काठमाडौं– प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग झोँक्किएका छन्। दुई जनाको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको घटनामा सरकार जिम्मेवार रहेको भन्दै देउवा झोँक्किएका हुन्।
सरकारले केही प्रहरी अधिकारी निलम्बन गर्न खोज्दा देउवाले प्रहरीको मनोबल खस्कने भन्दै प्रहरीलाई कारबाही गर्न नहुने बताएका थिए। त्यसपछि प्रधानमन्त्री प्रचण्डसँग चर्काचर्की परेको थियो।
प्रधानमन्त्रीले बालकुमारीमा गम्भीर सुरक्षा लापरवाही भएको र त्यहाँको कमाण्डको जिम्मेवारीमा खटिएका प्रहरी नायब उपरीक्षक उमेश लम्सालसहितका प्रहरी अधिकारीलाई कारवाही गरिने भनेपछि देउवाले त्यसप्रति असन्तुष्टि जनाएका थिए।
देउवाले प्रहरीलाई कारवाही गर्न नहुने भनेपछि प्रचण्डसमेत आक्रोसित बनेका थिए। उनले सरकारको काममा देउवाले पटक–पटक हस्तक्षेप गरेको आरोपसमेत लगाएका थिए। सरकारका काममा पटक-पटक हस्तक्षेप गरेको र त्यसरी हस्तक्षेप गर्ने भए देउवालाई आफैँ सरकार चलाउन प्रचण्डले चेतावनी दिएका थिए।
त्यसपछि विवाद थप चर्किएको कांग्रेस स्रोतले बताएको छ। बैठकमा असहज परिस्थिति बनेपछि सहभागी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र कांग्रेस नेता रमेश लेखकले देउवालाई अर्को कोठामा लगेका सम्झाइबुझाइ गरेका थिए।
त्यसपछि बैठक कोठामा प्रवेश गरेका देउवाले सरकारी निर्णय मान्ने र दबाब नदिने बताएका थिए। त्यसको केही बेरमा उनी बालुवाटारबाट बाहिरिएका थिए।
पछिल्लो समय मन्त्रिमण्डल हेरफेरमा पनि प्रचण्ड र देउवाबीच मनमुटाव देखिएको छ। सरकारले थालेको कारवाही, प्रहरी सरुवा, बढुवा, राजदूत नियुक्ति आदिमा देउवा हावी हुँदै जाँदा प्रधानमन्त्री दाहाल असन्तुष्ट बन्दै गएका छन्।




















प्रतिक्रिया