Logo

अर्थ

सिबिफिनका अध्यक्ष पवन गोल्यानद्वारा राजीनामा, नयाँ अध्यक्षमा पौडेल



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालका अध्यक्ष पवनकुमार गोल्यानले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा सिबिफिन कार्यसमितिको १५औँ बैठकले स्वीकृत गरिसकेको छ ।

एनएमबि बैंकको आसन्न साधारण सभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुन गइरहेको पूर्वजानकारीसहित उनले संस्थाको विधानको भावना र मर्मलाई आत्मसाथ गर्दै पदीय आचरण र नैतिकताका आधारमा अध्यक्ष पदबाट राजीनामा दिएको बताइएको छ ।

निवर्तमान अध्यक्ष गोल्यानकै विशेष अगुवाईमा वि.सं २०७६ सालमा सिबिफिन स्थापना भएको थियो । नेपालको बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अवधिदेखि निरन्तर क्रियाशील हुँदै आएका गोल्यानको नेपालको बैंकिङ क्षेत्रको विकास एवं विस्तारमा अतुलनीय योगदान रहेको सिबिफिनले जनाएको छ ।

यसैबीच रिक्त हुन आएको अध्यक्ष पदमा नबिल बैंकका अध्यक्ष तथा सिबिफिनको कार्यसमिति सदस्य उपेन्द्र पौडेल चयन भएका छन् ।

पौडेल विगत तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील छन् । सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पौडेलले एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गरेका थिए ।

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिए पश्चात उनी नबिल बैंकको सञ्चालक हुँदै हाल अध्यक्षको जिम्मेवारीमा रहेका हुन् ।

प्रकाशित मिति : २७ पुष २०८०, शुक्रबार ११:२८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।