Logo

जनप्रतिनिधि

विश्वका सय उदीयमान नेताको सूचीमा मेयर बालेन



काठमाडौं । प्रतिष्ठित टाइम म्यागेजिनले सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई समावेश गरेको छ ।

म्यागेजिनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम १०० नेस्क्ट’ मा मेयर शाहलाई समावेश गरेको हो ।

वर्ष व्यक्ति, संसारका प्रभावशाली सय व्यक्तिको सूची जारी गर्दै आएको टाइमले सन् २०१९ देखि उदयमान नेताहरुको सूची गर्न थालेको हो । म्यागेजिनले हरेक वर्ष विभिन्न ६ विधालाई समेटेर विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्ने गरेको छ । त्यसमा वैज्ञानिक, विभिन्न संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत, कलाकार, अन्तरीक्षयात्रीसहितका व्यक्तिहरु रहेका छन् ।

टाइमले २०७९ वैशाखको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार बनेका स्ट्रक्चरल इन्जिनियर ३३ वर्षीय शाहले यथास्थिति प्रतिको मतदाताको आक्रोशलाई टिकटक, ट्विटर र इन्टाग्रामको मद्दतले उपयोग गर्दै बालेन इफेक्ट सिर्जना गरेको लेखेको छ। त्यसैको परिणामस्वरुप देशभर ३८५ जना स्वतन्त्र उम्मेदवारहरुले अनुभवी राजनीतिज्ञहरुलाई पराजित गर्न सफल भएको जनाएको छ । २०७९ बैशाखमा भएको स्थानीय तह चुनावमा शाह ६३ हजारभन्दा बढी मत प्राप्त गरि विजयी भएका थिए ।

टाइमले चुनावी अभियानका क्रममा उनले २०१५ को भूकम्पको अझै प्रभाव कायमै रहेको काठमाडौंमा हेर्दा साधारणजस्ता लाग्ने फोहोर मैला तथा सरसफाईको को उचित प्रबन्ध, स्वच्छ खानेपानी, सफा सडक र संस्कृतिक सम्पदाको संक्षरणसहितको सहरी विकासको प्रतिबद्धता गरेको उल्लेख गरेको छ ।

‘ती प्रतिबद्धता पुरा गर्नेक्रममा शहरी गरीबमाथि परेको असर र उनीहरु बस्ने घरहरुको भत्काउने कार्य गैरकानुनी देखिएको भन्दै उनले आलोचना खेप्नु पर्‍यो,’ म्यागेजिनले लेखेको छ । त्यस्तै मेयर पद सम्हालेपछि बालेनले ल्याण्डफिल साइटको उपयोग र फोहरको वर्गीकरण एवं नकुहिने फोहरको व्यवस्थापनका लागि विभिन्न सम्झौता गरेको समेत टाइमले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार ०८:३६   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।