काठमाडौं । कार्लमार्क्सका समकालीन कमरेड फ्रेडरिक एगेल्सले भनेका छन्– ‘कम्युनिज्म सर्वहारा वर्गको मुक्तिका लागि पूर्वावश्यक सिद्धान्त हो । कम्युनिष्ट विचारको मूलभूत गुण सर्वहाराको अन्तिम स्वतन्त्रता हो ।’
कम्युनिष्ट विचारधाराका पिताहरू कार्लमार्क्स, भलादिमिर लेनिन र माओत्सेतुङ हुन्, जसले यसको प्रतिपादन मात्र नभई विकासका लागि पनि महान भूमिका खेले । उनीहरूले प्रतिपादन गरेका सिद्धान्तको नामबाट आज यसलाई मार्क्सवाद—लेनिनवाद—माओवाद (मालेमा) नाम दिइएको छ ।
कम्युनिजमको चर्चा गर्दा छुटाउनै नहुने अन्य दुई नाम पनि छन्– फ्रेडरिक एगेल्स र जोसेफ स्तालिन । एगेल्स, मार्क्सका समकालीन कमरेड थिए । उनले मार्क्सवादको आधार तयार पार्न उनीसँग नजिकमा रहेर काम गरे भने मार्क्सको मृत्युपछि यसलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेले । स्तालिनले लेनिनको मृत्युपछि मार्क्सवाद—लेनिनवादको विकास र त्यसको रक्षा गरे । उनले भनेका छन्– ‘मार्क्सवाद प्रकृति र समाजको विकासलाई निर्देशित गर्ने कानूनहरूको विज्ञान हो, शोषित र उत्पीडित जनसमूहको क्रान्तिको विज्ञान हो ।’
कम्युनिष्ट सिद्धान्तले सर्वहारा श्रमजीवि वर्गको हितको कुरा गर्छ । उनीहरूको स्वतन्त्रताका निम्ति गर्नुपर्ने र हुनुपर्ने क्रान्तिको कुरा गर्छ ।
विश्वका नगन्य मुलुकमा मात्र अहिले कम्युनिजम अस्तित्वमा छ । जसमध्ये एउटा नेपाल पनि हो । नेपालमा कम्युनिष्ट पार्टीहरूको इतिहास धेरै टाढा छैन । वि.सं. २००६ साल वैशाख १० गते पहिलो कम्युनिष्ट पार्टी भारतको कलकत्तास्थित श्यामबजारमा गठन भयो । पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी कम्युनिष्ट पार्टीका संस्थापक थिए ।
स्थापनाको साढे सात दशक नजिक आइपुग्दा फुट्दै जुट्दै नेपालमा च्याउसरी कम्युनिष्ट पार्टी जन्मिएका छन्, तर नाम मात्रैका । उनीहरूका भाषा र भाषणमा मात्रै सामान्य ‘कम्युनिजम’ झल्किएपनि व्यवहारमा शून्य छन् । सर्वहाराका उन्मुक्तिका लागि भनेर लडेका नामधारी कम्युनिष्टहरू आज आफ्नै मुक्ति र समृद्धिमा मस्त छन् भने स्वार्थ पूर्ति र आफ्नो जयजयकार गर्नेहरूको व्यवस्थापनमा मात्र केन्द्रित भएका छन् । जुन आमसर्वसाधारणले देखेको, बुझेको र महसुस गरेकै कुरा हो ।
आफूलाई सच्चा कम्युनिष्ट पार्टीकाे सुप्रिमाे भन्ने प्रधानमन्त्री प्रचण्डले आफ्नी नातिनी तथा भरतपुर महानगरकी प्रमुख रेणु दाहालकी छोरी प्रतिभा पाठकको विवाह सयौँ निम्तालुहरू बोलाएर महँगो रिसोर्टमा गरेपछि आलोचना नहाेस् पनि कसरी ?
आफ्नै नीति, सिद्धान्त, विचार र मूल्यमान्यता विपरीत अघि बढेका दर्जनौं नेपाली कम्युनिष्ट पार्टीहरूमध्ये अहिलेको सरकारको नेतृत्वमा रहेको माओवादी केन्द्रकै चर्चा गरौं । माओवादी केन्द्रको विधानको प्रारम्भमै भनिएको छ– ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपाली सर्वहारा श्रमजीवि वर्गको राजनीतिक प्रतिनिधि संस्था हो । यसले मजदुर, किसान र सम्पूर्ण उत्पीडित जाति, भाषा एवं संस्कृतिक जनसमुदाय समेत आम जनताको हितलाई प्रतिनिधित्व गर्दछ । यो जनआधारित कार्यकर्ताहरूको पार्टी हो । यो सर्वहारा श्रमजीवि वर्गको अग्रदस्ता हो ।’ यो पार्टीकाे मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद–माओवाद हो, जुन कुरा पनि विधानमा स्पष्ट लेखिएको छ ।
तर यी वादहरू अंगालेको माओवादीकाे वैचारिक मार्गदर्शक सिद्धान्त विधानमा मात्रै सीमित बनेकाे देखिन्छ । अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डकै परिवारमा तडकभडकका साथ भड्किलो विवाह भयो, जसको सर्वत्र चर्को आलोचना भइरहेको छ । आफूलाई सच्चा कम्युनिष्ट पार्टीकाे सुप्रिमाे भन्ने प्रधानमन्त्री प्रचण्डले आफ्नी नातिनी तथा भरतपुर महानगरकी प्रमुख रेणु दाहालकी छोरी प्रतिभा पाठकको विवाह सयौँ निम्तालुहरू बोलाएर महँगो रिसोर्टमा गरेपछि आलोचना नहाेस् पनि कसरी ?
खर्चिलो निमन्त्रणा कार्डदेखि मण्डपमा सजाइएको भड्किलो व्यवस्थापनलाई लिएर धेरैले प्रधानमन्त्री प्रचण्ड र मेयर रेनुमाथि प्रश्न उठाएका छन् । लेखक तथा विश्लेषक नरेन्द्रजंग पिटर सामाजिक संजालमार्फत ‘यसरी के सन्देश दिन खोजेको’ भनेर प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्छन् । कम्युनिष्ट भएको हैसियतले मात्र होइन, जनयुद्धको पहिलो पंतीको अगुवा कमाण्डर, परिकल्पनाकार र प्रधानमन्त्रीको हैसियतले नातिनीको विहे तामझामका साथ गरेर गलत सन्देश दिएको उनले औंल्याएका छन् ।
पिटरले लेखेका छन्, ‘अध्यक्ष प्रचण्ड, तपाईंले गोकर्ण रिसोर्टमा नातिनीको तामझाम प्रदर्शन विवाह आयोजना गरेर गलत सन्देश दिनु भो, गलत गर्नु भो । पार्टी सुप्रिमोको हैसियतले, प्रधानमन्त्रीको हैसियतले, जनयुद्धको पहिलो पंतीको सबभन्दा अगुवा कमाण्डर, परिकल्पनाकारको हैसियतले गोकर्णबाट दिन खोज्नु भएको सांस्कृतिक र सामाजिक सन्देश गलत छन् ।’
त्यसाे त आफूविरुद्ध पार्टीकै नेता–कार्यकर्ताहरूबाट प्रश्न उठेपछि पटक–पटक आफू सच्चिने प्रतिबद्धता नजनाएका हाेइनन् । तर व्यवहारमा भने उनी शून्य नै देखिन्छन् ।
अझ समय चयन लगत भएको पिटर बताउँछन् । आमनागरिक विभिन्न विपत्तीबाट प्रताडित भइरहेको र राजनीतिप्रति नै निराश भइरहेका बेला राज्य प्रमुखबाट यस्तो तामझाम प्रदर्शन हुनु दुःखद् भएको उनको टिप्पणी छ । उनले भनेका छन्, ‘समयको चयन अझ गलत छ । जाजरकोट र रुकुममा देशले ब्यहोरिरहेको प्राकृतिक विपत, तराईमा सितलहरको चिसोले कठ्याग्रिएर मृत्यूवरण, कार्यकर्ताहरू रूपान्तरणमा देशव्यापी खटिरहेको अवस्था, विरोधी र दुश्मनको घेराबन्दीमा परिरहेको अवस्थामा, आम जनतामा राजनीतिप्रति निराशा र वितृष्णा पलाइरहेको अवस्था, नेताप्रति आक्रोशका अनेकौं रुप र चरित्र सडकमै छताछुल्ल भएको अवस्थामा गोकर्णको कलाविहीन नाटकले तपाईँलाई दीर्घकालीन असर परिरहनेछ ।’
नातिनीको विषय मात्र होइन प्रचण्डकै जीवन शैली, कार्यशैली र व्यवहारलाई लिएर पार्टीकै नेता–कार्यकर्ताहरूले पनि प्रश्न उठाउँदै आएका छन् । यसपटक नातिनीकाे विवाहमा भएकाे तामझामबाट पनि नेता–कार्यकर्ता प्रचण्डप्रति सन्तुष्ट देखिँदैनन् । माओवादी नेता लेखनाथ न्यौपाने सामाजिक सञ्जालमार्फत व्यांग्य गर्छन्, ‘लुम्बिनी विकास कोषको नियुक्तिबाट सुरु भएको रूपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन !’
विवाह नितान्त निजी र पारिवारिक विषय भएपनि प्रतिभा पाठक देशकै बहालवाला प्रधानमन्त्री, त्यसमाथि आफूलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको ‘सुप्रिमो’ र सर्वहाराको ‘नायक’ बताउने नेताको परिवारकी सदस्य हुन्, त्यसकारण अस्वभाविक तामझामविरुद्ध अनेकन् प्रश्न तेर्सिनु स्वभाविक हाे ।
त्यसाे त आफूविरुद्ध पार्टीकै नेता–कार्यकर्ताहरूबाट प्रश्न उठेपछि पटक–पटक आफू सच्चिने प्रतिबद्धता नजनाएका हाेइनन् । तर व्यवहारमा भने उनी शून्य नै देखिन्छन् ।
कानूनको पनि उल्लघंन
नातिनीकाे विवाहक क्रममा देशकै बहालवाला प्रधानमन्त्री परिवारबाट कानून समेत उल्लघंन भएको पाइएको छ । एक हजारलाई निम्तो बाँडिएको यसअघि सार्वजनिक भएको थियाे । तर स्रोतका अनुसार विवाहमा हजारको संख्यामा नभएपनि करिब सातसय निम्तालु उपस्थित थिए ।
सामाजिक व्यवहार सुधार ऐन २०३३ ले जन्ती र बिहे भोजमा आमन्त्रण गरिने मानिसहरूको अधिकतम सङ्ख्या तोकेको छ । जसमा विवाहको जन्ती र भोजमा ५१ जनासम्म मात्रै सहभागी गराउन मिल्ने व्यवस्था छ ।
ऐनको दफा ७ मा बाजागाजासहित ५१ जनाभन्दा बढी जन्ती लैजान नहुने व्यवस्था छ । उक्त दफाले बाजागाजा प्रयोजनका लागि बोलाइने मानिसहरूको सङ्ख्या पनि ११ जना तोकेको छ । यो कानूनी व्यवस्था उल्लङ्घन गर्नेलाई १० हजार रुपैयाँसम्म जरिवाना र १५ दिनसम्म कैद वा दुवै सजाय गर्न सकिने व्यवस्था छ ।
त्यस्तै दफा ८ मा दुलाहा वा दुलही पक्षबाट आयोजित भोजमा पनि ५१ जनाभन्दा बढीलाई आमन्त्रण गर्न नपाइने व्यवस्था छ । भोजमा बोलाइने मानिसहरू “नजिकको नातेदार बाहेक“ ५१ जना भनिएको छ। भोजमा तोकिएको सीमाभन्दा धेरै बोलाउनेलाई २०,००० रुपैयाँसम्म जरिवाना र १५ दिनसम्म कैद वा दुवै सजाय गर्न सकिने व्यवस्था छ।
तर, पञ्चायतकालमा बनेको उक्त ऐन कानुनी व्यवस्था व्यावहारिक नभएको धेरैको धारणा छ ।




















प्रतिक्रिया