काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ७ गते मंगलबार बिहान ११:२ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गर्दै विजया दशमी उत्तम साइत ११:२ बजे रहेको जानकारी दिएको छ । समितिका अनुसार असोज २८ गते आइबार बिहान ११:२९ बजे घटस्थापनाको साइत रहेको छ ।
घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २९ गते सोमबार झण्डा फेर्ने साइत १०:१९ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए । कात्तिक २ गते बिहीबार पचली भैरव यात्रा गरिन्छ ।
कात्तिक ४ गते शनिबार फूलपाती परेको छ । फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ८:२४ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ९:३५ बजे स्थिरासन गराइन्छ ।
कत्तिक ५ गते आइतबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ । कात्तिक ६ गते सोमबार महानवमी पर्व मनाइन्छ । कात्तिक ७ गते मंगलबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान १०:३७ बजे विसर्जन गरिने साइत छ ।
प्रतिक्रिया