Logo

धर्म / संस्कृति

जात्रा अवलोकन गर्न आउने पाहुनाको महानगरद्वारा स्वागत



काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यँया (इन्द्रजात्रा) अवलोकन गर्न आएका अतिथिहरुलाई स्वागत गरेका छन् । उनीहरुको सम्मानमा महानगरपालिकाले रात्री भोजको आयोजना गरेको थियो ।

सञ्चालन व्यवस्थापनमा महानगरले सञ्चालन गरेका कामका विषयमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘जात्रा सञ्चालनमा समुदायको सहभागिता, धार्मिक तथा सामाजिक क्रियाकलाप, खानपान, नृत्य, गायन तथा वादनको मौलिक पहिचानले जीवन्तता दिएको छ । यसलाई प्रवर्धन गर्नु हाम्रो साझा जिम्मेवारी हो । महानगरपालिकाले यो जिम्मेवारीलाई प्रणालीमा रहेर सञ्चालन गरिरहेको छ ।’

त्यस क्रममा प्रवक्ता नविन मानन्धरले, जात्रा अवलोकनका लागि ३ वटा देशका ५ वटा नगर र एउटा संस्थाबाट प्रतिनिधित्व गर्दै २० जना अतिथि काठमाडौँ आउनुहुने जानकारी दिए । देशभित्र भगिनी सम्बन्ध भएका र हुने चरणमा रहेका ७ वटा पालिकाबाट इन्द्रजात्रालाई व्यवस्थित तथा समन्वयात्मक रुपमा सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को कार्यकक्षमा आज समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

हनुमानढोका संग्रहालय विकास समिति, गुठी संस्थान, नेपाली सेना, नेपाल प्रहरी, इन्द्रजात्रा व्यवस्थापन समितिका पदाधिकारीसहितको बैठकमा जात्रासँग सम्बन्धित क्रियाकलापमा सांस्कृतिक क्रियाकलाप, सामाजिक सहभागिता, पूजाआजा, रथयात्रा सम्बन्धी व्यवस्था, राष्ट्रपतिको सवारी योजना, सुरक्षा योजना, जात्रा पूर्व, जात्राको अवधि र जात्रा पछिका कार्यक्रमलगायत विषयमा छलफल भएको थियो ।

बैठकमा उपप्रमुृख सुनिता डंगोलले, जात्रा सञ्चालनका लागि सरोकारवाला सवैको भूमिकालाई स्पष्ट बनाउनु पर्नेमा जोड दिइन् । जात्रा सञ्चालन हुने मुख्य ठाउँलाई केन्द्रीत गरेर आसपासका क्षेत्रमा पनि सुरक्षा प्रबन्ध राम्रो बनाउनु पर्नेमा उनले जोड दिइन् ।

सबै पक्षबाट सुझाव ग्रहण गरेर व्यवस्थापनका लागि महानगरपालिकाले काम गर्ने बताउँदै प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, बसन्तपुर क्षेत्रको सरसफाइ, सम्पदाहरुको मर्मत सम्भार, रंगरोगनलगायत काम भइरहेको जानकारी दिए ।

काठमाडौँको पहिचान र मौलिकतासँग जोडिएको जात्रा सञ्चालन सबैको साझा दायित्व हो । बैठकमा महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले भने, ‘जात्रा मेरो हो भन्ने बोध गरौँ । व्यवस्थापनमा ठूलो सहजता हुनेछ ।’ राष्ट्रिय गौरवसँग जोडिएकाले जात्राको व्यवस्थापन र सञ्चालनमा कमजोरी देखाएर होइन, सहभागी भएर योगदान गर्नुपर्नेमा जोड दिए ।

महानगरपालिकाको तयारी

जात्रा अवलोकन गर्न आउने पाहुनाहरुको स्वागत, सम्पदा मार्ग, जात्रा तथा छिमेकी नगरको अवलोकन भ्रमण, विदाइजस्ता क्रियाकलापसँग सम्बन्धित काम गर्नका विभागीय प्रमुखहरुको संयोजकत्वमा ६ वटा समिति गठन गरिएका छन् ।

जसमा अतिथि स्वागत एवं सत्कार समितिको संयोजकमा महेश काफ्ले, कार्यक्रम पुस्तिका, उपहारलगायत सामग्री तथा प्रतिवेदन समितिको संयोजकमा दिपक अधिकारी, सुरक्षा एवं भ्रमण व्यवस्थापन समितिको संयोजक राजुनाथ पाण्डे संयोजक छन् ।

यसैगरी मञ्च तथा औपचारिक कार्यक्रम व्यवस्थापन समितिको संयोजकमा डा. शिवराज अधिकारी, मिडिया व्यवस्थापन एवं प्रचार प्रसार समितिको संयोजकमा नमराज ढकाल, खानपान र जिन्सी व्यवस्थापन समितिमा रविनमान श्रेष्ठ संयोजक छन् ।

मानिसहरुले मौलिक प्रविधि, सिप र कला जोडेर सिर्जना गरेका मूर्त सम्पदासँग अमूर्त सम्पदाको सम्बन्धको अवलोकन गर्न आमन्त्रणा गरिएको हो ।

मानिसहरुले मौलिक प्रविधि, सिप र कला जोडेर सिर्जना गरेका मूर्त सम्पदासँग अमूर्त सम्पदाको सम्बन्धको अवलोकन गर्न आमन्त्रणा गरिएको हो ।

प्रस्तावित कार्यक्रमहरु

जात्रा अवलोकनका लागि असोज १० गते अतिथिहरु आउनेछन् । ११ गते विहान काठमाडौँ महानगरपालिकाको भित्री सहरी क्षेत्रमा भएका सम्पदाहरुको अवलोकन भ्रमण हुनेछ । मध्यान्नमा अतिथिहरु कुमारी रथ यात्राको अवलोकनका लागि सहभागी हुनेछन् ।

१२ गते भक्तपुर दरबार क्षेत्रको भ्रमण हुनेछ । त्यस दिन हाँडीगाउँमा आयोजना हुने मौलिक तथा परम्परागत प्रदर्शनीमा अतिथिहरुलाई सहभागी गराइनेछ ।

१३ गते स्वयम्भूको अवलोकन भ्रमणपछि अतिथिहरुलाई नेपाली बजार घुम्ने समय उपलब्ध गराइनेछ । असोज १४ गते उनीहरु स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार १३:१६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।