काभ्रेपलाञ्चोक ।अविरल वर्षासँगै खसेको पहिरोका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्ड अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बिहीबार बिहान करिब ४ः३० बजे रोशी गाउँपालिका–७ को चारसयबेँसी र रोशी गाउँपालिका–८ को गिम्दीमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले यसअघि नै बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा रातको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको थियो।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा सवारी आवागमन रोक लगाइएको छ।
वर्षा, बाढी तथा पहिरोको अवस्था मूल्यांकन गर्दा आवश्यक देखिए दिउँसोसमेत सवारी आवागमन रोक्न सकिने प्रशासनले जनाएको छ। त्यसका लागि जिल्ला प्रहरी कार्यालयले राजमार्गको अवस्थाअनुसार आवश्यक निर्णय गर्नेछ।
राजमार्गमा गरिएको आवागमन रोकसम्बन्धी निर्णय कार्यान्वयनमा सहजीकरण गर्न छिमेकी जिल्ला सिन्धुली र भक्तपुरका प्रहरी युनिटलाई समेत अनुरोध गर्ने निर्णय भएको छ।
यसैगरी, नदी किनार तथा पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई सम्भावित बाढी तथा पहिरोको जोखिमबारे सचेत गराउने र जोखिमसम्बन्धी सूचना निरन्तर प्रवाह गर्ने निर्णय गरिएको छ।
प्रहरीले राजमार्गको अवस्था बुझेर मात्रै दिउँसोको समयमा यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।


















प्रतिक्रिया