काठमाडौं । विचार र एजेन्डा मिल्ने अन्य दलहरूसँगको एकताका लागि नेकपा माओवादी केन्द्रले आगामी महाधिवेशनमा नाम परिवर्तन गर्ने तयारी गरेको छ । छलफलमा रहेका अन्य पार्टीसँगको एकतालाई सफल पार्नका लागि नामको पछाडि कोष्टमा रहेको (माओवादी केन्द्र) को बारेमा आगामी आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय लिने भएको छ ।
माओवादीको २५ भदौमा बसेको केन्द्रीय कार्यालयको बैठकको निर्णय अनुसार तल्ला कमिटीमा पठाइएको सर्कुलरमा यसबारे उल्लेख गरिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरेका उक्त सर्कुलरको २ नम्बर बुँदामा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० र अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढङ्गले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ ।’
माओवादी हाल पार्टी रुपान्तरणको तीन महिने अभियानमा छ । यस लगत्तै आगमी मंसिरमा विधान महाधिवेशन गर्ने र त्यसपछि विशेष महाधिवेशन गर्ने निर्णय गत १७ देखि २१ साउनसम्म राजधानीमा चलेको केन्द्रीय समिति बैठकबाट गरेको थियो ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका र त्यहाँबाट सिधै छिमेकी मुलुक चीनको भ्रमणमा निस्कनुअघि अध्यक्ष प्रचण्ड अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले यस्तो निर्णय गरेको हो ।
नाम लगायतकै कारण एकताको प्रारम्भिक चरण अघि बढिसकेको बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग माओवादीको एकता टुंगोमा पुग्न सकेको छैन । पछिल्लो समय पार्टी एकताको उद्देश्यसहित माओवादीले नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपासँग् पनि समाजवादी मोर्चा बनाएको छ । पार्टी एकता गर्ने उदेश्य राखेको उक्त मोर्चाले भर्खरै मात्रै देशका सातवटै प्रदेशमा सन्देश सभा सम्पन्न गरेको छ ।
माओवादीले नाम नै परिवर्तन गर्नेसम्मको लचक्ता अपनाएपछि अन्य दलहरूसँगको एकताले थप गति लिने माओवादी नेताहरूको विश्वास छ ।




















प्रतिक्रिया