काठमाडौँ । काठमाडौँ महानगरपालिकाले असोज २३ गते मंगलबारबाट सामुदायिक कुकुर र बिरालालाई बन्ध्याकरण तथा रेविज विरुद्धको खोप दिने कार्यक्रम सुरु गर्ने भएकाे छ । पहिलो चरणमा वडा नं. ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ गरी ९ वटा वडामा कार्यक्रम सञ्चालन गर्ने महानगरपालिकाले जनाएकाे छ ।
कार्यक्रमका लागि गएको भदौ २७ को सार्वजनिक सूचनाबाट आएका संघसंस्थामध्ये ९ वटा छानिएका छन् । छानिएका संघसंस्था हरेकलाई उनीहरुले छानेको एउटा वडा जिम्मा दिइएको छ । जसमा वडा ४ मा ‘पशुपंक्षीप्रति निर्दयता रोकावट समाज, नेपाल’, वडा ७ मा ‘काठमाडौँ एनिमल ट्रिटमेन्ट सेन्टर (क्याट सेन्टर)‘, वडा ९ मा ‘बत्तीसपुतली युवा, समाज’, वडा ११ मा ‘अक्सा नेपाल’, वडा १४ मा ‘एनिमल नेपाल’, वडा १५ मा ‘नेपाल जुनोसिस एण्ड फुड हाइजिन रिसर्च सेन्टर’, वडा २५ मा ‘स्नेहाज केयर’ले काम गर्नेछन् ।
काठमाडाैं महानगरकाे कृषि तथा पशुपंक्षी विभागका प्रमुख डा. अवधेश झाकाअनुसार, वडा ३१ मा ‘भेट फर योर पेट’ र वडा ३२ मा ‘मण्डला भेट हस्पिटल’ले काम गर्नेछन् । डा. झाले कार्यक्रमको लक्ष्यका बारेमा जानकारी दिँदै भनिन्, ‘३ महिनामा ५ हजार ८ सय सामुदायिक कुकुर र बिरालाको बन्ध्याकरण गर्ने र १६ हजारलाई भ्याक्सिन दिने लक्ष्य छ ।’ कार्यक्रममा यस अघि बन्ध्याकरण गरिएकालाई खोप दिएनेछ । यसरी सेवा दिने संघ संस्थाले एउटालाई बन्ध्याकरण गरेर खोप दिएवापत २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । खोप मात्र दिएकोमा २ सय रुपैयाँ प्राप्त गर्नेछन् ।
छानिएका संघसंस्थाले जनप्रतिनिधि वा वडाबाट खटिएका कर्मचारीको रोहवरमा सामुदायिक कुकुर र विराला समाउनेछन् । यसरी समातिएका कुकुर बिरालाको विवरण भएको फाराम भर्नेछन् । त्यसपछि बन्ध्याकरण गर्ने ठाउँमा लैजानेछन् । बन्ध्याकरणमा त्यसको उपचारसँग सम्बन्धित फाराम भरिनेछ । त्यसपछि आराम गराएपछि ती कुकुर बिरालालाई उनीहरु बसोबास गर्ने गरेको ठाउँमा लगेर छोडिनेछ । यस क्रममा पनि फाराम भरिनेछ ।
फारामहरुमा वडाबाट शिफारिस गर्ने, प्रमाणित गर्ने, उपचारका सम्लग्न चिकित्सकसहितको हस्ताक्षर हुनेछ । खोप पाएको वा बन्ध्याकरण गरिएकाहरुको कानमा संकेत (एअर नोच) चिन्ह हुनेछ । यसरी काम गर्नेहरुले वडामा भएका सबै सामुदायिक कुकुर र बिरालाको खोप र बन्ध्याकरण सकिएको वडाबाट सिफारिस भएपछि अर्को वडाको जिम्मेवारी दिइने महानगरपालिकाले जनाएकाे छ ।
काठमाडौँ महानगरपालिकाले २०८० सालमा कुकुर/बिराला बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेखन कार्यविधि जारी गरेको छ । यस पटकको सूचनाबाट १३ वटा संघसंस्थाले सहकार्यका लागि आवेदन दिएकाे महानगरपालिकाले जनाएकाे छ । जसमध्ये ७० भन्दा माथि अङ्क प्राप्त गर्ने ९ वटा छनोट संस्था छनाैट भएका छन् ।
काठमाडाैंमा सडक कुकुरहरुकाे संख्या बढेसँगै त्यसकाे समाधानका लागि महानगरपालिकाले यस्ताे याेजना ल्याएकाे हाे ।




















प्रतिक्रिया