Logo

राजनीति

सत्ता साझेदार दलकै नेता भन्छन्– ‘प्रधानमन्त्री नै अराजक भए’



चितवन । नेपाली कांग्रेसका नेता शेखर कोइरलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कडा आलोचना गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्ड अराजक भइसकेको आरोप लगाए ।

भरतपुरमा शनिबार आयोजित नेपाली कांग्रेस चितवनको जिल्ला सम्मेलन उद्घाटन गर्दै नेता कोइरलाले आदिवासी जनजाति दिवसमा प्रधानमन्त्री प्रचण्डको भाषणको विषयमा आपत्ति जनाएका हुन् । ‘उहाँ पार्टीको नेताको हैसियतमा बोलेको त हैन । नेताको हैसियतमा बोले मेरो आपत्ति हुने थिएन । तर प्रधानमन्त्री त्यसरी बोल्नु गैर जिम्मेवारी हो’, कोइरालाले भने ।

नेता कोइरालाले धरानमा भएको घटनापछि धर्मको नाममा जातीय द्वन्द्व बढाउने खतरा पनि रहेको टिप्पणी गरे । ‘म धरान पुगेर पनि बुझेको छु । सबै धर्मका प्रतिनिधि र सुरक्षा निकायसँग पनि छलफल गरेको छु । त्यहाँ जे भइरहेको छ यसमा धार्मिक रंग दिए जस्तो देखिन्छ । के होला भनेर मैले बुझेँ पनि । धर्मका नाममा जातीय द्वन्द्व हुने पो हो कि भन्ने चिन्ता छ’, नेता कोइरालाले भने ।

उनले काठमाडौंका मेयरले सिंहदरबारमा आगो लगाउँछु भनेर सामाजिक सञ्जालमा लेख्नु पनि अराजकता भएको बताए । देशमा राजनैतिक, आर्थिक, धार्मिक, सांस्कृतिकरूपमा मात्रै नभएर कूटनैतिक अराजकता पनि बढेको उनले बताए । ‘देशमा चारैतिरबाट अराजकता बढेको छ । नेपाली कांग्रेसलाई चारैतिरबाट आक्रमण भएको छ । यसलाई चिर्न कांग्रेसको सरकार चाहिन्छ’, नेता कोइरालाको भनाइ थियो ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार २१:३५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।