काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको प्रयोग सुशासन र समृद्धिको महत्त्वपूर्ण आधार रहेको बताएकी छन् । राष्ट्रिय युवा परिषद् नेपालले आयोजना गरेको युवा उद्यमशीलता शिखर सम्मेलनअन्तर्गत ‘डिजिटल नेपालः उद्यमशीलता र नवप्रवर्तनको भविष्य’ विषयक सत्रलाई सम्बोधन गर्दै उनले लाखौँ युवालाई देशभित्रै उत्पादन तथा सिर्जनशील काममा जोड्ने आधार पनि सूचना र प्रविधि नै भएको बताइन् ।
“एकातिर हामी डिजिटल नेपाल निर्माणको अवधारणा कार्यान्वयन गर्दै जाँदा सुशासन, विकास र समृद्धिको बाटो तीव्रताका साथ अघि बढ्नेछौँ भने अर्कोतिर देशभित्र लाखौँ युवाहरू उद्यमशीलता र नवप्रवर्तनमा लाग्दा राष्ट्रिय तथा सामाजिक एकता कायम गर्न सफल हुनेछौँ”, उनले भनिन्, “युवालाई सूचना प्रविधिको माध्यमबाट उद्यमशीलता र नपप्रवर्तनका काममा प्रवेश गर्दै आफ्नो भविष्यसँगै देशको समृद्धिमा योगदान गर्न विशेष आग्रह गर्न चाहन्छु ।”
सूचना प्रविधिको क्षेत्रमा आवश्यक नीति र कानुन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री शर्माले यो क्षेत्रलाई थप व्यवस्थित र प्रवर्द्धन गर्नका लागि साइबर सुरक्षा नीति पारित भएको बताइन् । “यो नीति पारित भएसँगै साइबर सुरक्षा केन्द्र र साइबर सुरक्षा कानुन बनाउने बाटो खुलेको छ । अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना प्रविधि, साइबर सुरक्षा, डाटा सुरक्षा र सामाजिक सञ्जालको सुरक्षित प्रयोगका लागि कानुन मस्यौदाको क्रममा रहेको छ”, उनले भनिन् ।
अहिले नेपालमा बौद्धिक व्यक्ति पलायन ठूलो समस्याका रूपमा देखिन थालेको उल्लेख गर्दै उनले नेपाली युवालाई आयआर्जनसहित देशभित्र बस्ने अवसरको सुनिश्चितता गर्ने क्षेत्रका रूपमा सूचना प्रविधि हुने पनि दाबी गरिन् ।
ज्ञानमा आधारित समाज तथा डिजिटल अर्थतन्त्रका आधार निर्माण गर्ने, डिजिटल प्रविधिको अधिकतम उपयोग गरी विकास र समृद्धिका लक्ष्य हासिल गर्ने तथा आमनागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा सरल र सहजरूपमा उपलब्ध गराउने उद्देश्यले डिजिटल नेपाल फ्रेमवर्क अवधारणा अघि सारिएको उनको भनाइ छ ।
यसलाई आवश्यक परिमार्जनसहित कार्यान्वयनमा लैजान थालेको पनि मन्त्री शर्माले जानकारी दिइन् । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वनमार्फत हरेक क्षेत्रमा ‘डिजिटलाइजेसन’लाई प्रभावकारी बनाउन सबै सरोकारवाला उत्तिकै गम्भीरताका साथ अघि बढ्नुपर्ने आवश्यकता देखिएको पनि उनले स्पष्ट गरिन् ।





















प्रतिक्रिया