Logo

अर्थ

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा कडाइ गरिने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीको सेयर निष्काशन प्रक्रियामा कडाइ गर्ने भएको छ । बोर्डले जलविद्युत कम्पनीका लागि कसिलो प्रावधान राख्दै धितोपत्र दर्ता तथा निष्काशन नियमावली संशोधन गर्न लागेको हो ।

अब भौतिक पूर्वाधारतर्फ कम्तिमा ६५ प्रतिशत कार्य सम्पन्न भएको जलविद्युत कम्पनीले मात्रै आईपीओ निष्काशन गर्न अनुमति पाउनेछन् । सोमबार बोर्डका पदाधिकारी तथा जलविद्युत उत्पादकहरुको प्रतिनिधि संस्था स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का पदाधिकारी बीच जलविद्युतको प्रारम्भिक निष्काशनलाई थप व्यवस्थित तथा पारदर्शी बनाउने सम्बन्धमा छलफल भएको थियो । उक्त छलफलले धितोपत्र दर्ता तथा निष्काशन नियमावली गर्ने संशोधनका विषयमा सहमति गरेको छ ।

जलविद्युत कम्पनीले आफ्नो उद्देश्य अनुसारको कार्य गर्नका लागि आवश्यक भौतिक पूर्वाधारको प्रगति कम्तिमा ५० प्रतिशत कार्य सम्पन्न भएको विवरण कम्पनीले ऋण लिएको सम्बन्धित बैंकले प्रमाणित गरेको विवरणसहित बोर्डमा आवेदन प्रक्रिया अगाडि बढाउन सक्ने छ । त्यस्तै आईपीओ जारी गर्नका लागि जलविद्युत् कम्पनीले आईपीओबाट पाउने पुँजी बैंकको ऋण भुक्तान प्रयोजन वा कम्पनीको चालु परियोजना सम्पन्नका लागि मात्र प्रयोग गर्ने सञ्चालक समितिको प्रतिवद्धता पेश गर्नुपर्ने व्यवस्था गरिने भएको छ ।

हकप्रद सेयर जारी गर्न पनि धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकामा केही व्यवस्था थप गर्ने सहमति भएको छ । जसअनुसार नयाँ परियोजनामा लगानी गर्नेगरी हकप्रद सेयर जारी गर्ने भएमा कम्पनीको नेटवर्थ चुक्ता पुँजीभन्दा कम नरहेको हुनुपर्ने व्यवस्था गरिने भएको छ । तर यो व्यवस्था आगामी दिनमा बोर्डमा दर्ता हुने कम्पनीको हकमा मात्र लागू हुनेछ ।

हकप्रद निस्कासनका लागि आयोजनाबाट विद्युत्‌को व्यापारिक उत्पादन भइसकेको हुनुपर्नेछ । हकप्रद सेयर निस्कासन गर्दा नयाँ परियोजनाको लागि आवश्यक हुने रकम दुई पटकमा उठाउन सक्ने व्यवस्था गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलवार १७:१७   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।