्छ । पूर्वदेखि पश्चिमसम्म साथीहरूसँग भेटघाट गरौं, उहाँहरूको विचार सुनौं अनि मात्रै निर्णय गर्छु ।’
विधानको व्यवस्थाअनुसार चार वर्षमा महाधिवेशन भए अझ १५औं महाधिवेशन हुन २७ महिना बाँकी छ । तर २०४६ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसको महाधिवेशन विधानको व्यवस्थाअनुसार चार वर्षमा कहिल्यै भएको छैन । बरू विधानलाई पटकपटक मिच्दै आएको कांग्रेसले संवैधानिक व्यवस्थाअनुसारको समय लिएर मात्र महाधिवेशन गर्ने गरेको छ । तर कांग्रेसका नेताहरूले महाधिवेशनको जोडघटाउ अहिलेदेखि थालेका छन् । १४औं महाधिवेशन भएको २१ महिनामा विधानअनुसार कांग्रेसले कुनै काम गरेको छैन। तर १५औं महाधिवेशनमा उम्मेदवार बन्ने र नेतृत्व हत्याउने होड कांग्रेसमा अहिलेदेखि नै सुरु भएको हो ।
सोहीअनुसार पूर्वमहामन्त्री शशांक कोइरालाले आगामी महाधिवेशनमा सभापति देउवाको समर्थनमा सभापतिको प्रत्यासी बन्ने संकेत गरेका हुन् । दसैं र तिहारपछि जिल्ला भ्रमणमा निस्कने तयारीमा रहेका शशांक पार्टीको १४औं महाधिवेशनमा शेखरको पक्षमा खुलेनन् । आमा सुशीलाको स्मृति दिवसमा निकटहरूसँग पारिवारिक एकता आवश्यक रहेको जनाउँदै उनले आगामी महाधिवेशनमा दाजु शेखर र आफू मिलेर अघि बढ्ने बताएका थिए । तर शशांकले देउवाको समर्थनमा सभापतिको प्रत्यासी बन्ने संकेत गरेका हुन् । सोही अनुसार आन्तरिक तयारी उनले थालेका छन् ।
शशांक मात्र होइन, पार्टी नेतृत्वका अन्य आकांक्षी पनि देउवासँग निकटता बढाएर नेतृत्वमा पुग्ने चाहनामा छन् । किनकि कांग्रेसको विधानको विद्यमान व्यवस्थाले वर्तमान सभापति देउवालाई नेतृत्व प्रतिस्पर्धामा उत्रिने अधिकार दिँदैन। विधानले लगातार दुईपटकभन्दा बढी सभापति बन्न प्रतिबन्ध लगाएको छ । त्यसैले देउवापछिका नेताहरू अहिलेदेखि नै १५औं महाधिवेशनबाट नेतृत्वमा पुग्ने रणनीतिमा छन्। विधानले लगातार दुईपटकभन्दा बढी सभापति बन्न प्रतिबन्ध लगाएको छ। त्यसैले देउवापछिका नेताहरू अहिलेदेखि नै १५औं महाधिवेशनबाट नेतृत्वमा पुग्ने रणनीतिमा छन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।















प्रतिक्रिया