Logo

राजनीति

जनप्रिय वडाध्यक्षको घरमा कसले ‘झोस्यो’ आगो ?



धनकुटाको पाख्रीबास नगरपालिका ६ का अध्यक्ष देवेन्द्र गुरागाईं दम्पती १६ मंसिरको राति मस्त निन्द्रामा थिए । खाना खाइसकेपछि दिनभरको समीक्षा, भोलिका योजना र समग्र जीवनका दुःखसुखका कुरा गर्दै निदाएका उनीहरूको निन्द्रा करिब डेढघण्टामै ‘बेडरुम’भरी फैलिएको अनौठो गन्धले बिथोलियो । जुन खुर्सानी र कपडा डढेको मिश्रित गन्ध थियो ।

घरको पहिलो तलामाथि सुतेका उनीहरू खुर्सानी र कपडा डढेको गन्ध कहाँबाट आयो भनेर गुरागाईं दम्पती हत्तपत्त बरन्डामा निस्के । बरन्डाबाट हेर्दा ‘ग्राउण्डफ्लोर’मा रहेको भान्छा कोठामा आगो दन्किरहेको थियो । आगो देख्नासाथ आत्तिएर उनीहरू तल ओर्लिन खोजे । तर सुत्न माथिल्लो तला गएपछि भुईँतला जाने ढिकमा मुनिबाटै ताला लगाइएको थियो ।

उनीहरू माथिल्लो तलामै थुनिए । तर आगोको ज्वाला झन् बढ्दै थियो । झन् आत्तिएका गुरागाईं दम्पतीले चिच्याएर छिमेकीहरूसँग हारगुहार माग्न थाले । उनीहरूकाे चिच्याहट सुनेपछि वरपरका छिमेकीहरू आइपुगे । छिमेकीले भर्‍याङ ठड्याइदिएपछि माथिल्लो तलामा थुनिएका उनीहरूको उद्धार भयो । गुरागाईं दम्पतीको उद्धारपछि सबैजना आगो निभाउन लागे ।

‘राति १२ बजेर ४८ मिनेटको समयमा आगलागी भएको थाहा भयो । खुर्सानी र कपडा डढेको गन्ध आयो । अनि बाहिर निस्केर हेर्दा भान्छा काेठामा आगाे दन्किरहेकाे थियाे ।  आगो निभाउन तल झर्न खोज्दा भर्‍याङमाथिको ढिकमा तलबाट साँचो लगाइएको रहेछ । त्यसपछि हारगुहार गर्दा छिमेकीहरू आउनुभयो । अनि बाहिरबाटै भर्‍याङ लाइदिएर हामी निस्कियाैं। तल झरिसकेपछि सबैले आगो नियन्त्रणमा लियौं । समयमै थाहा नपाएकाे भए हाम्राे त जलेर ज्यान जाँदाे रहेछ’, वडाध्यक्ष गुरागाईंले अनलाइन पानासँग भने ।

भान्छाकाेठामा रहेका सबै सामानहरू एक ठाउँमा पारेर आगो सल्काइएकाले नियोजित रूपमा घटना घटाइएकाे स्पष्ट छ ।

आगलागीबाट करिब तीन लाख रुपैयाँको क्षति भएको छ । वडाध्यक्ष गुरागाईंका अनुसार किचनमा रहेका भाँडावर्तन, फ्रिज, दराज, सिरक, डस्ना र ब्याङकेटलगायत जल्दा उक्त क्षति भएको हो ।

घटना घट्दा गुरागाईं दम्पतीमात्र घरमा थिए । उनीहरूका छोरा बुहारीहरू काठमाडौंमा बस्छन् । ‘त्यसबेला हामी श्रीमान्–श्रीमतीमात्र थियौं । छोराबुहारी काठमाडौंमा छन्’, वडाध्यक्ष गुरागाईंले भने ।

भान्छाकाेठामा रहेका सबै सामानहरू एक ठाउँमा पारेर आगो सल्काइएकाले नियोजित रूपमा घटना घटाइएकाे स्पष्ट छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको भए पनि अहिलेसम्म घटनामा संलग्नको पुष्टि भने हुन सकेको छैन ।

गुरागाईं नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी जनप्रतिनिधिमात्र होइन, जनप्रिय पनि छन् । तर, कसैसँग दुष्मनी नसाँध्ने भलादमी वडाध्यक्ष गुरागाईं परिवारको ज्यान लिनेगरी सुनियाेजित घटना कसले घटायाे ? यो प्रश्नको जवाफ खोज्ने काम प्रहरीसँगै समुदाय स्तरबाट पनि भइरहेको छ । वडाध्यक्ष गुरागाईंले भने, ‘प्रहरीले अनुसन्धान गरिरहेको छ । समुदाय स्तरबाट पनि के कसरी घटना घट्यो भनेर सबैले चासोका साथ लिइरहनुभएको छ । हामीले पनि आफ्नो तरिकाले अनुसन्धान गर्दैछौं । विस्तृत विवरण आइसकेको छैन । हामी त्रसित छाैं ।’

वडा तथा नगरका सबै नागरिक, राजनीतिक दलका नेताहरूसँग आफ्नो सुमधुर सम्बन्ध रहेको वडाध्यक्ष गुरागाईं बताउँछन् । आफूले कसैप्रति दुर्भाव नराखेकाले पनि घटनाले दु:खी तुल्याएकाे उनकाे भनाइ छ । ‘विगतमा पनि कसैसँग वैरभाव थिएन, अहिले पनि छैन । जनप्रतिनिधिका रुपमा कहिल्यै गलत गतिविधि गरिएन । कसैको व्यक्तिगत जीवनमा असर पर्ने काम पनि म बाट भएका थिएनन्’, उनले भने, ‘तर यो परिस्थिति कसरी जन्म्यो, कसरी आयो, कसले गर्‍यो !’

त्यसो त वडाध्यक्ष गुरागाईंको राजनीतिक पृष्ठभूमि अन्य नेता तथा जनप्रतिनिधिकाे भन्दा केही भिन्न छ । वर्षौंसम्म राजनीति गरेको अनुभव नभएपनि एक कुशल सरकारी कर्मचारीका रुपमा जनताको गाह्रो–अफ्ठ्यारोबारे उनी जनप्रतिनिधि हुनुअघि नै परिचित थिए । सुरुमा लामो समय शिक्षण गरेको अनुभव गुरागाईंसँग छ ।

शिक्षक हुँदै सरकारी कर्मचारीका रुपमा काम गर्दा होस् वा जनप्रतिनिधिका रुपमा काम गर्दैगर्दा कहिल्यै कसैकाविरुद्ध दुर्भाव नराखेको वडाध्यक्ष गुरागाईंले बताए ।

शिक्षण पेसा गर्दागर्दै उनी खरिदार बने । उनले लामो समय गविस सचिव भएर काम गरे भने पछि बढुवा भएर जिल्ला प्रशासन हुँदै अख्तियार दुरुपयाेग अनुसन्धान आयोगमा पनि काम गरे । आफ्नो विगतबारे सुनाउँदै गुरागाईं भन्छन्– ‘म सुरुमा शिक्षक थिएँ । त्यसपछि गाविस सचिव बनेँ । त्यसपछि म बढुवा भएर जिल्ला प्रशासन हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरेँ । पछि फेरि फर्केर जिल्ला प्रशासन हुँदै यस नगरको योजना अधिकृत भएँ। योजना अधिकृतको रूपमा काम गर्दैगर्दा नै राजीनामा दिएर जनप्रतिनिधि बनेको हुँ ।’

स्थानीयवासीकै आग्रहमा आफूले निर्वाचनमा उम्मेदवारी दिएको र निर्वाचित भएको गुरागाईं सुनाउँछन् । शिक्षक हुँदै सरकारी कर्मचारीका रुपमा काम गर्दा होस् वा जनप्रतिनिधिका रुपमा काम गर्दैगर्दा कहिल्यै कसैकाविरुद्ध दुर्भाव नराखेको उनले बताए । ‘लामो समय जागिर गरेर छोडेर बसेको अवस्थामा चुनाव आयो । अनि सबैले साथीभाइ र स्थानीयवासीले तपाईं उठ्नुस् भनेर जोड गर्नुभयो । अनि उठियो र जितियो पनि’, वडाध्यक्ष गुरागाईं भन्छन्, ‘चाहे सरकारी कर्मचारी भएर होस्, चाहे जनप्रतिनिधि भएपछि होस् म जनताको काममा नै निरन्तर छु । त्यसकारण मैले कोही कसैको जानीजानी चित्त दुखाउने, आक्रोशित तुल्याउने काम कहिल्यै गरेको छैन जस्तो लाग्छ ।’

वडाध्यक्ष गुरागाईं अहिले पनि वडावासी तथा नगरबासी सबैसँग सम्बन्ध प्रगाढ रहेकोले अहिलेको घटना जनआक्रोश नभएको बताउँछन् । ‘चुनावमा पनि म एक प्रकारको साझा उम्मेदवार जस्तो थिए । पार्टीगत रुपमा नहेरी सबैको अभिमत पाइयो । सबैको शुभेच्छा थियो ।  सबैको भोटले म जितेको हुँ । विजयी भएपश्चात पनि राम्रा काम गर्ने प्रयास गरिरहेको थिए र छु । र तर अहिले जुन नघट्नु घट्ना घटिहाल्यो । यसको कारण र घटनामा संलग्नबारे थाहा पाउन अब प्रहरी अनुसन्धान नै कुर्नपर्ला । म त्यही पर्खाइमा हो ।’

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार १७:४७   :  बजे

240
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।