Logo

विचार / ब्लग

सरकार ! युवाहरू किन भर्दैछन् ‘निराशाको उडान’ ?



नेपालमा अहिले गृहयुद्ध पनि छैन। न त कुनै महामारी नै फैलिएको छ। न कुनै द्वन्द्व नै छ तर पनि विमानस्थलमा विदेश जाने नेपाली युवाहरुको चाप थेगिनसक्नु छ। जहाज कम्पनीहरुले पनि यिनै विदेश पलायन हुने युवाहरुका कारण आफ्नो व्यवसाय सञ्चालन गरिरहेको जस्तो लाग्छ। यस्तो लाग्छ, नेपालबाट युवाहरु प्यालेस्टाइन र इजरायलको युद्धको डरमा ठाउँ छाड्न खोजिरहेका मानिसहरुजस्तै देश छाड्न खोजिरहेका छन्।

देशमै भएकाहरु पनि कोही व्यवस्था बिरोधी नारा लगाएर आन्दोलन गर्न व्यस्त छन् भने कोही अहिलेका राजनीतिक दलहरुको विकल्प खोज्नुपर्ने भन्दै राजनीतिक आन्दोलनकै लागि नागरिकहरुलाई झकझक्याइरहेका छन्। यो पंक्तिकारले केही यस्ता पक्षहरु देखेको छ, जसका कारण युवाहरु विदेश पलायन हुन खोजिरहेका छन्।

शिक्षा

अहिलेसम्म सबैभन्दा धेरै शिक्षाको असमानताका कारण नेपाली विद्यार्थीहरु विदेशिन बाध्य भएका छन्। धेरै नेपालीसँग पैसा छ तर आफूले सोचेजस्तो पढ्ने ठाउँ छैन। पढे पनि पढेअनुसारको काम गर्ने वातावरण छैन। अवसरहरु निर्माण गर्न प्रोत्साहन गर्ने प्रशासनिक र राजनीतिक संयन्त्र नेपालमा छैन। बरु निरुत्साहित गर्ने परिपाटी बढ्दो छ। उदाहरणको रुपमा कुनै व्यवसायीले व्यवसाय गर्न थाल्यो भने उसले राजनीतिक दलसँग सम्बन्ध बनाउनै पर्छ। राजनीतिक दलहरुलाई सहयोग गर्नैपर्छ। उद्यमशीलता सुरु ग¥यो भने प्रशासनिक क्षेत्रदेखि बैंकिङ क्षेत्रबाट सजिलै सहयोग पाउँदैन्। त्यसका लागि पनि राजनीतिक दलको ‘पगरी’ समात्नु पर्छ। अन्यथा उसको व्यवसायमा राजनीतिक दलका संगठनहरुको ताला लाग्छ। वैकल्पिक राजनीतिको चर्चा भएसँगै पछिल्लो समय ताला लगाउने परिपाटी अलि कमजोर हुँदै गएको हो कि भन्नेसम्म महसुस गर्न सकिन्छ।

नेपालका शिक्षाविदहरु नेपाललाई विश्वको शिक्षाको हब बनाउन सकिने तर्क गर्छन्। तर नेपालकै शिक्षा क्षेत्र निजी, गैरसरकारी र सरकारी गरेर वर्गका आधारमा विभाजित छ। अझ भनौं अस्तव्यस्त छ। धनीले निजी रोज्ने, मध्यम क्षमता भएकाले गैर–सरकारी रोज्ने र गरिबले सरकारी विद्यालयमा पढाउने परिपाटी नेपालमा बढ्दै छ। अचम्म चाहिँ के छ भने सरकारले लगानी गरेका विद्यालयहरुप्रति नागरिकहरु र विद्यार्थीहरु पनि निरुत्साहित देखिन्छन्।

सरकारले निशुःल्क शिक्षा दिएर देशमा आवश्यक जनशक्ति उत्पादन गरेर उनीहरुलाई काममा लगाउन सके मात्रै देशको विकास द्रुत गतिमा हुन्छ। तर यहाँ आफ्नै बलबुतामा पढेर क्षमता बनाएकाले पनि अवसर नै पाउँदैनन्।

अन्य क्षेत्रको तुलनामा सरकारको शिक्षा क्षेत्रमा लगानी कम छ। शिक्षण पेशामै निराशा रहेको छ। अब्बल विद्यार्थीहरु शिक्षक बन्नै चाहँदैनन्। सरकारी लगानी नै कम भए पछि सक्षम जनशक्ति शिक्षक बन्न नचाहनु सामान्य नै हो। सक्षम जनशक्ति शिक्षक नहुँदा शिक्षाको समग्र अवस्था दयनिय हुँदैछ। अहिले नेपालकै सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय पनि विद्यार्थी नभएर धेरै संकायहरु बन्द गर्ने अवस्थामा पुगेको छ। नेपालका युवाहरु त्यसको विकल्पमा विदेशमै पढ्न गइरहेका छन्। विद्यार्थीहरु आफूले पढेको विषयमा सहजै अवसर पाउने देखेर धमाधम विदेशिएको प्रष्ट देखिन्छ। विद्यार्थीका माध्यमबाट करोडौं रुपैयाँ शिक्षाको लागि विदेशिरहेको छ। साथै बौद्धिक पलायनको समस्या पनि उत्तिकै छ।

अर्को पाटो, शिक्षा लिएकाहरुले पनि लिएको शिक्षाको सदुपयोग गर्न पाएका छैनन्। शिक्षा लिने तर लिएको शिक्षाको आधारमा रोजगारी नमिल्ने भएका कारण सामान्य गुजारा टार्न समेत नेपालीहरु विदेशिएका छन्। नेपालको शिक्षा र रोजगारबीच पनि यहाँ असमानता देखिन्छ। सरकारले निशुःल्क शिक्षा दिएर देशमा आवश्यक जनशक्ति उत्पादन गरेर उनीहरुलाई काममा लगाउन सके मात्रै देशको विकास द्रुत गतिमा हुन्छ। तर यहाँ आफ्नै बलबुतामा पढेर क्षमता बनाएकाले पनि अवसर नै पाउँदैनन्। त्यसको विकल्पमा राजनीतिक दलमा कसको पहुँच छ, उसैले अवसर पाउने गरेका छन्।

स्वास्थ्य सेवा

नागरिकलाई नभइनहुने अर्को महत्वपूर्ण पक्ष भनेको स्वस्थ्य सेवा हो। हामी सबैले देखेकै छौं, राजनीतिक दलका नेताहरु (राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, प्रदेश तहका र स्थानीय तहका जनप्रतिनिधि), उच्च पदमा बसेका पदाधिकारी तथा कर्मचारीहरु बिरामी हुँदा प्रायः विदेशमा उपचार गर्न जान्छन्। नेता र कर्मचारीलाई नै देशको स्वास्थ्य सेवामा विश्वास छैन भने आम नागरिकले स्वास्थ्य सेवा सहज र सरल तरिकाले कसरी लिन सक्छन् होला त ?

नेपालमा सरकारी स्वस्थ्य सेवा एकदम कमजोर रहेको यहीँबाटै प्रष्ट हुन्छ। नेपालमा प¥याप्त डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरु नै कम रहेको अवस्था छ। तर यस्तो अवस्थामा पनि डाक्टर, नर्सहरु देशमै रोक्ने कुनै सरकारी नीति छैन्। अर्को पक्ष सरकारी भन्दा निजी स्वास्थ्य संस्थाहरु धेरै छन्। स्वभावैले निजी स्वास्थ्य संस्थाले सेवा भन्दा नाफामा ध्यान दिएका हुन्छन् । सामान्य नागरिकले त्यस्ता स्वास्थ्य संस्थाहरुमा उपचार गराउन सम्भव नै हुँदैन्। स्वास्थ्य सेवा त नागरिकले निशुःल्क पाए भने मात्रै पनि देशमा बस्न चाहनेहरु बढ्नेछन्।

सुरक्षा

नेपालमा हरेक क्षेत्रमा सुरक्षा चुनौती छ। प्रहरी प्रशासन विधिभन्दा पनि शक्तिका पुजारी बन्ने गरेका छन्। एउटै कसुरुमा एक गरिब नागरिक र एक उच्च पदमा बसेको राजनीतिक कर्मीलाई प्रहरीले गर्ने व्यवहार फरक हुने गरेको छ। महिला, दलित , कमजोर वर्गको सुरक्षा त यहाँ सपनाको कुरा हो। यो तहका नागरिकहरु त नेता, सरकारी कर्मचारी र पहुँचवालासँग सधैँ डराएर बस्नुपर्ने वा उनीहरुले भनेको मान्नुपर्ने अवस्थामा छन्।

कुटपिट, लुटपाट, जबर्जस्ती करणी, हत्या, बोक्सी, दुव्र्यवहारजस्ता घटनाहरु मिलापत्रमा टुंग्याउने र पीडितले कहिल्यै न्याय नपाउने अवस्था धेरै देखिन्छ। अदालतमा न्याय लिन समान्य नागरिकले सक्दैनन् किनकी नेपालको अदालती प्रक्रिया लामो, झन्झटिलो र खर्चिलो छ। पैसा नभएकाहरुले न्यायका लागि अदालतबाट कानुनी लडाईँ लड्नै सक्दैनन्। देशका सबै ठाउँमा प्रहरी सुरक्षाको कमी छ। कतिपय नेपालका गाउँ भागमा प्रहरीको कार्यालयसमेत छैन। शहरी क्षेत्रमा र नेताहरुको सुरक्षामा मात्रै प्रहरीको तैनाथ धेरै भएको देखिन्छ। अदालत मार्फत सजाय पाएका व्यक्तिहरु पनि राजनीतिक दलको नजिक भएका कारण उन्मुक्ति पाउँछन्।

कामलाई ठूलो र सानो ठान्ने संस्कृतिको विकास हुनु पनि यहाँको अर्को समस्या हो।

यहाँ अहिलेका राजनीतिक दलले सबैलाई बिचौलिया हुन सिकाएका छन्। सरकारी कर्मचारी, डाक्टर, शिक्षकलगायत पेशाकर्मीभित्र राजनीतिक आस्थाअनुसारका संगठन निर्माण गरिएको छ, जसले राजनीतिक र प्रशासनिक काममा बिचौलियाको काम गरिरहेका हुन्छन्। सरकारी सेवा लिन जाँदा होस् वा निर्धक्क आफ्नो काम गर्न होस्, नागरिकलाई उनीहरुले नै सुरक्षा चुनौती थपिदिएका छन्। पैसा कमाएर धनी हुने र सुरक्षित बन्ने सोचमा नेपाली युवाहरु विदेशिएका पक्कै हुन्।

कामको दाममा विविधता

काम अनुसारको भुक्तानी नमिल्नु यहाँ युवा नबस्नुको अर्को मुख्य समस्या हो। विकसित देशहरुमा काम लगाएपछि घण्टामै पारिश्रमिक दिनुपर्ने रहेछ भने त्यही अनुसार भुक्तानी हुन्छ। त्यहाँ कानुन ठूलो हुन्छ। एउटै कामको महिला र पुरुपलाई उति नै भुक्तानी हुन्छ। तर नेपालमा महिला र पुरुषलाई दिइने पारिश्रमिकमा नै विभेद छ। समयमा पारिश्रमिक नपाउने समस्याको अवस्था त्यस्तै छ। रोजगारी दिने विभिन्न संस्था तथा कम्पनीले पारिश्रमिक ‘आपसी समझदारीमा मिलाउने’ भनेर रोजगारीको लागि आवेदन खुलाउँछन। त्यसरी त पारिश्रमिक जति दिए पनि भयो नि ! एउटै काममा महिलालाई कम र पुरुषलाई बढी भुक्तानी दिने गरिन्छ। कामअनुसारको भुक्तानीको कुनै नियम छैन्। पहिला त रोजगारी नै पाइँदैन। पाइहालियो भने पनि एउटै काममा दिने भुक्तानीको रेटमा कम्पनीहरुबीच आकाश र पातलजस्तो फरक हुन्छ।

कामलाई ठूलो र सानो ठान्ने संस्कृतिको विकास हुनु पनि यहाँको अर्को समस्या हो। कुनै जागिर गर्न थालेपछि त्यसको सुरक्षा चुनौती उत्तिकै हुन्छ। जागिर खानेहरुले पाउने तलब तथा सुविधा नियम/कानुनद्वारा बाँधिनुपर्ने हो। तर नेपालमा ‘तलब आपसी समझदारीमा मिलाइनेछ’ भनेर कर्मचारी भर्ना गर्ने चलन छ। सरकार यस्तो विषय नियमन गर्न असफल छ। महंगीअनुसार जागिरबाट प्राप्त हुने आम्दानीले धेरैको रोजीरोटी चल्न मुश्कील हुन्छ। त्यसको विकल्पका रुपमा पनि विदेश पलायन धेरै बढेको देखिन्छ।

भ्रष्ट्राचार

देशमा नीति नियम नभएको भने होइन। तर त्यसको कार्यान्वयन एकदम फितलो छ। नीति नियमको पालना गराउन बसेकाहरु नै केही बढी लाभको लागि नियमको उलंङ्घन गर्न तल्लिन हुन्छन। यस्तै कारण प्रायः सरकारी ठूला कारोबारहरुमा भ्रष्टाचार भएको तथ्यहरु बाहिरिने गरेको छ। यति, ओम्नी, बालुवाटार जग्गा काण्ड, सुन काण्ड केही उदाहरण हुन्। नीतिगत भ्रष्टाचारको चाँङ झन ठूलो छ। देशकै ठूला आयोजनाहरुको निर्माणमा राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रको मिलेमतो भएको प्रष्ट देखिन्छ।

डण्डहिनता

अपराध गरेकाहरुले राजनीतिक संरक्षणमा उन्मुक्ति पाउँदा दण्डहिनता बढेको छ। नेपालमा संविधान दिवसमा होस् वा लोकतन्त्र–गणतन्त्र दिवस, राजनीतिक दलहरुले अदालतको आदेश विपरीत पनि आफ्ना मान्छेहरुलाई अपराध गरेको कसुरबाट सजिलै उन्मुक्ति दिलाउने गरेका छन्। यसले समाजमा सुरक्षा चुनौती थपिएको प्रष्ट छ। रिगलको आम माफीको विषय होस् वा रेशम चौधरीको रिहाईको विषय, अदालतले सजाय तोकेका व्यक्तिहरुले सजिलै उन्मुक्ति पाउँदा युवाहरुलाई देशको कानुनले काम नगरेको बुझ्न गा¥हो भएन। त्यसकै कारण पनि युवाहरु देशबाट पलायन भइरहेका छन्।

यहाँ नियम कानुनभन्दा नातेदार र चिनजानका आधारमा काम हुन्छ। आस्थाको निकटताका आधारमा काम हुन्छ। सिधा भाषामा भन्दा सरकारको ठूलो हिस्सा भ्रष्ट छ। अझ तितो भाषामा भन्ने हो भने नेपालमा लुटेराहरुको शासन छ।

तर युवाहरुको विदेश पलायनको नकारात्मक असरहरु मात्रै छैन्। उनीहरुले देशमा पठाएको रेमिट्यान्स देशको प्रमुख आम्दानी बन्दा देशको विकासमा ठूलो योगदान पुगेको छ। कतिपयले त्यहाँबाट सिकेको सीप नेपालमा लागू गरेका छन्। तर तुलनात्मक रुपमा देशमा युवाहरुको खडेरी भइरहेको छ। हाम्रा जमिनहरु बाँझै भइसकेका छन्। उत्पादन गर्ने क्षमतामा ¥हास आइरहेको छ। आयातमुखी अर्थतन्त्रले हामीलाई परनिर्भर बनाइरहेको छ। अहिले गाउँ गाउँमा मलामीको समेत खडेरी परिसकेकोे छ। तर यस्ता विषयमा राजनीतिक दलहरुलाई चिन्ता छैन। न त सरकारले चिन्ता लिएर व्यवस्थापन गरिरहेको छ ! पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भनेजस्तो नेपाल ‘क्लेप्टोक्रेसी’ अर्थात चाकडीतन्त्रमा फसेको छ। यहाँ नियम कानुनभन्दा नातेदार र चिनजानका आधारमा काम हुन्छ। आस्थाको निकटताका आधारमा काम हुन्छ। सिधा भाषामा भन्दा सरकारको ठूलो हिस्सा भ्रष्ट छ। अझ तितो भाषामा भन्ने हो भने नेपालमा लुटेराहरुको शासन छ।

२१ औं शताब्दीमा नेपाली युवाहरुले पनि विश्वभरको नियम कानुन र त्यहाँ हुने आम्दानीको हिसाब किताब अध्ययन गरेका हुन्छन्। कतिपय युवाहरु भने छिटो समृद्ध हुन विदेशिएका छन्। युरोप, अमेरिकालगायतका देशहरुमा कमाएको पैसा नेपाली रुपैयाँमा ‘कन्भर्ट’ गर्दा धेरै हुने र चाँडै आफ्ना र परिवारका चाहनाहरु पूरा गर्ने सपनामा साथ विदेशिनेहरुको संख्या पनि नेपालमा धेरै छ। त्यस्ता युवाहरुलाई नेपालमै रोकेर यहीँ उद्यमशीलता गर्न प्रोत्साहन गर्न तीनै तहका सरकारहरु चुकेका छन्।

धेरै कवि, साहित्यकार तथा गीतकारहरुले नेपाल पृथ्वीमा ‘स्वर्गको टुक्रा हो’ भनेका थिए तर ती युवाहरुले किन नेपाललाई स्वर्गको टुक्रा नदेखेका होलान् ? वा, स्वर्गको टुक्रा भए पनि बाध्यताले उनीहरुलाई विदेश धकेलेको हो त ? माथिका विषयहरुले तपाईँहरुलाई पक्कै बुझ्न सहज नै बनायो होला। हिमाल, पहाड र तराईसमेत भएको नेपाल, प्राकृतिक रुपमा स्वर्गको टुक्रा होइन भन्ने बिरलै भेटिएलान्। तर नेपालभित्रकै राजनीतिक तथा प्रशासनिक गतिविधिले युवाहरु नेपाललाई कुनै पनि दृष्टिकोणबाट स्वर्गको टुक्रा देख्न सकिरहेका छैनन्। यहाँ भएका प्राकृतिक स्रोतसाधनको सही सदुपयोग गर्ने प्रशासनिक प्रणाली तथा संस्कार, संस्कृति, परराष्ट्र मामिला, नीति, नियमहरुलाई चुस्त दुरुस्त राख्न सक्ने राजनीतिक नेतृत्व भएको भए नेपाल स्वर्गको टुक्रा पक्कै बन्ने थियो। र अझै बनाउन सकिनेछ। तर त्यसका लागि तीनै युवाहरुको खाँचो छ। देश समृद्ध बनाउन उत्पादन बनाउनै पर्छ। नेपालमा गरेको उत्पादन विश्व बजारमा बेचेरै नेपाल धनी हुने हो। त्यसका लागि सक्रिय जनशक्ति नेपाललाई चाहिन्छ। अहिलेको नेपाली युवाहरुको संख्या नेपालका लागि ठूलो सम्पत्ति हो। उनीहरुलाई देशमै टिकाउन सकेमा नेपाल साँच्चै पृथ्वीमा ‘स्वर्गको टुक्रा’ बन्नेछ।

प्रकाशित मिति : मंसिर १३, २०८० बुधबार  ३ : १६ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।