काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदबीच द्विपक्षीय भेटवार्ता भएको छ । नेपाल–भारत संयुक्त आयोगको बैठक सुरु हुनुअघि उनीहरूबीच होटल याक एण्ड यतीमा भेटवार्ता भएको हो ।
दुई जना मन्त्रीको बीचमा नेपाल र भारतको सम्बन्धलाई अझै उचाइमा कसरी पुर्याउने लगायतका विषयमा छलफल हुनुको साथै ऊर्जा तथा जलस्रोत, व्यापार तथा परिवहन, शिक्षा, संस्कृति र विभिन्न समसामायिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । मन्त्री जयशंकरसँग दुई देशको बीचमा कुराकानी गर्दा खुसी लागेको मन्त्री साउदले बताए ।
बैठकपछि आफ्नो सामाजिक सञ्जाल एक्समा छलफल भएको विषयलाई उल्लेख गर्दै मन्त्री साउदले आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा परिवहन, ऊर्जा र जलस्रोत तथा राजनीतिक लगायतका विषय विषयवस्तुमा कुराकानी भएको बताएका छन् ।
उनले आफूहरू बीचको भेटघाट पछि सातै सातौँ नेपाल–भारत संयुक्त आयोगको बैठक बसेको र त्यसमा पनि ऊर्जा, जलस्रोत, कनेक्टिभिटी, व्यापारलगायतको विषयमा छलफल भएको बताए ।
भारतीय विदेशमन्त्री जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बिहीबार बिहान काठमाडौं आएका हुन् ।
उनले काठमाडौं आएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका थिए । उनले बिहीबार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।




















प्रतिक्रिया