काठमाडौं । सरकार र पार्टीका मुद्दामा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच बुधबार चर्काचर्की परेको छ ।
संस्थापनइतर पक्षको मंगलबारको बैठकको निष्कर्ष सुनाउन उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारका साथ कोइराला देउवालाई भेट्न धुम्बाराहीस्थित निवास पुगेका थिए ।
केहीछिन सौहार्दपूर्ण वार्ता भए पनि उनका कमीकमजोरीमाथि बुँदागत छलफल हुँदा देउवाले बीच–बीचमा जंगिँदै प्रतिवाद गरेका थिए । कोइरालाले संघ र प्रदेश सरकार निर्माणमा परामर्श नभएको, तल्लो तहमा चुनाव हारेका र भ्रातृसंस्थाबाट प्रतिनिधित्व गर्नेलाई केन्द्रीय सदस्य मनोनयन गर्न नपाइने विधानको व्यवस्था उल्लंघन भएको, विधान बमोजिम ६ महिनाभित्र विभाग गठन गर्न नसकेको बताएका थिए ।
अनुशासन कारबाही फुकुवामा दोहारो मापदण्ड अपनाइएको, भ्रातृसंस्थाको नेतृत्वमा एकलौटी गर्नुका साथै भद्दा समिति बनाइएको, भ्रष्टाचार छानबिनमा पार्टीले स्वामित्व नलिएको, नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई सरुवा गर्न दबाब दिएको भन्दै कोइरालाले देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए ।
‘तपाईंले एकपछि अर्को विधानविपरीतका काम गर्दै आउनुभएको छ । न पार्टीभित्र छलफल हुन्छ, न हामीसँग परामर्श हुन्छ,’ कोइरालाको भनाइ उद्धृत गर्दै सहमहामन्त्री परियारले भने, ‘तपाईंको निर्णयले पार्टीभित्र सबैलाई न्याय हुन सकेको छैन । राष्ट्रिय राजनीति र सरकारका काममा पनि तपाईंको भूमिकाले कांग्रेसलाई नै हानी पुगिरहेको छ ।’ कोइरालाले कोशी प्रदेशमा संविधानविपरित सभामुखलाई भोट हाल्न लगाएर पार्टीको मूल्य मान्यतामा क्षति पुर्याउने काम भएको बताएका थिए । उनले सरकारको काम प्रभावकारी नभएकामा पनि गुनासो गरेका थिए । केही दिनअघिदेखि सरकारको कामलाई लिएर कोइरालाले नेतृत्व बदल्ने मुद्दा अघि सारिरहेका छन् । तर, बुधबारको भेटमा उनले सरकारको नेतृत्वको विषयमा भने कुरा उठाएनन् ।
संघ, प्रदेशमा मन्त्री र संसद्को समितिमा सभापति चयन गर्दा न्यायोचित भएको भन्दै कोइरालाले आक्रोश पोखेका थिए । यस्ता विषयमा कुरा उठाउँदाउठाउँदै वाक्क भइसकेको भन्दै उनले देउवालाई ‘तपाईं सच्चिने कुनै संकेत मिलेन’ भनेका थिए । ‘तपार्इंलाई बारम्बार सच्चिएर अघि बढ्नुहोस् भन्दै आएँ तर सच्चिनुभएन । नसच्चिने हो भने जे गर्न म लाग्छ त्यही गर्नुहोस्, मलाई तपाईसँग सहकार्य गर्नु छैन,’ कोइरालाको भनाइ थियो, ‘अब तपाईंलाई केही भन्दिनँ, भेट्दा पनि भेट्दिनँ ।’ देउवाले ठट्यौली शैलीमा ‘तपाईं नआए पनि म आफैं भेट्न आउँछु’ भन्दै सल्लाह र परामर्शबाटै काम भएको बताएका थिए ।
नेता कोइरालाले सरकार र मन्त्रीहरूको चयनमा छलफल नगरिएको गुनासोसमेत गरेका थिए । कोशी सरकार गठनमा पार्टीले लिएको बाटो गलत रहेको र त्यसबाट कांग्रेसकै बदनाम भएको उनको भनाइ थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया