Logo

अर्थ

मिटरब्याजीले पीडित कुटेपछि रातभर धर्ना, आरोपी हिरासतमा



धनुषा । मिटरब्याजीले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहा अगाडि पीडितहरु रातभर धर्ना बसेका छन् ।

मिटरब्याजी श्याम निरौलाले बुधवार अदालतमै पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेको भन्दै पीडितहरु रातभर धर्ना बसेका हुन् ।

धर्नामा मिटरब्याज विरुद्धको संघर्ष समितिका केन्द्रीय संयोजक मनोज पासवान पनि धर्नामा थिए । निरौलालाई कारबाहीको माग गर्दै दिएको जाहेरी दर्ता गर्न प्रहरीले नमानेपछि रातभर धर्ना बसेको संयोजक पासवानले जानकारी दिए । बिहीबार बिहान ७ बजे प्रहरीले मिटरब्याजी निरौला विरुद्ध जाहेरी लिएपछि धर्ना स्थगित गरेको उनले बताए ।

निरौलामाथि पीडित ककुलतीदेवी यादवले दिएको ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ शीर्षकमा जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिएको छ ।

सिरहाका प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बु भने पीडितलाई कुटपिट गर्ने निरौलालाई नियन्त्रणमा लिएर जाहेरी दर्ता गर्न आफूहरु तयार रहेकै अवस्थामा पीडितहरु विनाऔचित्य रातभर धर्ना बसेको बताए । ‘अहिले अफिस खुलेपछि १० बजे जाहेरी दर्ता गरेका हौं । अब अदालत लगेर निरौलाको म्याद थप गराउँछौंं,’ एसपी लिम्बुले भने ।

निरौला विष्णुपुर गाउँपालिका १ का बासिन्दा हुन् । निरौला विरुद्ध जिल्ला प्रशासन कार्यालयमा ३२ वटा मिटरब्याज विरुद्ध उजुरी परेको छ । मिटरब्याजकै कसुरमा उनी केही समय पहिले ३५ दिन थुनामा बसेर छुटेका थिए । छुटेपछि पीडितहरुलाई धम्काउने, अभद्र गालीगलौज गर्ने जस्ता क्रियाकलाप गरिरहेको संयोजक पासवानले बताए ।

प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार ११:४३   :  बजे

249
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।