Logo

टिप्पणी

अनलाइनपाना समाचार प्रभाव, अन्तत: दर्ता भयो पूर्व सभासद गुप्ता विरुद्धको जाहेरी



पर्सा जिल्लाको बिन्दवासीनी गाउँपालिकामा मारिएका सत्तारुढ नेकपाका गाउँ कमिटि सचिव मुकेश चौरसियाको हत्या सम्बनधी जाहेरी दर्ता भएको छ । चौरसिया मारिएको एक हप्तापछि सरकारी वकिलको कार्यालय पर्सा मार्फत उक्त जाहेरी दर्ता भएको हो । 

गत बिहिवार गाउँपालिका स्तरमा सपथ ग्रहणको कार्यक्रम राखिएपछि पूर्व माओवादी र पूर्व एमालेकाबीच झडप भएको थियो । उक्त झडपका क्रममा गम्भिर घाइते भइ अस्पताल भर्ना भएका चौरसियाको शुक्रबार बिहान स्थानिय न्यूरो अस्पतालमा निधन भएको थियो । चौरसियाको ज्यानै गएपछि आफन्तहरुले सोही दिन नै किटानी जाहेरी दिन जाँदा पर्सा जिल्लाकी प्रहरी प्रमुख एसपी गंगा पन्तले दर्ता गर्न मानेकी थिईनन् । 

प्रधानमन्त्री ओली निकट रहेका पूर्व सभासद राजकुमार गुप्ताको योजनामा उक्त घटना घटाईएको आरोप सकित किटानी जाहेरी लेखिएको थाहा पाएपछि एसपी पन्तले उक्त जाहेरी नलिएको भन्दै उनको चर्को आलोचना भएको थियो । यसरी चौरसियाको हत्या भएको सम्बन्धमा प्रहरीले परिवारको किटानी जाहेरी नलिइएपछि स्थानियहरु सडक प्रदर्शनमा उत्रिएर एसपी पन्तको पुत्ला नै जलाएका थिए ।

आफू प्रधानमन्त्री ओलीमात्र होईन राष्ट्रपति विद्यादेवी भण्डारीको समेत आशिर्वाद प्राप्त शक्तिशाली एसपी भएकोले जे गरेपनि हुन्छ भन्ने मानसिकता राख्ने एसपी पन्तले बालुवाटारकै दबावमा जाहेरी नलिई हप्तौसम्म चौरसिया परिवार र आन्दोलनमा होमिएका नेता कार्यकर्तालाई दुख दिएपछि उनको सर्वत्र आलोचना भएको थियो । यस विषयमा अनलाईपानाले त “एसपी गंगा पन्तको बर्दीमा पूर्व एमालेको छायाँ, ईतरका चौरसियाको रगतमा भद्दा मजाक” शिर्षकमा समाचार नै प्रकाशित गरेको थियो । उक्त समाचार हटाउँन विभिन्न शक्ति निकायहरुबाट दबाव आएपनि अनलाइनपानाले समाचार हटाएन । हजारौंले समाचारलाई शेयर गरिरहेका बेला उक्त समाचरकै दबावमा आज भने सरकारी वकिलको कार्यालयले किटानी जाहेरी दर्ता गरेको छ ।

जाहेरीमा पूर्व सभासद गुप्तासहित १२ जनामाथि ज्यान मार्ने घटनामा संलग्न रहेको आरोपमा मुद्दा दर्ता गरिएको छ । चौरसियाको मृत्यु भएको एक साता भइसक्दा पनि प्रहरीले जाहेरी नलिएको भन्दै मृतकका परिवारले उनको शव बुझेका थिएनन् ।

आज सरकारी वकिलको कार्यालय मार्फत जाहेरी दर्ता भएपछि चौरसियाको शव बुझ्न आफन्त राजी भएको बताईएको छ । पार्टीको गाउँपालिका कमिटी सचिवसमेत रहेका चौरसियाको शव अहिले वीरगंजकै नारायणी अस्पतालमा राखिएको छ । 

झडप भएको दिन साँझ करीब ५ बजेको समयमा पूर्वसभासद गुप्ता सहित ८ जनालाई नियन्त्रणमा लिएको भएता पनि राती ९ बजे गुप्ता सहित ५ जनालाई बिना सोधपुछ छोडिएको थियो । एसपी पन्तले गुप्ताको नाम नहटाई जाहेरी दर्ता नै नगर्ने अड्डी कसेर टसमस नभएपछि नेकपाका कार्यकारी अध्यक्ष पूष्प कमल दाहाल र नेपाली काँग्रेसले समेत घटनाको छानबिन गरेर दोशीलाई कारवाही गर्न प्रेस वक्तव्य नै निकालेका थिए । 

जिल्ला प्रहरीको नेतृत्व गरेकै व्यक्तिले राजनीतिक शक्तिको दुरुपयोग गरेर लिन नमानेको मुद्धा जिल्ला सरकारी वकिलको कार्यालय मार्फत भएपनि दर्ता भएपछि चौरसियाका आफन्त न्याय पाउँनेमा आशावादी भएका छन् जाहेरी नै नलिने पन्त माथी नैतीक संकट आई परेको छ । पन्तलाई तत्काल वीरगंजबाट हटाएर जिम्मेवार बिहीन बनाउँन समेत चर्को आवाज उठेको छ ।  

प्रकाशित : १३ कार्तिक २०७७, बिहिबार