काठमाडौं- मन्त्रिपरिषद्को बैठकमा हुँदै आएको खाजा खर्च कटौती भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा खाजा खर्च कटौती गरिएको जानकारी दिएका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले सोमबारदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको हो। बैठकमा प्रधानमन्त्री प्रचण्डले ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी दिए।
प्रत्येक मन्त्रिपरिषद् बैठकमा खाजाबापत करिब ६० हजार रुपियाँ खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। त्यस अनुसार वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद्का बैठकमा हुने करिब ६० लाख रुपियाँ खर्च कम हुने भएको छ। नयाँ व्यवस्था अनुसार बैठकमा सामान्य खाजा खुवाउन सुरु गरिएको छ।
सुशासन र सुधारमा ससाना विषय पनि महत्वपूर्ण मानिने भएकाले प्रधानमन्त्री प्रचण्डले आफ्नै कार्यालयबाट सुधारको थालनी गर्नुपर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सरकारको कार्यशैली बदल्ने घोषणा गरेका प्रधानमन्त्री दाहाल सार्वजनिक बिदाका दिनबाहेक दैनिक १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्ने गरेका छन्। प्रधानमन्त्री सिंहदरबारबाट दैनिक विभिन्न मन्त्रालयको जानकारी लिने तथा राष्ट्रिय गौरवलगायत आयोजनामा देखिएका समस्या समाधानका लागि पहल गर्दै आएका छन्।




















प्रतिक्रिया