Logo

धर्म / संस्कृति

कस्ताे छ त भाइटीकाको विधि ?



काठमाडौं । भाइटीकाकाे अघिल्लो दिन नै दिदीबहिनीहरुले दाजुभाइलाई पान–सुपारी आदि दिएर भाइटीकाको निम्तो दिन्छन् । दिदीबहिनी र दाजुभाइ मिलेर पूजा सामग्री तयार गर्छन् । पूजा सामग्रीमा कलश, दियो, गणेश, ओखर, तोरीको तेल, बिमिरो, फूलमाला, दूबो, लावा, आदि तयार गरिन्छ ।

त्यसपछि भाइटीका लगाउन सुरु गर्नुअघि केही विधिहरु पूरा गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश, गणेशसँगै बिमिरोलाई राखेर दिदीबहिनीहरुले पूजा गर्नुपर्छ । मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभिषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना, धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको पूजा गर्छन् । त्यसपछि दाजुभाइको चिरञ्जिवी र मंगल कामना गर्दै घरको ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्ने चलन छ ।

दाजुभाइ टीका लगाउन बसेको आसन वरिपरि पानी र तेलको सात घेराले छेकेर दाजुभाइलाई फूल, अक्षता आदिले पूजा गर्ने, कपालमा तेल लगाइदिने आदि गरिन्छ । त्यसपछि टीका लगाइदिन सुरु हुन्छ । हिन्दू धर्मशास्त्रमा टीका लगाइदिँदा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रंगको प्रयोग गर्नुपर्ने उल्लेख छ । यद्यपि नेपालका विभिन्न स्थानमा सातवटा रंगको टीका लगादिने चलन छ । टीका लगाइदिइसकेपछि मखमली, सयपत्री, गोदावरीलगायतका फूलको वा दुबोका माला लगाइदिने गरिन्छ । तिहारमा मखमली, दूबो र सयपत्री मालाको विशेष महत्व छ । मखमली कहिल्यै नओइलाउने, दूबो सधैं हरियो रहिरहने र सयपत्रीको रंग कहिल्यै नउड्ने भएकाले भाइटीकामा तिनै मालाको प्रयोग गर्ने चलन छ ।

दिदीबहिनीहरुले दाजुभाइलाई टीका लगाइदिइसकेपछि दाजुभाइले दिदीबहिनीहरुलाई टीका लगाइदिनुपर्छ र दक्षिणा, उपहार आदि साटासाट गरिन्छ । त्यसपछि दिदीबहिनीहरुले सँघारमा ओखर फुटाउने चलन छ । ओखर फुटेजस्तै शत्रुहरु पनि टुक्रा–टुक्रा भएर नास हुने विश्वास छ ।

भाइटीका लगाउने विधि र परम्परा नेपालका विभिन्न स्थान र जातजातिमा फरक–फरक छ । भाइटीकाले दिदीबहिनी र दाजुभाइबीचकाे आत्मिय सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास गरिन्छ ।

भाइटीका तिहारकाे मुख्य दिन भएकाले दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँन्छ । यसपटककाे भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहे पनि दिनभरी नै टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

 

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार ०७:४७   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।