काठमाडौं । नयाँ संविधान जारी भएपछि दोस्रो पटक २०७९ मंसिरमा सम्पन्न आमनिर्वाचनबाट पुराना दलहरूलाई आश्चर्य चकित पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय भयो । स्थापित दलका ‘हेभिवेट’हरूलाई पाखा लगाउँदै प्रत्यक्षमा सात र समानुपातिकमा १३ गरी २० सिटसहित रास्वपा प्रतिनिधिसभाको चौथो ठूला दल बन्यो, जुन दशकौंदेखि राजनीति गरेर पटक–पटक सत्ताको बागडोर सम्हालिसकेका पुराना दलहरूका लागि अपत्यारिलो थियो । वैशाख १० मा भएको उपनिर्वाचन पनि रास्वपाकै लागि फलदायी बन्यो । उसले गुमाइसकेको चितवन–२ फर्काउन र तनहुँ–१ बाट अर्को सिट थप्न सफल भयो ।
रास्वपाकै शैलीमा उदाएको अर्को नयाँ दल हो– डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टी । प्रत्यक्षमा एक र समानुपातिकतर्फ पाँच गरी ६ सिटसहित जनमत राष्ट्रिय दलकै रुपमा दर्ज भयो, जुन पुराना तथा स्थापित भनाउँदा दलहरूका लागि कल्पना बाहिरकै विषय थियो । तराई क्षेत्रबाटै नागरिक उन्मुक्ति पार्टीले पनि प्रतिनिधिसभामा तीन सिट जित्यो । जनमत र नागरिक उन्मुक्तिका प्रदेशमा पनि केही सांसद छन् ।
संघ तथा प्रदेश निर्वाचनअघि ०७९ वैशाखमा भएको स्थानीय निर्वाचनले नै पुराना दलहरूलाई ‘सुध्रिने वा सकिने’ चेतावनी दिइसकेको थियो । स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको जित र संघमा नयाँ दलहरूको उदयबाट झस्किएका पुराना दलहरू आगामी निर्वाचनसम्म नै ढुक्क हुने छैनन् । नेताहरूले सडकदेखि सदनसम्म दिने विभिन्न अभिव्यक्तिबाट यो त्रास झल्किरहेको देखिन्छ ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ दलहरूलाई परिवर्तन विरोधीको संज्ञा दिँदै उनीहरूविरुद्ध आफूहरू एकै ठाउँमा उभिने बताएका छन् । कोजाग्रत पूर्णिमा (कार्तिक ११ गते) को दिन सत्ता साझेदार नेपाली कांग्रेसको चियापान कार्यक्रमा पुगेर उनले पुराना र प्रमुख दलहरूमाथि प्रश्न उठाउने दलको इतिहास, विचार र राजनीतिक संघर्ष केही नभएको टिप्पणी गरे ।
स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको जित र संघमा नयाँ दलहरूको उदयबाट झस्किएका पुराना दलहरू आगामी निर्वाचनसम्म नै ढुक्क हुने छैनन् । नेताहरूले सडकदेखि सदनसम्म दिने विभिन्न अभिव्यक्तिबाट यो त्रास झल्किरहेको देखिन्छ ।
‘जसले प्रश्न उठाएको छ जसको इतिहास, विचार राजनीतिक मुद्दा, संघर्ष र संस्कार देख्दिनँ । त्यो राष्ट्र जनता लोकतन्त्र र शान्तिको हितमा उठेको देख्दिनँ । त्यो अराजकता सृष्टि गर्ने उद्देश्यको साथ उठेको लाग्छ’, प्रचण्डले भने, ‘तपाईँहरूले हेर्नुभयो भने यो बीचमा मेरो दौडधुप छिट्टै प्रमुख राजनीतिक दल एकै ठाउँमा उभिएर त्यसको जवाफ दिने हिसाबले तयारी भइरहेको छ । समय आएपछि तपाईँहरूले थाहा पाउनुहुन्छ । पुराना दल र नेताले जवाफ दिने समय आउँदैछ ।’
कांग्रेसको चियापान कार्यक्रममै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि उही भावको जवाफ सञ्चारकर्मीहरूलाई दिए । उनले पनि आफूहरूमाथि प्रश्न उठाउने कोसिस भएको तर त्यसको जवाफ सही समय आएपछि यथोचित ढंगले दिने बताए । उनले भने, ‘हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोसिस गरिएको छ, यसको जवाफ यथासमयमा यथोचित ढङ्गले दिइनेछ ।’ चियापान कार्यक्रममा प्रमुख पुराना तीन दलका नेताहरूको एक स्वर सुनियो । कांग्रेस सभापति देउवाले पनि आफूहरूमाथि भएको आलोचनालाई सकारात्मक रुपमा लिएको बताए ।
बाहिरका सार्वजनिक कार्यक्रममा मात्र नभई सदनमा पनि नयाँ–पुराना दलबीच घोचपेच हुँदै आएको छ । आज (बिहीबार) बसेको चालु अधिवेशनको अन्तिम बैठकमा पनि यसलाई नेताहरूले निरन्तरता दिए । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले नयाँ दलहरूप्रति लक्षित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र नेपालको संविधान २०७२ ल्याउने दलहरू बेठीक भन्ने भाष्य निर्माण गर्न खोजिएको बताए । उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका विरुद्धमा यदाकदा प्रायोजित रुपमा आवाजहरू उठाइने गरेको छ । यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरु बेठीक हुन् भन्ने राजनीतिक भाष्य निर्माण गर्न खोजिँदैछ ।’
गएको आमनिर्वाचनमा चौथो ठूलो दल बन्नु रास्वपा स्वयंकै लागि असामान्य जस्तै थियो । अपेक्षाभन्दा राम्रो सफलता हात पारेर हौसिएको रास्वपा आगामी निर्वाचनका लागि थप उत्साहित छ ।
संविधान असफल बनाउने छुट कसैलाई नरहेको भन्दै प्रमुख सचेतक लेखकले संविधान निर्माण गर्नेहरू एक ठाउँमा उभिन जरुरी रहेको बताए । पुराना दलहरूको बचाउ गर्दै उनले भने, ‘यदि यो संविधान असफल भयो भने मुलुक ठीक ठाउँमा पुग्दैन । त्यसो भएकाले पनि यो संविधान निर्माण गर्नेहरू एक ठाउँमा उभिन जरुरी छ ।’
गएको आमनिर्वाचनमा चौथो ठूलो दल बन्नु रास्वपा स्वयंकै लागि असामान्य जस्तै थियो । अपेक्षाभन्दा राम्रो सफलता हात पारेर हौसिएको रास्वपा आगामी निर्वाचनका लागि थप उत्साहित छ । सभापति रवि लामिछाने २०८४ मा कुनै पनि दललाई एक सिट पनि जित्न नदिने दाबी गर्छन् । ‘अब ठूलो स्वर गर्ने, दबाब दिने होइन, २०८४ मा एकैपटक बाइबाइ गर्ने, एउटा सिट पनि नदिने’, कांग्रेसको चियापानकै दिन ललितपुरमा आयोजित एक कार्यक्रममा उनले भने, ‘एक–दुई सिट दिनुपर्छ, पुराना पार्टी हुन् भन्ने लाग्छ भने के तपाईं थप वाइडबडीमा भ्रष्टाचार भएको हेर्न चाहनुहुन्छ ? नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेचेको अझै हेर्न चाहनुहुन्छ ?’
आज (बिहीबार)को संसद बैठकमा पनि लामिछानेले पुराना दलहरूमाथि आक्रोशित हुँदै प्रश्न गरे । नयाँ दालका कारण व्यवस्था खतरामा परेको भन्ने पुराना दलहरूको आरोपको प्रतिवाद गर्दै उनले भने, ‘मलाई चिन्ता लागेको छ, यो व्यवस्था बा ! तपाईंहरूबाटै खतरामा पर्ने त होइन ? आफूप्रतिको असन्तुष्टि लुकाउन व्यवस्था नै खतरामा परेको र त्यसको जवाफ एक भएर दिने भन्नेसमेत अभिव्यक्ति सुनिन थालिएको छ । तर, जवाफ दिनेचाहिँ कसलाई हो ? नागरिक हो ? अनि जवाफचाहिँ के भनेर दिने ? सकेनौँ भनेर ? कि बाँडिचुँडी खाँदै गर्छौँ भनेर जवाफ दिने ?’
रास्वपासँगै स्थापित अर्को नयाँ दल जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले पनि आफूहरूका कारण नभई पुराना भनिएका दलहरूकै कारण व्यवस्थामाथि प्रश्न उठेकाे बताए । बिहीबारकै संसद्मा उनले भने, ‘यो संसद्मा लोकतन्त्र कहाँ छ ? ३४ वर्षदेखि लोकतन्त्रका ठेकेदारका रुपमा आफूलाई चित्रित गर्नुहुन्छ । तर संसदमा कुन विधेयक, कुन संशाेधन कसरी पारित गर्ने, नगर्ने तीन जना नेताहरू अँध्यारो कोठमा बसेर निर्णय गर्नुहुन्छ । अति तीन जना नेताहरू सार्वभौसत्तासम्पन्न भए कि यो संसद् ? यस्तै संसद् चल्ने हो भने यो व्यवस्थामाथि प्रश्न उठाउने प्रशस्तै आधार छन् ।’
नयाँहरूसँग पुराना झस्किएका मात्र नभई, पुरानासँग नयाँ भनिएकाहरू पनि ढुक्क देखिँदैनन् । आगामी निर्वाचन आउन ४ वर्षभन्दा बढी समय बाँकी छ, तर पुराना–नयाँ दलहरू एकअर्काको त्रासका कारण अहिले देखि नै ०८४ को चिन्तामा छन् ।
अध्यक्ष राउतले वर्षौंदेखि देशलाई भड्खालोमा हाल्नेहरूले आफ्नो गल्तीको समीक्षा नगरी नयाँ दलहरूमाथि आरोप र आक्रोश पोख्ने गरेको बताए । पुराना दलका शीर्ष नेताहरूमाथि आक्रोश पोख्दै उनले भने, ‘हामी आफूभित्र हेरिरहेका छैनौं । ३४ वर्षदेखि देशलाई कहाँ पुरर्यासक्यौं ? तर नयाँ उदियमान शक्तिहरूमाथि लक्षित गछौं, चियापन समारहेमा बोलाउँछाैं/पुग्छाै र भन्छौं– यी नयाँहरूलाई मिलेर हामी भष्म पारिदिन्छौं, ध्वस्त पारिदिन्छौं । आफूभित्र समीक्षा गर्न सक्नुहुन्न अनि नयाँहहरूप्रतिको यो कस्तो आक्रोश हो ?’
नयाँहरूसँग पुराना झस्किएका मात्र नभई, पुरानासँग नयाँ भनिएकाहरू पनि ढुक्क देखिँदैनन् । आगामी निर्वाचन आउन ४ वर्षभन्दा बढी समय बाँकी छ, तर पुराना–नयाँ दलहरू एकअर्काको त्रासका कारण अहिले देखि नै ०८४ को चिन्तामा छन् । कांग्रेस, माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादीलगायतले परोक्ष रुपमा निर्वाचनलक्षित कार्यक्रमहरू आयाेजना गरिरहँदा संगठन विस्तारकै क्रममा रहेको रास्वपा पनि पूराना दलसँग त्रसित नै देखिन्छ ।
रास्वपाको त्रासयुक्त चिन्ता हिजो (बुधबार) बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति लामिछानेले दर्शाए । निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलका क्रममा उनले निर्वाचनका बेला राजनीतिक दलहरूबीच गठबन्धन नै गर्न नमिल्ने कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । ‘चुनावपछि सरकार बनाउन दलहरूबीच गठबन्धन हुनु सामान्य कुरा हो’, बैठकमा उनले भने, ‘तर चुनाव जित्नकै लागि गठबन्धन बनाउने कुरा त राजनीतिक कार्टेलिङ भयो । एउटा दलको व्यक्तिले अर्को दलको चुनाव चिन्ह लिएर समेत चुनाव लडेको छ । अबको चुनावमा गठबन्धन बनाएर चुनाव लड्न नपाउने कानुनी व्यवस्था गर्न आवश्यक छ ।’




















प्रतिक्रिया