Logo

अर्थ

उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह : ‘अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुनुस्’



जनकपुरधाम । अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न कारणले समस्याग्रस्त देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेकाले उद्योगी–व्यवसायीलाई निराश नहुन आग्रह गरे । जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५६औँ वार्षिक साधारणसभालाई आज जनकपुरधाममा सम्बोधन गर्दै अर्थमन्त्री डा महतले भूकम्प, कोरोना महामारी र अन्तर्राष्ट्रियरूपमा भएको आर्थिक मन्दीका कारण नेपाली अर्थतन्त्रमा परेको दबाब सुधारोन्मुख रहेकाले दृढ आत्मविश्वासका साथ लगानी बढाउन आग्रह गरे ।

“भूकम्प, कोरोना महामारी, अन्तर्राष्ट्रियरूपमा भइरहेको आर्थिक र द्वन्द्वको असर नेपालले पनि भोग्यो । अर्थतन्त्रमा दबाब अवश्य थियो तर पछिल्लो समय त्यसमा सुधार हुँदैछ । विप्रेषण प्रवाह, पर्यटकीय गतिविधिमा बढोत्तरी, बजेट अनुशासन कायम गरेर अगाडि बढ्ने सरकारको नीतिका कारण विस्तारै सुधार हुँदैछ”, अर्थमन्त्री डा महतले भने, “त्यसैले म विश्वासका साथ भन्छु नेपाली अर्थतन्त्र सुधारोन्मुख छ । आर्थिक क्रियाकलाप बढाउन सरकारको मौद्रिक नीति र बजेट अनुशासनले पनि काम गरिरहेको छ । त्यसबाट परिणाम आउन केही समय लागे पनि निराशाको अवस्थालाई आशामा बदल्न सरकार प्रयत्नशील छ । तपाईँ व्यापारी साथीहरू पनि आत्मविश्वासका साथ काम गर्नुस् ।”

उनले देशमा आर्थिक क्रियाकलापमा बढोत्तरी नहुँदा राजस्व सङ्कलनमा समेत असर परेकाले विकासका पूर्वाधारमा पर्याप्त लगानी गर्न कठिनाइ भइरहेको बताए । “नेपालले सामाजिक सुरक्षामा गरेको प्रतिबद्धता, कर्मचारीको तलब तथा चालु खर्चजस्ता अन्य दायित्व पूरा गर्दै जाँदा पुँजीगत दायित्व वा विकासमा पर्याप्त लगानी गर्न सकिरहेको छैन । राजस्व वा आम्दानी बढ्न नसकेकाले यस्तो समस्या भएको हो । अब सबै पक्षले सकारात्मक पहल गरेमा यो अवस्थालाई सुधार्न सकिन्छ । त्यसका लागि म सबै सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छु”, उनको भनाइ थियो ।

मधेस प्रदेशमा कृषि, पर्यटन र उद्योगको विकासमार्फत समृद्धि हासिल गर्ने लक्ष्यसहित सरकारले सुनकोसी मरिन कमला डाइभर्सनको काम द्रुतगतिमा अगाडि बढाएको र पूर्व–पश्चिम नहर प्रणालीको विकासका लागि उचित ध्यान दिने भन्दै अर्थमन्त्री डा महतले जलेश्वलाई अन्तर्राष्ट्रिय नाका बनाउन र जटहीलगायतका नाकाको स्तरोन्नति गर्न सरकारले पहल सुरु गरिसकेको पनि जानकारी दिए । प्रदेशको राजधानी जनकपुर क्षेत्रलाई औद्योगिक हबका रूपमा विकास गर्न पनि सरकारले आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : आश्विन १३, २०८० शनिबार  ८ : १५ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।