सुदूरपश्चिम । नेकपा एमाले सुदूरपश्चिमकाे प्रथम अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनमा केन्द्रले दबाब दिएकाे छ । आज (आइतबार)बाट शुरु भएको अधिवेशनमा तीन जनाले अध्यक्ष पदमा दाबेदारका रुपमा प्रस्तुत गरेका छन् । अहिलेका प्रदेश उपाध्यक्ष कमल तिमिल्सिना, सचिवालय सदस्यहरु कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहले अध्यक्ष पदमा दाबी गरेका हुन् ।
तर केन्द्रले भने चुनावी प्रतिस्पर्धा गर्दा पार्टी एक ढिक्का नरहेकाे सन्देश जाने भन्दै सर्वसहमतिकाे नाममा लाेकतन्त्रकै सुन्दर पक्ष निर्वाचनलाई बहिस्कार गर्ने प्रयास गरेकाे हाे । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार अधिवेशनले नेतृत्व चयनमा नयाँ सन्देश दिन सक्नुपर्ने बताए । प्रदेशमा सर्वसम्मत नेतृत्व चयन गर्न पार्टीका प्रतिनिधिलाई निर्देश नै गरे ।
नेतृत्वले गर्ने मूल्याङ्कन नमानेर आफ्नो आफै मूल्याङकन गर्ने प्रवृत्ति अनुपयुक्त भएको तर्क गर्दै अध्यक्ष ओलीले भने,“कुनै पूर्वाग्रह नराखी प्रदेशको नेतृत्व चयनमा खटिन पार्टीका नेतालाई आग्रह गर्छु ।” पार्टीकाविरुद्ध चौतर्फी हमला भइरहेकाले त्यसलाई पराजित गर्न दृढताका साथ नेता तथा कार्यकर्ताले काम गर्नुपर्नेमा जोड दिँदै उनले सभ्य, सालिन र शान्तिपूर्ण समाज निर्माणका लागि योगदान गर्न आह्वान गरे ।
महासचिव शङ्कर पोखरेलले एमालेलाई पहिलो राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्दै ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ पार्टीका सबै सदस्य लाग्नुपर्ने बताए । पार्टीका सचिवद्वय लेखराज भट्ट र छविलाल विश्वकर्मा,संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले पार्टी शुद्धीकरण एवं सुदृढीकरणमा आम कार्यकता एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया