Logo

अन्तर्वार्ता

२८ वर्ष चीनमा बसे पनि मन नेपालमै थियो, अब यतै लगानी गर्छु [अन्तर्वार्ता]



दिनेश खनाल चीनमा बसेको २८ वर्ष भयो। उनले चीन बसाइका क्रममा त्यहाँ रहेर उद्योगधन्दासमेत चलाए। नेपालका संभावनाको पहिचान चीनमा चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे। खनाल नेपाल-चीन कुटनीतिक मामिलाका जानकारसमेत हुन्। चीनमा ठूलो सम्भावना हुँदा-हुँदै पनि खनाल अब नेपाल फर्केर उद्यम गर्न चाहन्छन्। देश समृद्ध भएमात्र विश्वभर छरिएर रहेका नेपाली समृद्ध हुनसक्छौं भन्ने चेतनाका साथ उनी नेपाल फर्किएका हुन्। खनाल नेपालको औधोगिक क्षेत्रमा लगानी गर्न खोजिरहेका छन्। उनै खनालसँग अनलाइन पानाका लागि यज्ञराज जोशीले संवाद गरेका छन्।

२८ वर्ष चीन बस्दा नेपाल-चीनबीचको सम्बन्ध कस्तो पाउनु भयो?

सबै नेपालीमा आफ्नो देशको माया हुन्छ। नेपालमा मैले सम्भावना नै सम्भावना देखेको छु। हामी भरखर विकास क्रममा छौं। यो समयमा गर्नुपर्ने काम थुप्रै हुन्छन्। विकास निर्माणदेखि, कृषि, उत्पादन र देशको अर्थतन्त्रमाथि उकास्न हामीले गर्नुपर्ने काम थुप्रै छन्। नेपालमा रहेका थुप्रै सम्भावनालाई हामीले प्रयोग गर्न सकिरहेका छैनौं। म चीनमा धेरै बसेँ। यो बीचमा नेपाल आउनेजाने क्रम पनि चलि नै रह्यो। बेला-बेला नेपालबाट नेताहरूलाई लगेर त्यहाँका सम्भावना बारेमा पनि मैले जानकारी दिने गरेको छु। नेपालमा पनि चीनको जस्तो समृद्धि आओस् भन्ने हाम्रो चाहना रहेको छ। २८ वर्ष अगाडि हाइ स्कुलको अध्ययन सकेर मैले चीनमा विश्व विद्यालयको अध्ययन गरेको हुँ। विकासको क्रममा रहेको समयमा चीनमा बसेकाले पनि कसरी मुलुक समृद्ध हुन सक्छ भन्ने बुझेको छु। त्यहाँ यही बीचमा ठूला सहर बने, ठूला बाटा बने। बाटो हुँदाहुँदै ट्रेनहरू बने, ट्रेनहरू हुँदाहुँदै बुलेट ट्रेन बने। ठूला एयर्पोर्टहरू बने। अहिले चीन अन्तरिक्षमा समेत पुगिसकेको अवस्था छ। हाल विश्वको ठूलो अर्थतन्त्र भएको मुलुक हो चीन। यति नजिकको छिमेकी मुलुक नेपालको अवस्था भने दयनीय छ। नेपाल-चीन कूटनीतिक सम्बन्ध भएको ६८ वर्ष भइसक्यो। यो बीचमा राजा हुँदै हाम्रा जननिर्वाचित प्रधानमन्त्री चीन भ्रमणमा पुग्नु भएको छ। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको भेट पनि मावत्सेतुङ्गसँग भएको थियो। त्यो समयदेखि नेपाल-चीनबीचको सम्बन्ध थप प्रगाढ हुँदै आएको छ। नेपाल पनि चीनको एक नीतिप्रति प्रतिवद्ध छ। जुनसुकै पार्टीको सरकारमा पनि नेपालले चीनप्रतिको असल छिमेकीको कुसल भूमिका निर्वाह गर्दै आएको छ। चीनविरुद्ध कुनै पनि गलत गतिविधि हुन नदिन नेपाल प्रतिवद्ध रहेको हामीले पाएका छौं।

तपाईंलाई समृद्ध चीनका आधार के हुन् जस्तो लाग्छ?

चीनमा गणतन्त्र आइसकेपछि राजनीतिक स्थिरता आयो। राजनीतिक स्थिरता आइसकेपछि ठूलो राष्ट्र भएका कारण त्यहाँ गरिबी पनि थियो। त्यहाँ विभिन्न जातजातिका मानिस थिए। धेरै जनसंख्या भएकाले सबै जनतालाई खाद्यान्न पुर्‍याउन समस्या थियो। त्यस्तो अवस्थामा चीनले कृषि क्रान्ति गर्‍यो। मुलुक खाद्यान्नमा सुरक्षित हुनु्पर्छ भन्ने चीनको नीति रह्यो। कृषिलाई बलियो बनाउँदै उनीहरूले अर्थतन्त्रलाई अगाडि बढाए। ८० को दशकमा चीनले अन्तर्राष्ट्रिय खुला बजार अर्थ नीतिलाई अवलम्बन गर्‍यो। चीनमा विदेशी कम्पनी खोल्न पाउने प्रावधान ल्यायो। त्यसबाट उनीहरूले राम्रो मुनाफा कमाउन थाले। कृषि क्रान्ति हुँदै चीनले औद्योगिक क्रान्तितर्फ आफूलाई अग्रसर गर्‍यो। जनताका लागि चीनले गास, वास र कपासको उचित व्यवस्था गर्दै मुलुकलाई समृद्धितर्फ अग्रसर गरेको हो। त्यसपछि भौतिक विकासका लागि राजनीतिक स्थिरता प्रमुख कुरा हो। यसरी चीन सामान्य बाटोबाट अन्तरिक्षसम्म पुग्न सफल भएको हो। गत वर्ष राष्ट्रपति सिचीन फिङले गरिबी निवारण मुलुकमा घोषणा गरिसक्नु भएको छ। यस्ता राम्रा अभ्यासको सबै मुलुकले सिको गर्नुपर्छ। अहिले चीन पूर्ण डिजिटल युगमा छ। पैसा बोक्नुपर्दैन। मोबाइल बैंकिङबाट सबै ठाउँमा सहज रूपमा कारोबार गर्न सकिन्छ।

नेपालमा राज्यले उद्योग चलाउन सकेको छैन। केही नीजि क्षेत्रबाट बाहेक राज्यबाट अपेक्षित रूपमा उद्योग सञ्चालन छैनन्। भएका उद्योग पनि बन्द छन्।

चीनको समृद्धिलाई यसरी हेर्दा नेपालमा समृद्धिको बाधक के हो झैँ लाग्छ?

नेपालमा ठूला राजनीतिक परिवर्तन भए। तर, त्यसको जगमा हामीले बलियो गरी आर्थिक क्रान्ति गरेर अगाडि बढ्न सकेनौं। प्राप्त उपलब्धि र आर्थिक विकासलाई सँगसँगै लैजानु पर्नेमा हामी चुक्यौं। हाम्रो नेतृत्वमा दूरगामी दृष्टिको अभाव देखियो। उहाँहरूको ध्यान अर्थतन्त्र बलियो बनाउनेमा केन्द्रित भएको पाइएन। जनताबाट कर उठाएर मात्र देश चलाउने होइन। देशको पनि आफ्नो आम्दानी हुनुपर्छ। हाम्रो देशमा भएका प्राकृतिक सम्भावनाको राज्यले उचित सदुपयोग गर्न सक्नु्पर्छ। हामीसँग पानी छ, प्राकृतिक सम्पदा छन्, पर्यटकीय सम्पदा छन्। यी चिजको नेपालले भरपुर उपयोग गर्न सक्नु्पर्छ। नेपालमा राज्यले उद्योग चलाउन सकेको छैन। केही नीजि क्षेत्रबाट बाहेक राज्यबाट अपेक्षित रूपमा उद्योग सञ्चालन छैनन्। भएका उद्योग पनि बन्द छन्। चालु हुँदा ती उद्योगले मुलुकलाई राम्रै नाफा दिएका थिए। गोरखकाली टायर उद्योगका उत्पादन युरोपमा समेत निर्यात हुन्थे। विभिन्न देशले नेपालका उद्योगमा सहयोगसहित लगानी गरेका थिए। त्यस्ता उद्योग पनि बन्द भए। यो भनेको राज्य कमजोर हुँदाको परिणाम हो।

यसमा हाम्रो राजनीतिक नेतृत्व नै चुक्यो भन्न खोज्नु भएको हो?

पक्कै पनि हो। चीनमा देशलाई कसरी बलियो बनाउने भन्ने हुटहुटी राजनीतिक नेतृत्वमा छ। तर, नेपालमा त्यस्तो पाइँदैन। केही दिन पहिलेको चीन भ्रमणमा हामीले एउटा सहरका प्रमुखलाई भेटेका थियौं। त्यहाँको भेटमा उहाँले व्यापरको कुरा गर्नुभएको थियो। राजनीतिको कुरा गर्नु भएको थिएन। त्यहाँ विषय केन्द्रित कुरा हुन्छ। नेपालमा जहाँ पनि राजनीति हावी हुन्छ। चीनले अरुको राजनीतिमा हस्तक्षेप गर्दैन। असल छिमेकी मुलुक भएकाले चीनले नेपालको समृद्धि पनि चाहिरहेको हामीले पाएका छौं। चीनले नेपालमा आर्थिक समृद्धिका लागि हातेमालो गर्न चाहिरहेको हामीले पाएका छौं। प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा हालैमात्र १३ बुँदामा सम्झौता भएको छ। त्यो सम्झौतामा मात्रै सिमित छ। नेपालका राजनीतिज्ञले सम्झौतालाई कार्यान्वयनमा ल्याउँदैनन्। नेपालमा देश व्यूरोक्र्याट्सहरूले चलाएका छन्। उनीहरूलाई त्यो फाइल नै थाहा हुँदैन। सम्झौताको फाइल दराजमा थन्किन्छ। त्यसलाई फलोअप गर्दा चीनबाट धेरै फाइदा लिन सकिन्छ। हामीले चीनबाट मझौंला उद्योग ल्याउन सक्छौं। उद्योग सञ्चालन गर्दा युवाहरूलाई देशमै राख्न सकिन्छ।

 

एउटा सरकारले एउटा सम्झौता गर्दा कार्यान्वयनको चरणमा लैजान नपाउँदै अर्को सरकार आउने अस्थिर राजनीति नै विकासको बाधक देखियो हैन त?

एकदमै हो। यो नेपालको मूल समस्या हो। सरकार पाँच वर्ष चल्यो भने उस्ले धेरै काम गर्न सक्छ। तर, यहाँ कुनै पनि सरकार पूर्ण कार्यकाल चल्दैन। त्यसैले विदेशसँगका सम्झौता पनि कार्यान्वय हुँदैनन्। एउटा सरकारले गरेका सम्झौता अर्को सरकारले पनि कार्यान्वयन गर्नुपर्छ।

सरकारले कस्तो वातावरण सिर्जना गरिदिँदा नेपालमा लगानी भित्रिन सक्छ?

नेपालको सानो बजार छ। त्यसैले हामीले छिमेकी दुई ठूला देशको बजारलाई पनि केन्द्रमा राख्नुपर्छ। अन्तर्राष्ट्रिय लगानी भित्र्याउनका लागि सरकारले विदेशी लगानीकर्तामाथि कम ट्याक्स लगाउनुपर्छ। सरकारले सहज रूपमा जमिन उपलब्ध गराउनुपर्छ। केही निश्चित अवधि राखेर कर मिनाह गर्नुपर्छ। यो नीति चीनले पनि अवलम्बन गरेको हो। कुनै कम्पनीले ठूलो मात्रामा सामान उत्पादन गर्न थाल्यो र धेरै संख्यामा पुर्‍याउन थाल्यो भने त्यसको मूल्य पनि सस्तो पर्न जान्छ। नेपालमा उत्पादन गरेर हामी सामान बाहिर निर्यात गर्न सक्छौं। त्यसो भएमा हाम्रो जनशक्ति रोजगार पनि हुन्छ। हामीले आर्थिक समृद्धि पनि हासिल गर्छौं। सरकारले नेपाललाई लगानी हवका रूपमा विकास गर्नुपर्छ। सरकारले लगानी सुरक्षाको प्रत्याभूत दिलाउनुपर्छ।

हामी दुई ढुंगाबीचको तरुलका रूपमा आफूलाई व्याख्या गर्छौं, त्यही बीचबाट झागिने अवसर पनि त हामी सामू छ नी है?

हाम्रा आफ्ना उत्पादनलाई संसारभर पुर्‍याउन सक्छौं। खुर्सानीमात्र हामीले उत्पादन गर्न सक्यौं भने हजारौं टन विश्व बजारमा पठाउन सक्छौं। त्यसबाट हाम्रा दाजुभाइले राम्रो उत्पादन गर्न सक्नुहुन्छ। त्यसका लागि सरकारले राम्रो वातावरण सिर्जना गरिदिनु्पर्छ। राज्यले पाँच वर्ष यी कुरालाई प्राथमिकता दिएर काम गरेर अगाडि बढ्नुपर्छ। यसका साथै हाइड्रो जस्ता ठूला क्षेत्रमा सरकारी लगानी आवश्यक छ। हिमालको पानी विश्वभरका व्यक्तिलाई एक/एक बोतल पिलाउन सक्छौं भन्ने लक्ष्यका साथ अगाडि बढ्यौं भनेमात्रै पनि हामी राम्रो मुनाफा आर्जन गर्न सक्छौं। यसले हिमालको पानी बिक्री हुन्छ। त्यससँगै हाम्रा पर्यटकीय क्षेत्रको प्रचार पनि हुन्छ।

धार्मिक, साहसीक र प्राकृतिक पर्यटकका लागि नेपाल निकै उपयुक्त गन्तव्य हो। दूतावासले चीनका विभिन्न ठाउँमा हाम्रा गन्तव्यका बारेमा प्रचार पनि गर्नुपर्छ। यसले हाम्रो मुलुकको आर्थिक समृद्धिमा ठूलो सहयोग गर्छ।

पर्यटकहरूलाई भित्र्याएर पनि त हामीले मनग्य आमदानी गर्न सक्छौं नी हैन?

एकदमै हो। हाम्रो भू-भाग समुन्द्रको जिरो लेवलबाट ८ हजार ८ सय ४८ किलोमिटर भन्दा माथिको उचाइ छ। हिमाल, पहाड र तराईंयुक्त भूवनावट छ। सानो मुलुक भए पनि हामी प्राकृतिक रूपमा बैभवशाली छौं। यसका साथै धार्मिक पर्यटकहरूलाई पनि नेपाल भित्र्याउन सक्छौं। लुम्बिनी र पशुपतिनाथ क्षेत्र नेपालमै छन्। धार्मिक, साहसीक र प्राकृतिक पर्यटकका लागि नेपाल निकै उपयुक्त गन्तव्य हो। दूतावासले चीनका विभिन्न ठाउँमा हाम्रा गन्तव्यका बारेमा प्रचार पनि गर्नुपर्छ। यसले हाम्रो मुलुकको आर्थिक समृद्धिमा ठूलो सहयोग गर्छ।

तपाईं त कूटनीतिक मामिलाको जानकार पनि हुनुहुन्छ, नेपाल-चीनबीच कूटनीतिक विश्वासको आधार कुन तहको छ?

हामीबीचको कूटनीतिक विश्वासको आधार निकै माथिल्लो छ। कूटनीतिक सम्बन्धको ६८ वर्षसम्म हामीले एक समान रूपमा एकअर्काप्रति विश्वास गर्दै आएका छौं। नेपालले चीनको एक नीतिलाई सम्मान गरेको छ। यो राम्रो पक्ष हो। तेस्रा मुलुकले बेला-बेला विभिन्न एजेण्डा ल्याएर आउँदा हामीमात्र नभएर छिमेकी मुलुकलाई पनि असहज हुन्छ। एमसीसी जस्ता कुरामा नेपालले सोच्नुपर्छ। लामो समयसम्म राष्ट्र हितमा हुने विषयमामात्र हामीले सम्झौंता गर्नुपर्छ। छिमेकीलाई हामीले चिढ्याउनु हुँदैन। दक्षिण र उत्तरतर्फ हामीले समान सम्बन्ध राख्नुपर्छ।

 

यसरी कुरा गरिरहँदा तपाईंको बारेमा पाठकले जान्न चाहेका होलान्, तपाईंले २८ वर्ष चीनमा के गर्नुभयो?

पढाइ सकिएपछि मैले केही मल्टिनेश्नल कम्पनीमा काम गरेँ। आफैँले पनि उद्योग धन्दा गरेँ। भारतबाट ब्रोनाइट स्टुल चीनमा ल्याएर चीनमा उत्पादन गरी जापान, कोरियालगायतका मुलुकमा पठाउने काम गरेँ। नेपालका सामानको प्रवर्द्धन गर्ने काम गरेँ। २०११ मा आफ्नै तर्फबाट हामीले धार्मिक पर्यटकलाई ल्याउन प्रयास गर्यौं। त्यसपछि धार्मिक पर्यटक लुम्बिनी आउन थाल्नु भयो। मैले नेपाललाई चीनमा चिनाउने काम गर्न थालेँ। हामीले चीनमा निरन्तर नेपाललाई चिनाउने काम गरिरहेका छौं। केही दिन पहिले कांग्रेसको ११ जनाको टोलीलाई लगेर म चीन भ्रमणमा निस्केको थिएँ। उहाँहरूलाई प्रत्येक्षरूपमा चीनको समृद्धिका बारेमा जानकारी गराएको थिएँ। नेपालमा अहिले बाटो राम्रो हुनुपर्छ। त्यसपछि रेल मोनोरेलका कुरा गरौंला भन्ने विषयमा छलफल भयो। अब देशमा युवाहरूलाई अड्याउने गरी हामीले काम गर्नुपर्छ।

अब तपाईंले नेपालमा के गर्न खोज्नु भएको हो?

नेपालमा थुप्रै सम्भावना छ। विकासका लागि तल्लो स्थरमै गर्नुपर्ने थुप्रै काम छन्। देशमा धेरै कुरा बनेकै छैन। हामीले बनाउनु छ। हाम्रा युवाहरू अहिले अवसरकै खोजीमा विदेश गएका छन्। उनीहरूलाई सिपमूलक तालिमको पनि खाँचो छ। मैले पुराना बन्द रहेका उद्योगमा लगानी गरेर सञ्चालन गर्न खोजिरहेको छु। हामीले उद्योगधन्दा खोल्यौं भने युवा विदेशीनेक्रम रोकिन्छ। उनीहरूको श्रमले नेपाल निर्माण गर्न टेवा पुग्छ। हामीलाई अरु देशमा जानु रहर होइन। चीन जति विकसित भए पनि मलाई नेपालकै माया लाग्छ। यही बसु लाग्छ। यही देशको लागि केही गरौं लाग्छ। मेरो देश राम्रो होस्, बाटोघाटो राम्रो होस् लाग्छ। म त सुविधासम्पन्न देशमा बसेको मान्छे हामीले देशका लागि केही गर्नुपर्छ लागेर फर्किएको हुँ। मैले नगरे कले गर्ने? अहिले नगरे कहिले गर्ने? समृद्धिको मार्ग मुलुकलाई लैजाने हो हामी जागृत हुनुपर्छ। अब अरुलाई देखाएर पन्छिन मिल्दैन। हामी सबैले मिलेर मुलुक बनाउनुपर्छ। त्यसैले म बन्द उद्योगमा लगानी गर्न चाहन्छु।

तस्बिर/भिडियो : तेज किराँती

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार १७:००   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।