काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले मन्त्री क्वाटर पुल्चोक अगाडि प्रदर्शन गरेकाे छ। शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाको विरोध गर्दै नेविसंघले कालो झण्डासहित मन्त्री क्वाटर अगाडी प्रदर्शन गरेकाे हाे।
आज बिहान मन्त्री क्वाटर पुल्चोकमै पुगेका नेपाल विद्यार्थी संघका नेताहरूले शान्ति सुव्यवस्था कायम गर्न नसकेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेका थिए।
उनीहरूले ‘जनताको छोरामाथि गोली हान्न बन्द गर’, ‘शान्ति सुव्यवस्था कायम गर’, ‘गृहमन्त्री राजीनामा दे’ भन्दै नाराबाजी गरेर करिब आधा घण्टा पुल्चोकको सडक पनि चक्काजाम गरेका थिए।
प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरू डा. नरेश भट्ट, विजय महतो, अनुराग शाह, थुमराज उपाध्याय, राजेश काफ्ले, नेपाल विद्यार्थी संघ, ललितपुर जिल्ला सभापति सरोज घोरासैनि, काठमाडौं जिल्ला सभापति अन्सुल केसी, केन्द्रीय क्याम्पस त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका इकाई अध्यक्ष विष्णु बडैला, पाटन क्याम्पस इकाईका उपाध्यक्ष घनश्याम न्यौपाने, सुभाष पोख्रेल, रमेस खनाललगायत नेपाल विद्यार्थी संघका चार दर्जन नेताकार्यकर्ताहरू प्रदर्शनमा सहभागी भएका थिए।
बिहीवार ललितपुरको बालकुमारीमा इपिएस परीक्षा दिन पाउनुपर्ने मागसहित केही विद्यार्थीहरूले आन्दोलन गरेका थिए। आन्दोलनका क्रममा दुई जना युवाको ज्यान गएको थियो।




















प्रतिक्रिया