Logo

आजको तस्बिर

इन्द्रजात्रा हेर्ने दर्शकले भरियो वसन्तपुर



काठमाडौं । वसन्तपुर आज इन्द्रजात्रा हेर्ने दर्शकले भरिएको छ । यहाँ मानिसहरूको खचाखच उपस्थिति छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा मनाइँदैछ ।

जात्रा हेर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गरिबी निवारण तथा सहकारीमन्त्री रन्जिता श्रेष्ठ, पर्यटनमन्त्री सुदन किराती, काठमाडौं महानगरपालिकाका मेयर बालेन साह लगायत उच्च अधिकारी हनुमानढोका पुगिसकेका छन् ।

इन्द्रजात्रा अवलोकन गर्न विदेशी पर्यटकहरु पनि वसन्तपुर पुगेका छन् ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा पनि मनाइँदै आएको छ । विशेषगरी वसन्तपुरमा देखाइने जात्रा विश्वभर चर्चित रहीआएको छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने चलन छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार १६:५४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।