Logo

टिप्पणी

हनीट्राप: कसैले तपाईँलाई फसाउँदै त छैन् !

कसरी जाेगिने ?



अंग्रेजी शब्द हनीको अर्थ मह भन्ने बुझिन्छ भने ट्र्याप भन्नाले जालमा पार्ने भनेर बुझिन्छ । महजस्तै मीठो वा राम्रो चिजको माध्यमले कुनै व्यक्तिलाई ट्र्यापमा पारिन्छ भने त्यसलाई सामान्य बुझाइमा हनीट्र्याप भनिन्छ । यो शब्द हेर्दा र सुन्दा जति सरल र सूक्ष्म देखिन्छ त्यति सरल नभई अति नै बृहत् र फराकिलो भएको पाइन्छ ।

यदि हामीले हनी ट्र्याप भन्ने विषय कहाँ प्रयोग भएको छ भनी विगतलाई नियाल्ने हो भने प्रहरीहरुले कुनै घटना वा व्यक्तिलाई अनुसन्धान गर्दा अनुसन्धानको क्रममा प्रमाणहरु संकलन गर्नको निमित्त शंकास्पद व्यक्तिलाई कुनै किसिमको प्रलोभन देखाई हनी ट्र्यापमा पारेको पाइन्छ ।

त्यस्तै गरी राजनीतिज्ञहरुले आफ्नो स्वार्थ अनुरुपको राजनीतिक लाभ लिनको लागि कसैलाई परिपञ्चमा पार्नुपरेको खण्डमा यसको प्रयोग गरेको पाइन्छ । हाल आएर देशको परिस्थिति, सामाजिक कुरीति, महँङ्गी, कमजोर आर्थिक हैसियत, साक्षरताको कमीको कारण छिट्टै सजिलो तरिकाले आर्थिक आम्दानी गर्ने हेतुले हनी ट्र्याप गर्ने प्रविधि बढेको छ । विदेशतिर नियाल्ने हो भने स्क्यामरहरुले राम्रो जागिर दिलाइदिने नाउँमा, राम्रो घर वा कोठा खोजिदिने नाउँमा, घरमै बसी-बसी सजिलो तरिकाले आम्दानी गराइदिने नाउँमा, भारी रकमको चिठ्ठा पारिदिएको भन्ने बहानामा यसलाई प्रयोग गरेको पाइन्छ । हामीकहाँ कसैलाई अनैतिक वा अवैध यौन व्यवहारमा फसाएर आर्थिक लाभ लिनको लागि यसको प्रयोग भएको पाइन्छ ।

अनुचित लाभ लिनको लागि कसैले सामाजिक सञ्जालको माध्यमले कुनै व्यक्तिको गोप्य रुपमा सम्पूर्ण जानकारी संकलन गर्दछन् । संकलन गरेको जानकारी अनुरुप कस्तो व्यक्तिलाई जालमा फसाउने भनेर अनौपचारिक योजना बनाउँछन् । विशेष गरी बढी सम्पन्न भई आर्थिक रुपमा बलियो भएका र पारिवारिक बन्धनमा परेका विवाहित व्यक्तिहरु उनीहरुको छनोटमा पर्दछन् । यी कार्य गर्नको लागि केवल एकमात्र व्यक्ति नभई एकै संगठनमा विभिन्न थरीका व्यक्तिहरुको मिलेमतो रहेको पाइन्छ ।

भित्रीरुपमा काम गर्नको लागि जे-जस्ता व्यक्तिहरु समावेश भए तापनि बाहिरीरुपमा देखा पर्ने व्यक्ति भने रुप/रंगमा निकै नै लोभ लाग्दा, मनमोहक नै हुन्छन् । ती संगठित व्यक्तिले परिचालन गरेको ‘हनी याने’ सुन्दर व्यक्तिले प्रारम्भमा सामाजिक सञ्जालकै माध्यमबाट उनीहरुको छनोटमा परेको अपरिचित व्यक्तिसँग साथी बनाउने ढोंग गर्दै साथीको नाताबाट सम्बन्ध अगाडि बढाउँछ ।

साथीको रुपमा अगाडि बढाएको सम्बन्धलाई बिस्तारै प्रेममा परिणत गर्दछ र सो प्रेम सम्बन्धलाई प्रगाढ बनाउने नाउँमा शारीरिक सम्बन्धको प्रलोभन देखाई बिस्तारै शारीरिक सम्बन्ध कायम राख्छ । तत्पश्चात् उक्त व्यक्ति ट्र्यापमा परेको छ भनी ढुक्क भएर उनीहरुबीच भएको नाटकी प्रेमको माध्यमबाट ट्र्यापमा पारेको व्यक्तिलाई ब्ल्याकमेल शुरु गर्दछन् र उनीहरुबीच भएको प्रेम सम्बन्ध अन्ततः आर्थिक कारोबारद्वारा समाप्त गर्दछन् ।

हनी ट्र्याप गर्ने व्यक्तिले आर्थिक कारोबारको विषयलाई अगाडि बढाउनको निमित्त आफ्नो पारिवारिक नातागोताका व्यक्ति हुन् भनी अन्य सदस्यलाई समावेश गरेर पैसाको सौदाबाजी गर्ने गर्दछन् । पैसाको सौदाबाजी गर्दा दुईजनाबीच भएको वार्तालाप, कतै होटल वा कहीँ बसेको भए त्यसको अडियो तथा भिडियो रेकर्ड गरी राखेको छ भन्दै तर्साउँछन् ।

यदि उनीहरुको मागबमोजिमको कार्य नगरेमा वा मागेको रकम नदिएमा प्रहरीमा जाने धम्की दिन्छन् । प्रहरीलाई सम्पूर्ण प्रमाणहरु पेस गरी जबरजस्ती करणीको मुद्दा लगाएर जीवनभर कारागारमा कुहाइदिने अनि पारिवारिक जीवनलाई समेत तहसनहस बनाइदिने भनी नकारात्मक परिणामहरुको धम्की दिन्छन् । त्यसैले छिट्टै निर्णय गरी पैसा दिनु भनी दबाब दिन्छन् । त्यसरी दबाबका साथै धाकधम्की आइसकेपछि ट्र्यापमा पर्ने व्यक्ति आफ्नो पारिवारिक जीवन बचाउन र आफ्नो नाजायज तथा गोप्य सम्बन्धबाट छुटकारा पाउनको निमित्त उनीहरुले बोलेबमोजिमको रकम तिर्न तयार भएको पाइन्छ ।

गएको साउनमा भक्तपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा एकजना महिलालाई १५ महिना १५ दिन कैद र पीडितलाई सुनसहित ९० लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो । उक्त मुद्दामा महिलाले आफू अविवाहित भएको भनी विवाह गर्ने नाटक गरेकी थिइन् । जबकि ती महिलाले पहिला नै चारवटा यस्तै नाटकीय विवाह गरिसकेको भनी उनका श्रीमानले पत्ता लगाएका रहेछन् । विवाहको समयमा केटाले २५ तोला सुन र करिब १५ लाख रुपियाँ खर्च पनि गरेका रहेछन् । विवाहपश्चात् ससुरा र बूढाको श्रीसम्पत्ति उनले आफ्नो बनाइछन् ।

त्यसपछि केही सम्पत्ति आफ्नो ऋण तिर्न भनी बेच्न लगाएर बाँकी रहेको रकम आफ्नो हातमा पारी उनी जापान गइछन् अनि श्रीमानलाई डिभोर्स गर्न दबाब दिइछिन् । त्यसपछि उनको श्रीमानले उनीविरुद्ध भक्तपुरमा ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता गराए । भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट ती महिला कसुरदार होइनन् भन्न नसकिने भन्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । यस अवस्थामा उनी त्यस आदेशलाई नमिलेको भनी विभिन्न तहको अदालत पुगे पनि सोही आदेश सदर भयो । त्यसपश्चात् उनी थुनामा नै बस्न बाध्य भएकी छन्।

आफू थुनाबाट बाहिर निस्कन नपाएपछि उनले आफूउपर मुद्दा दिई थुनाउने श्रीमानलाई उल्टै वैवाहिक बलात्कारको आरोप लगाई मुद्दा दायर गरेकी छिन्, जुन मुद्दा हालसम्म विचाराधीन अवस्थामा रहेको छ । त्यस्तै गरी, जिल्ला प्रहरी परिसर ललितपुरले यही गएको साउन महिनामा हनी ट्र्यापको उजुरीकै कारण ४ जना व्यक्तिहरु समातेको समाचार प्रकाशित गरेको थियो । जसमा एकजना केटीले फेसबुकमा आफ्नो नाम परिवर्तन गरी फ्रेन्ड रिक्वेस्ट पठाएर केटा साथीहरु बनाउँछिन् । म्यासेन्जरबाट कुराकानी गरी ती केटा साथीलाई होटल जानको लागि अनुरोध गर्छिन् । होटलमा लगेर सामान्य वार्तालापसमेत गर्छिन् । वार्तालापपछि बहाना बनाएर होटलबाट बाहिर निस्किन्छिन् ।

त्यसपछि ती महिलाले ‘हामी बीचको सबै कुरा दाजु/भाउजूलाई थाहा भएछ, अब उहाँहरुले भनेबमोजिम गर्नुस्’ भनी सो घटनामा अर्का व्यक्तिहरुलाई सामेल गराइन् । ती व्यक्तिहरुले पीडितले प्रयोग गर्ने नम्बरमा कल तथा म्यासेज गर्न थालेपछि पीडितले पैसाको रुपमा चेक दिन बाध्य भएका रहेछन् । ती महिलाले अन्य केटाहरुलाई यस्तै व्यवहार गरेको प्रहरी अनुसन्धानपछि खुल्न आएको छ । दुईजना पीडितले उक्त विषयमा जाहेरी दिइसकेपछि प्रहरीले आपराधिक लाभ (एक्सटर्सन) मुद्दामा ती महिलालाई कारबाही चलाएको छ।

वास्तवमा यस्ता प्रकृतिका घटना राजधानीमा मात्र नभई नेपालको विभिन्न जिल्लामा घटिरहेको पाइन्छ । माई रिपब्लिकाले गत वर्ष मंसिर २५ गते दाङ जिल्लामा भएको हनी ट्र्यापको बारेमा तीनजना व्यक्तिलाई प्रहरीले समातेको भन्ने खबर छापेको थियो । त्यस घटनामा महिलाले अपरिचित व्यक्तिसँग सम्बन्ध अगाडि बढाएर भारी रकम माग्न थालेकी थिइन् । घटनाको पीडितले पहिलोपटक १४ लाख रुपियाँ ती महिलालाई बुझाए तापनि निरन्तर डर र त्रास दिने कार्य भैरहेको रहेछ । उनको बारम्बारको मागलाई अनादर गर्दा मानसिक यातना दिन थालेपश्चात् निकै शंका लागेर पुरुषले महिलाविरुद्ध प्रहरीमा उजुरी गरेको पाइयो । त्यसै गरी नेपालगन्जमा एकजना व्यक्तिले १२ लाख दिइसकेपछि वकीलकै सहायता लिई कागज गरेर अब उप्रान्त कुनै किसिमको सम्बन्ध वा जबरजस्ती करणीको आरोप नलगाउने भनी लिखतसमेत बनाएको पाइयो ।

यसरी ठगी गर्न नहुने भनी मुलुकी अपराध संहिता २०७४ ले विभिन्न कानुनी प्रावधानहरुको व्यवस्था गरेको छ । जस्तै:- मुलुकी अपराध संहिता २०७४ दफा २५३ ले आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने भनेको छ । आपराधिक लाभ (एक्सटर्सन) भनेको कसैले कुनै व्यक्तिलाई निजको वा अरु कसैको कुनै क्षति पुर्‍याउने डर-त्रासमा पारी निजबाट बेइमानीपूर्वक आफ्नो वा अरु कसैको लागि कुनै लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले कुनै काम गराएमा वा निजलाई कुनै काम गर्नबाट रोकेमा आपराधिक लाभ लिएको भनिन्छ भनी सोही दफामा परिभाषित गरेको छ ।

दफा २५३(क) मा आपराधिक लाभ लिने नियतले कसैको ज्यान लिने, अंगभंग गर्ने वा गम्भीर चोट पुर्‍याउने डर वा त्रास देखाएमा सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था गरेको छ । २५३(ख) मा कसैको व्यवसायमा गैरकानुनी तरिकाले कुनै क्षति पुर्‍याउने वा चरित्रमा झुटो दोष लगाउने नियतले डर-त्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र तीस हजार रुपियाँसम्म जरिबाना र माथि उल्लिखित (क) र (ख) मा लेखिएबाहेक अन्य अवस्थामा आपराधिक लाभ लिएमा एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना भनी व्यवस्था गरेको छ ।

कानुनमा विभिन्न थरीका व्यवस्था भए तापनि हनी ट्र्याप गर्ने समूहहरु जताततै तीव्ररुपमा फैलिरहेको देखिन्छ । त्यसको कारण के हो भन्ने बारेमा कसैको ध्यान आकर्षण भएको देखिन्न । समस्याको किनारा लगाउनको लागि वास्तवमा हामी समस्याको जरासम्म पुग्नुपर्ने आवश्यकता हुन्छ । यस विषयमा पीडितहरुको मनोविज्ञान हेर्दा उनीहरु कानुनद्वारा नै पीडित भएको भन्ने बुझाइ रहेको पाइन्छ । किनभने बारम्बार सबैजसो पीडितलाई जबरजस्ती करणीजस्तो संवेदनशील मुद्दाको आरोप लगाइदिने भन्ने धम्की र सो विषयमा पीडितले उजुरी दिन जाँदा आपराधिक कार्य कुन पक्षबाट भयो भन्ने मानक सम्बन्धित कार्यालयबाट नगरी उल्टै आफैँलाई पक्रेर कारबाही गर्ने हो कि भन्ने त्रासका कारण पीडितहरु कानुनको दायरामा आउन नखोजेको पाइन्छ ।

त्यसकारण जाहेरी लिने निकायदेखि लिएर कानुनको परिपालन गराउने निकायहरुले कुनै पनि महिला/पुरुषमा भेदभाव नराखी सबै खाले व्यक्तिको गुनासोलाई लिएर कारबाहीको दायरालाई फराकिलो बनाएमा समाजमा समयसापक्ष भइरहने यस्ता किसिमका अपराधहरु नियन्त्रण गर्न सहज हुन सक्छ ।

(लेखिका शाह अधिवक्ता हुन ।)

प्रकाशित मिति : आश्विन १७, २०८० बुधबार  ७ : ०२ बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।