Logo

विचार / ब्लग

किन सुक्यो सनातन चिन्तन धारा, कहाँ चुक्दैछौं हामी?



• हाम्रो सनातन चिन्तनको धारा किन सुक्यो ? कसरी सुक्यो ? कहिलेकाँही सोच्दासोच्दा सारै दुःखी हुन्छु। के भयो हाम्रो समाज ? चिन्तनहीन, दिशाहीन, जगविहिन, लक्ष्यविहिन। कहाँ गए ती हाम्रा उदात्त आर्ष चिन्तनहरू ? ऋषि वाणीहरू, गुरु वाणीहरू, माहान् कालजयी संदेशहरू। ‘विश्वं पुष्टं ग्रामे अस्मिन् अनातुरम्’, अर्थात् विश्व परिपुष्ट होस् र यो गाऊँमा कोहि दुःखी गरीब नहोस्। त्यस्तो महान् चिन्तन दिने हामी नेपाली आज किन यति रुग्ण, क्षुब्ध, क्रुद्ध असन्तुष्ट भएका छौँ ? ‘यतो यतः समीहसे ततो नो अभयं कुरु; शन्नः कुरु प्रजाभ्योऽभयं नः पशूभ्यः।’ अर्थात, तिमी जहाँ जहाँ जान्छौ, त्यहाँ त्याहाँ कतै कुनै भय नहोस्। पशुहरूलाई समेत भय नहोस्। तिम्रो व्यबाहार, चरित्र, स्वभाव र आदर्शद्वारा कतै कोही भयभीत नहोस्, दुःखी नहोस्। यस्तो महान् वैदिक जीवन दर्शन भुलाएर आज हामी भयको राजनीति गरिरहेका छौँ। भय देखाएर आफ्नो पद, आफ्नो स्वार्थपूर्ति गरिरहेका छौँ।

• विश्व आज ज्यादै ठूलो संकटमा छ। सारै विषम अवस्थामा छ। विश्वयुद्धका काला बादलहरू मडारिरहेका छन्। आज सम्पूर्ण विश्वलाई एक सशक्त सन्देश, एक समुचित दिशा चाहिएको छ र मलाई पुरा विश्वास छ ! विश्वका सम्पूर्ण समस्याहरूको समाधान हाम्रो आर्ष सनातन नेपाली चिन्तनमा छ। हाम्रा नेपाली पुर्खाहरूले भनेका थिए, ‘मा भ्राता भ्रातरं द्विक्षन्‌, मा स्वसारमुत स्वसा।’ अर्थात् भाइले भाइको द्वेष नगरोस्। दिदी-बहिनीले दिदी-बहिनीको ईर्ष्या नगरुन्। यसैगरी हाम्रो शास्त्रले भनेको थियो ‘यत्र विश्वं भवत्येकनीडम्’ जहाँ विश्व नै सानो न्यानो गुँड जस्तो, परिवार जस्तो बनोस्। कतै कुनै जाति, समुदाय, सम्प्रदाय, पार्टि आदिका नाममा विभेद र विद्वेष नहोस्। हाम्रा शास्त्रकारहरूले भनेका थिए ‘मा हिंस्यात् सर्वभूतानि’ कतै कसैले कसैको हिंसा नगरोस्। जो हिंसा गर्दैन वास्तबमा उही नै ‘हिन्दु’ हो। के यस्ता कालातीत चिन्तनहरू केबल कोठामा, गुफामा, आश्रममा, मन्दिरमा, अखाडामा, धुनी, गुम्बा, चैत्य, विहारहरूमा, बसेर पढ्नका लागि मात्र हुन् त ? के मात्र स्वर्ग वा पुण्यको कल्पनामा, आशामा रम्नका लागि मात्र हुन् त ? जीवन परिवर्तनका लागि होइनन् र ? सामाजिक मूल्य मान्यताहरूको संरक्षणका लागि होइनन् र ? विश्व परिवार भावको अभिवर्धनका लगि होइनन् र ?

• हामी किन यसरी रुढीवादी भयौँ ? किन यति पाखण्डी, आडम्बरी भयौँ ? कथनी र करनीमा समानता किन भएन ? ‘मनस्येकं वचस्येकं कर्मण्येकं महात्मनाम्।’ अर्थात, मन, वचन र कर्ममा एकरुपता किन भएन ? कहाँ नेर चुक्यौँ हामी ? किन चुक्यौँ हामी ? हामी चुक्यौँ वा हामीलाई चुकाईयो ? जानी जानी चुक्यौँ वा अनजानमा चुक्न गयौँ ? के भयो ? जे होस् चुक्न त चुक्यौँ। ‘असतो मा सद्गमय’ भन्ने पाठ गर्यौँ रातदिन तर सद्गमय भयो त ? ‘तमसो मा ज्योतिर्गमय’ मन्त्र गान गर्यौँ तर ज्योतिर्गमय, ज्योतिसाधना गर्यौँ त ? प्रकाश तर्फ, सकारात्मकता तर्फ पाईला चाल्यौँ त ? ‘मृत्योर्मा अमृतं गमय’ भन्यौँ, तर अमृत गमय भयो त ? आस्थाको, श्रद्धाको, सुकीर्तिको, सुकर्मको विजारोपण गर्‍यौँ त ? के बोलेर मात्रै, लेखेर मात्रै, सुनेर मात्रै समस्याको समाधान हुन्छ र ? स्वरुपान्तरण नगर्ने ? स्वधर्म परिपालन नगर्ने ? स्वभावलाई नबुझ्ने ? स्वबोध र स्वानुभूति नगर्ने ?

• आज चारैतिर झगडाहरू देखिएका छन्। ईर्ष्या, द्वेष, कलह अनेकौँ प्रकारका द्वन्दहरू, टकरावहरू, प्रतिस्पर्धाहरू घर-घरमा, संस्थाहरूमा, कार्यालयहरूमा, पार्टीहरूमा, सार्वजनिक पद, प्रतिष्ठाका क्षेत्रहरूमा र धार्मीक क्षेत्रहरूमा समेत। बिचित्र छ। मलाई जहाँसम्म लाग्छ, समस्या मुलतः तीन प्रकारका हुन्छन्; विषयजन्य, स्वार्थजन्य र अहंकारजन्य।

• विषयजन्य समस्यालाई संवाद गरेर सामूहिक छलफल गरेर सकारात्मक रुपेण स्वस्थ चिन्तन गरेर, विमर्श गरेर एउटा टुङ्गोमा पुर्‍याउन सकिन्छ। विषयजन्य समस्या भएको हुनाले विषयवस्तुमै तटस्थ भावले केन्द्रित भएर तटस्थ विष्लेशण र निर्णय गरेर कुनै हदमा सुल्झाउन सकिन्छ। जति सुल्झाउन सकिन्छ, उति सुल्झिन्छ र जुन सुल्झाउन सकिन्न, त्यसलाई फेरि अर्को चरणका लागि भनेर छुट्ट्याउन पनि सकिन्छ। जे होस् , विषयजन्य समस्याको कहीँ न कहीँ कुनै न कुनै किनारा लाग्न सक्छ। स्वार्थजन्य समस्या भनेको अलि गाह्रो विषय छ। टुङ्गो लगाउन सजिलो सङ्ग सकिन्न।

• तथापि स्वार्थजन्य समस्यालाई पनि केही हदमा टुङ्ग्याउन सकिन्छ। मूल लक्ष्यलाई, मूल धरातललाई विच्छिन्न नपार्ने गरी दुबै पक्षको स्वार्थलाई केही हदमा सीमांकित गरी स्वार्थजन्य समस्यालाई पनि कुनै एक किनारामा पुर्‍याउन सकिन्छ। स्वार्थजन्य समस्यालाई कुनै एक किनारामा पुर्‍याउने बेलामा मूल लक्ष्यमा, मूल धरातलमा भने कदापि हानि नपुगोस् है ! भन्ने कुरामा अत्यन्तै सावधानी अपनाउनु पर्ने हुन्छ। अथवा अर्को भाषामा भन्नु पर्दा स्वार्थजन्य समस्याको निश्चित कुनै स्थायी समाधान नभएता पनि केही हदमा सम्झौता गरेर केही समयका लागि काम चलाउन भने सकिन्छ। बाँकी त ईश्वरकृपा नै हो।

• अहंकारजन्य समस्या भनेको चाहिँ अत्यन्तै खतरनाक अवस्था हो। सायद, यस समस्याको समाधान छैन। मूर्ख देखी दैव पनि डराउँछन् भनेको जस्तै, अहंकारीको कुनै उपचार छैन। अहंकारी भनेको त्यो व्यक्ति हो, जसले आफूलाई, आफ्नो परिवारलाई र सिङ्गो संस्थालाई पनि जलाएर सखाप पारिदिन्छ। अहंकारजन्य समस्याको समाधान नहुँदा नै रावणको अन्त्य हुन्छ; लंकाको सर्वनाश हुन्छ। कौरवहरू नष्ट हुन्छन् र महाभारतमा लाखौँ लाख मारिन्छन्। संसारका ठूला-ठूला विश्व युद्ध र जे जति भयानक दुर्घटनाहरू देखिन्छन्, सुनिन्छन् ती सबै अहंकारजन्य समस्याका परिणाम मात्रै हुन्। अहंकारीलाई मात्र एक कुरा प्यारो हुन्छ , त्यो हो उसको आफ्नै अहंकार। त्यहाँ न त मित्रहरूलाई, परिवारलाई, संस्थाका सदस्यहरूलाई र न त कुनै छिमेकी, बन्धु-बान्धव शुभेच्छुकहरूलाई कुनै स्थान हुन्छ। संसार पीडित छ युगौँयुग देखि यस्तै दुष्ट, घमन्डी, अहंकारीहरूद्वारा।

• हामीले हाम्रा चाडपर्व, रीतिरिवाज, परम्परा, जात्रा, मेला, पर्व, उत्सव आदिलाई राम्रो सँग बुझ्न बुझाउन नसक्दा पनि समाजमा अनेकौँ प्रकारका विखण्डन देखिए। सामाजिक, साम्प्रदायिक, सामुदायिक, जातिय सद्भाव पनि बिथोलिदै गयो। पारिवारिक विखण्डन सहित हिंसा, अपराध, नकरात्मकता आदिका दुर्घटना पनि बढ्दै गए। सामाजिक सौहार्दपूर्ण सु-भाव र सु-सम्बन्ध पनि टुट्दै गए। हामी जे जस्ता चाडपर्व मानिरहेका छौँ, त्यसलाई बुझ्न बुझाउन सकिरहेका छैनौँ। परम्परागत रुपेण ती चाडपर्व आदिको अनुकरण भयो तर अनुशिलन, अनुसन्धान र अनुभूति हुन सकेन। हाम्रा हरेक चाडपर्वहरू, मेलाहरू रीतिरिवाजहरू, जात्राहरू, परम्पराहरू आदिमा वैज्ञानिक पक्ष, दार्शनिक पक्ष, आध्यात्मिक पक्ष, सामाजिक पक्ष, पारिवारिक पक्ष, व्याबहारिक पक्ष, वैश्विक पक्ष आदि गहन रुपले सूत्ररुपेण लुकेर बसेका छन् तर त्यसलाई खोज्न, बुज्न र प्रयोग गर्न हामी तयार हुन सकेनौँ। मात्र परम्परावादी भयौँ। रुढीवादी भयौँ। आजभोलिको भाषामा ‘Dogmatic and Conservative’ भयौं। मेरो विश्वास त के छ भने यि चाडपर्वहरूमा भएका यि अद्भुत जीवन दर्शन, सूत्र र ज्ञान विज्ञानलाई मात्र पनि बुझ्न बुझाउन सक्यौँ भने हाम्रा सम्पूर्ण समस्याहरूको समाधान हुन्छ। चाहे त्यो वैयक्तिक होस्, सामाजिक होस्, राष्ट्रिय होस् वा अन्तरराष्ट्रिय।

• हामीले शास्त्र त पढ्यौँ तर शास्त्रको सार वा सही संदेश बुझ्न सकेनौँ वा बुझ्न चाहेनौँ। स्कुलहरूमा कलेजहरूमा बच्चाहरूले, विद्यार्थिहरूले जति पढे पनि जति लेखे पनि परिक्षामा उत्तीर्ण भएता पनि कतै कुनै रुपान्तरण नभएको जस्तै हामी पनि प्रथम श्रेणी, द्वितीय श्रेणी आदिमा उत्तीर्ण त भयौँ तर अद्यापि वास्तविक उत्तर के हो हामीलाई थाहा छैन वा हामीलाई उत्तर थाहा भएता पनि उत्तर अनुसार जीवनमा हिड्ने साहस, सामर्थ्य र श्रद्धा छैन। गीता, महाभारत आदि पनि धेरै पटक पढ्यौँ पढायौँ तर के हामी अर्जुन बन्न सक्यौँ त ? धर्मरक्षाका लागि आफ्नै पितमह भीष्म र आफ्नै गुरु द्रोणाचार्य लगाएत आफ्नै बन्धुबान्धवका बिरुद्ध पनि उठ्न सक्छौँ त ? कमी हामीमा छ वा हाम्रो गाण्डीवमा वा हामीले त्यस्तो कृष्ण पाउन सकेका छैनौँ जसले मात्र सत्यको, धर्मको लागि स्पष्ट संदेश, आदेश, उपदेश दिन सकोस्। के साँच्चिकै हामीमा गाण्डीव उठाउन सक्ने सामर्थ्य छ ? हरेक नातावाद, कृपावाद, लम्पसारवाद, चाकरिवाद आदिका बिरुद्धमा प्रहार गर्नका लागि। के हामी साँच्चिकै शङ्खघोष गर्न सक्छौँ ? हरेक प्रकारको आसक्ति र अहंकारलाई त्याग गरेर मात्र धर्मरक्षाका लगि ? ‘करिष्ये वचनं तव’ भनी उदाघोष गर्न सक्दैनौँ भने पार्टी मात्र चलाएर, संस्थाहरू मात्र चलाएर, धर्मका नाममा, सेवाका नाममा अनेकौँ प्रकारका तर्कजाल र शब्दाडम्वर मात्र बिछ्याएर हामी कहाँ पो पुग्छौँ र ? याद राख्नुहोला, अन्त्यमा हरेक दुर्योधनहरूको नाश हुनेछ यदि धृतराष्ट्र र माता गान्धारीले आँखामा पट्टी बाँधिदिए भने। हरेक गुरु द्रोणाचार्यहरूको र पितामह भीष्महरूको संहार हुनेछ यदि सत्यको पक्षमा, धर्मको पक्षमा उभिन सकेनन् भने। हरेक अक्षौहिणी सेना पनि नष्ट हुनेछ यदि धर्मबिरुद्ध उभिए भने।

• अर्को एउटा बिचित्रको कुरा नगरिकता र राष्ट्रियता फरक हुन्छ भन्ने कुरा हामीले कहिले बुझ्ने ? नागरिकता कानुनी प्रक्रिया हो, एक व्यवस्था हो राज्य संचालनको तर राष्ट्रियता भनेको संस्कृति हो, ईतिहास हो, पुर्खाहरूको सम्मान हो। त्यसैमा सारा जीवनको समर्पण हो। हाम्रो लागि राष्ट्रियता महत्वपूर्ण हो वा मात्र नागरिकता?
• राष्ट्रियता जन्मजात हुन्छ भने नागरिकता लिने दिने प्रक्रिया हो। नागरिकता एक प्रकारको कानुनी अधिकार हो भने राष्ट्रियता पुर्खाहरुको विरासतको निरन्तरता हो। मौलिक रैथाने संस्कृति प्रतिको समर्पण हो। यो भन्दै गर्दा अमेरिका, युरोप आदि मुलुकमा जन्मिएका नेपाली बच्चाहरूको राष्ट्रियता पनि नेपाली नै हो। भारत, बर्मा, थाइल्याड, भुटान लगाएत जहाँ जन्मे तापनि राष्ट्रियताका हिसाबले उ नेपाली नै हो। सोह्र श्राद्धको परम्परामा हामीले हाम्रा सम्पुर्ण पुर्खाहरूलाई सम्झेर तर्पण गरे जस्तै, महालय श्राद्ध मनाए जस्तै ऊ जहाँ जन्मिएता पनि उसमा नेपाली पुर्खाहरूको, ऋषिहरूको, पितृहरूको वंशानुगत गुण छ। स्वभाव छ। अतः उ नेपाली नै हो भन्ने कुरालाई बुझ्न बुझाउन सक्यौँ भने सारा विश्वका नेपालीहरू नेपाल आमाको सेवामा सहर्ष समर्पित हुनेछन्।

• अब, समाधान के त ? निष्कर्ष के त ? भनेर अत्यन्तै दुरदर्शी, सुक्ष्मदर्शी भएर चिन्तन गर्न सक्नु पर्छ र निर्णय पनि गर्न सक्नु पर्छ। जहाँसम्म मलाई लाग्छ, व्यक्तिगत स्तरमा भन्नु पर्दा व्यक्तिगत रुपान्तरण नै हरेक समस्याको अन्तिम समाधान हो। जबसम्म हामी स्वयं आफैं रुपान्तरित हुन सक्दैनौं, मात्र दोषदृष्टि र दोषारोपण द्वारा हामी कतै पुग्न सक्दैनौं। ‘आत्मनो हिताय जगत् हिताय च’ भनेको जस्तै अन्त्यमा गएर सबै कुरा आफैमा निर्भर गर्दो रहेछ। गुरु गोरखनथले ‘अपणी आत्मा आप बिचारी’ भने जस्तै वा बुद्धले ‘अप्प दीपो भवः’ भने जस्तै वा गीतामा ‘उद्धरेत् आत्मनात्मानम्’ भने जस्तै, आत्म रुपान्तरण नै सृजनाको पहिलो चरण हो र सबै खाले समस्याको समाधानको अन्तिम चरण पनि हो।

यसै गरी सामाजिक स्तरमा भन्नुपर्दा मूल धरातललाई, मूल लक्ष्यलाई हानि नपुग्ने गरी हामी के कति त्याग गर्न सक्छौँ, त्यसका लागि तयार हुन सक्नु पर्‍यो। हाम्रो समाज, हाम्रो संस्था, हाम्रा विभिन्न प्रकारका कार्यहरू, गतिविधिहरू वा हामीले चलाएको मिशन वास्तवमा किन चलाएको हो त भनी गंभीर चिन्तन गर्न सक्नु पर्‍यो। किन मा पनि किन खोज्न सक्नुपर्‍यो। किन मा पनि किन खोज्न सक्यौँ भने हाम्रा जति पनि सामाजिक स्तरका अभियान छन् ती अन्ततः सुरक्षित नै रहने छन्। तर किन खोज्न सकेनौँ भने स्वार्थ हावी हुन्छ र अहंकार विकराल बन्छ। अनि त्यसपछि गन्तव्यमा पुग्ने कुरा त परै जावस, हामी सबै नष्ट हुन्छौँ।

यसै गरी राष्ट्रिय स्तरमा भन्नु पर्दा म मूलतः आशावादी छु। यो गोरक्ष राष्ट्र नेपाल हो। आदिनाथ, पशुपतिनाथको देश हो। मछिन्द्रनाथ, भैरवनाथ आदि देवताहरूले रक्षा गरेको देश हो। अनेकौं देवी शक्तिले अहोरात्र अभिरक्षित देश हो। जसरी अंग्रेजहरूको पालामा दैवी शक्ति र गोर्खाली खुकुरी शक्ति एक हुँदा अंग्रेजहरूले समेत घुँडा टेकेका थिए, ठिक त्यसै गरी विष्वको जुनसुकै कुनाबाट जे जस्तो सुकै आसुरी शक्तिको नेपालमा प्रवेश भएता पनि त्यसले नेपाललाई ध्वस्त पार्न सक्दैन। केही घाऊ बन्लान्। केही टुक्रा बन्लान्। केही कतै अङ्ग-भङ्ग पनि होलान् तर नेपाल चन्द्र-सूर्य अंकित झण्डा बोकेर हिंड्ने त्रिकोणाकार शक्तिमा अडेको देश हो, यो अडिराख्छ। बाँचिराख्छ चन्द्र-सूर्य रहुन्जेल। यहाँको माटोले, यहाँको पानीले यहाँको हिमालले, पहाडले, गुफाले, कन्दराले, ताल-तलैयाले, शक्तिपिठहरूले, मठ, मन्दिर, गुम्बा, चैत्य, धूनी, अखाडा, आश्रम, विहार लगाएत यहाँका हिमकन्दराहरूमा लुकेर सयौँ हजारौँ वर्ष देखि तपस्या गरिरहेका ऋषिहरूले, रिम्पोछेहरूले, सिद्धहरूले, बुद्धहरूले नै नेपाल बचाउने छन्। नेपाल सदा नेपालकै दैवी गरिमा लिएर अखण्ड हिन्दु राष्ट्र विश्वगुरु नेपालका रुपमा सारा दुनियाँलाई आफ्नो शान्तिको सन्देश, प्रेमको सन्देश र सद्भावको सन्देश दिराख्ने छ।

ॐ तत्सत्। जय शिवगोरख!!!

(गुरु डा. चिन्तामणिनाथ योगी हिन्दू विद्यापीठ नेपाल, शान्ति सेवा आश्रमका प्रमुख र विश्व ॐकार एकता महाभियानका अभियन्ता हुन्।)

प्रकाशित मिति : ८ पुष २०८०, आईतवार ०६:१६   :  बजे

339
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।