काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) का अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले असोज ८ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटघाट तथा छलफल गरेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रको बाह्य स्थितिमा सुधार देखिएको भएता पनि आर्थिक क्रियाकलापहरु अपेक्षित रुपमा चलायमान हुन नसक्नुका कारण, समस्या र समाधानका संभावित उपायहरुका विषयमा भेटमा छलफल भएको सीबीफीननले जनाएको छ ।
छलफलका क्रममा सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यानले नेपाल राष्ट्र बैंकमार्फत जारी चालू आर्थिक वर्षको पहिलो महिनाको वस्तुस्थितिले आन्तरिक उत्पादन, उत्पादनमूलक क्षेत्रमा लगानीको अवस्था, पूँजीगत खर्च, आयात, रोजगारी, मुद्रास्फिति जस्ता क्षेत्रहरुमा अपेक्षित सुधार नदेखिनुले अर्थतन्त्र अझै पनि जोखिमपूर्ण रहेकोभन्दै गभर्नरको ध्यानाकर्षण गराएका थिए ।
अध्यक्ष गोल्यानले बाफियाको व्यवस्था बमोजिम संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण गर्न पाउने व्यवस्था, चालू पूँजी कर्जामा सुधार, उत्पादनमूलक र अन्य क्षेत्रमा दोहोरो ब्याजदरको व्यवस्था, बैंक तथा वित्तीय संस्थाको बढ्दो संचालन खर्च र साँघुरिदो लाभांशलगायतका विषयमा गभर्नरसमक्ष लिखित सुझाव पत्र पेश गरेका थिए । त्यस्तै अध्यक्ष गोल्यानले सीबीफीनको पहलमा सातै प्रदेशमा बिजनेश समिट आयोजना हुने पनि बताए । उनले समिटमा नेपाल राष्ट्र बैंकको सहभागिताका आवश्यक रहेको बताए ।
गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकप्रति सबैं क्षेत्रको आशा र भरोसा बढ्दै गएको र समग्र अर्थतन्त्रलाई सुदृढ बनाउने जिम्मेवारी नेपाल राष्ट्र बैंकको भएको भन्ने भाष्य निर्माण गरिँदा चुनौती बढेको बताए । गभर्नर अधिकारीले तंग्रिदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउने कार्यमा सबै सरोकारवाला पक्षहरु उत्तिकै गम्भीर र जिम्मवार हुन आवश्यक रहेको औंल्याए ।
प्रतिक्रिया